मन्त्री टुंगियो, मन्त्रालय छैन

मन्त्री टुंगियो, मन्त्रालय छैन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २९ असार ।

मन्त्रीको सूची तयार भए पनि सत्तारुढ नेपाली कांग्रेससँग मन्त्रालय टुंगिन नसक्दा नेकपा माओवादी केन्द्रका सम्भावित मन्त्रीहरू निरन्तर अलमलमा छन् ।

कांग्रेस र माओवादीबीच सहमति भएको एक महिनाभन्दा बढी समय भइसक्दा पनि मन्त्रालय र मन्त्रालयको संख्या दुवै टुंगिन नसकी मन्त्रिमण्डल विस्तारमा अलमल भएपछि मन्त्री पदका लागि नाम टुंगिएकाले समेत जिम्मेवारी पाउन सकेका छैनन ।

माओवादी केन्द्रले पाउने भनिएको ऊर्जा मन्त्रालयमा महेन्द्रबहादुर शाहीको नाम भने देउवा सरकार गठन गर्नुअघि नै टुंगिएको थियो । शाहीलाई मन्त्री बनाउने सर्तमा बुढीगण्डकी परियोजनामा चीनियाँ कम्पनी गेजुवालाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले बिनाप्रतिस्पर्धा निर्माणका लागि अनुमति दिएको थियो ।

उक्त कम्पनीलाई आर्थिक चलखेलका कारण अनुमति दिइएको भन्दै बाबुराम भट्टराईले समेत त्यसको खारेजीका लागि निरन्तर दबाब दिँदै आएका छन् । तर, दाहाल सरकारकै पालामा नाम टुंगिएका शाहीले पनि मन्त्रीको सपथ खान पाएका छैनन् ।

कांग्रेस र माओवादीबीच पटक–पटक मन्त्रालय र मन्त्रालयको संख्या टुंगिन नसक्दा सूचीमा अटाएका अन्य माओवादी नेताले पनि सपथ लिन सकेका छैनन् । पार्टी अध्यक्ष दाहालको सूचीमा अटाएका माओवादी सांसदहरू प्रत्यक्षतर्फलाई बढी प्राथमिकता दिइएको छ । यसअनुसार प्रमुख सचेतक टेकबहादुर बस्नेत, सन्तकुमार चौधरी, शिवकुमार मण्डल, अशोक जयसवाल, सीता नेपालीलगायतका नामको सूची तयार भएको छ ।

कांग्रेससँग मन्त्रालय टुंगिन नसक्दा कुन–कुन मन्त्रालयको जिम्मेवारी लिने निक्र्यौल नभए पनि सम्भावित मन्त्रीहरूले काठमाडौं भने छाडेका छैनन् । गत जेठ २३ गते प्रधानमन्त्री निर्वाचित भएका शेरबहादुर देउवाले यसअघि माओवादीका तीन मन्त्रीलाई भने जिम्मेवारी तोेकेका छन् ।

उप–प्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराको नेतृत्वमा माओवादी देउवा सरकारमा सामेल भएको छ, जसअनुसार गृहमन्त्री जनार्दन शर्मा र सहरी विकास मन्त्रीमा प्रभु साहले सपथ लिएर काम सुरु गरिसकेका छन् । तर, अन्यको भने अझै टुंगो लाग्न सकेको छैन ।

गजुरेल असन्तुष्ट
देउवा सरकारमा आफ्नो नेतृत्वमा पार्टी जानुपर्ने अडान राख्दै आएका हरिबोल गजुरेलले महराको नेतृत्वमा पार्टीलाई देउवा सरकारमा पठाएको भन्दै असन्तुष्टि जाहेर गरेका छन् ।

६–६ पटकभन्दा बढी महरालाई पार्टीको नेतृत्व गर्न दिएर अन्यलाई पाखा लगाउन खोजिएको भन्दै गजुरेल पार्टी आप्mनो नेतृत्वमा सरकारमा जानुपर्ने अडानसहित दलभित्र लडेका थिए । तर, भारतलाई समेत मिलाएर ओली सरकार ढाली अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउन सफल भएका महरालाई नै अन्तिममा रोजिएपछि गजुरेल असन्तुष्ट बनेका हुन ।

आफ्नो गृह जिल्ला सिन्धुलीमा ३–३ सिट जिताउन सफल भएको भन्दै गजुरेलले उक्त दावी प्रस्तुत गरेका थिए । गजुरेलको दावीमा शक्ति बस्नेत, अग्नि सापकोटाहरूले समर्थन जनाएका थिए तर महराका सामु कसैको केही लागेन ।

Logo