यसकारण राजपामा विवाद

यसकारण राजपामा विवाद

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २७ असार ।

तराई मधेस केन्द्रित ६ वटा पार्टी मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी एकीकरण भएको दुई महिना लागिसक्दा पनि अझै केन्द्रीय समितिको संख्या भने एकिन गर्न सकेको छैन ।

यही कारणले गर्दा निर्वाचन आयोगमा बुझाउनुपर्ने केन्द्रीय समितिको नामावली बुझाउन नसक्दा पार्टी दर्ता प्रक्रिया अन्योलमा पर्न गएको छ । पार्टीको नाम, घोषणा–पत्र, पार्टी विद्यान र चुनाव चिन्हको बारेमा आयोगलाई जानकारी गराए पनि केन्द्रीय समिति सदस्यको विवरण बुझाएको थिएन ।

राजपा नेताका अनुसार महेन्द्रप्रसाद यादवले नेतृत्व गरेको तत्कालीन तराई मधेस सद्भावना पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिकले अझै पनि केन्द्रीय समितिको विवरण बुझाएका छैनन् । गत वैशाख ७ गते एकीकरणमा सामेल भएका ६ पार्टीमध्ये ३ वटा पार्टीले केन्द्रीय समिति सदस्यको विवरण बुझाउन नसक्दा निर्वाचन आयोगमा नामावली पठाउन नसकिएको हो ।

उता, नामावली बुझाउने महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीले बुझाएको नामावलीमा पनि विवाद बढेको छ । आवश्यकभन्दा बढी केन्द्रीय सदस्य संख्या थप गरेर नामावली पेस गरेको भन्दै केन्द्रीय सदस्यको विषयमा राजपामा विवाद बढेको हो ।

मुख्यतः ठाकुर नेतृत्वको तमलोपाबाट करिब १ सय ५० भन्दा बढी सदस्य थप गरेर एकीकृत पार्टीमा पेस गरिएको छ । गत वर्ष साउनमा रामग्राममा सम्पन्न महाधिवेशनले ७५ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको थियो । सो विषयलाई विधानमा नै स्पष्ट गरेर महाधिवेशन सम्पन्न भएको थियो । तर, अहिले पार्टी एकीकरण भएपछि तमलोपामा २ सय ९ सदस्यीय केन्द्रीय समिति रहेको भन्दै विवरण बुझाइएको छ ।

महाधिवेशनले पास गरेको विधानअनुसारको केन्द्रीय सदस्यको नामावली पत्रकारहरूलाई पनि पठाइएको थियो तर एकीकरण भएपछि भने २ सय ९ पुर्याई संख्या दिएपछि अन्य दलका नेता छक्क परेका थिए । तमलोपाले अझै, केन्द्रीय समिति सदस्य समेत रहेकालाई रातारात महामन्त्री, सह–महामन्त्री, सह–प्रवक्ताजस्ता पदमा बढुवा गरेर एकीकृत पार्टीमा विवरण बुझाएको छ ।

तमलोपाले संख्या बढाउँदै गएपछि सद्भावनाले पनि ९५ सदस्यीय केन्द्रीय समितिको संख्या बढाएर १ सय ३७ पुर्याएर विवरण पेस गरेको छ । राजकुमार लेखीसँग पार्टी एकीकरण गरेपछि संख्या बढ्न गएको सद्भावनावालाको तर्क छ । तर, रामसपाले भने दर्जन संख्या मात्रै बढाएर विवरण पेस गरेको छ ।
यसरी, एकीकरण भएपछि संख्या धेरै देखाएर विवरण पेस गर्नुमा विधानको व्यवस्था कारण रहेको छ । विधानअनुसार पहिला जुन जुन पदमा आसीन थिए, कम्तीमा सोही पदमा आसीन हुन पाउने व्यवस्था गरिएपछि संख्या बढाउने र बढुवा गर्ने प्रतिस्पर्धा भएको हो ।

उता, संख्या बुझाउन नसकेका राजकिशोरसँग भने केन्द्रीय सदस्य नै छैनन् । एकीकरण अघि नै उनको पार्टीका ११ जना पदाधिकारीमध्ये ९ जनाले सामूहिक राजिनामा दिएका थिए जसअनुसार उनको पार्टीमा यादव स्वयम् र उनकी सांसद पत्नी सरिता यादव मात्रै बाँकी रहेका थिए । नाम मात्रका केन्द्रीय सदस्य मात्रै रहेपछि गणतान्त्रिकका यादवलाई नामावली दिन सकस छ भने तमसपाको पनि त्यही हालत छ ।

तर, अनिल झालाई भने अझै पार्टी एकीकरण भएको विश्वास छैन, उनलाई पार्टी एकीकरण गरे पनि सद्भावना र पञ्जा छापको माया भने लागिरहेको छ । यी दुई छाड्नलाई मुस्किल परिरहेका झाले केन्द्रीय समितिमा विवरण नबुझाएको बुझिन आएको छ ।

 

 

 

 

 

Logo