राष्ट्रपतिको गाडी खरिद प्रकरणमा यसरी बोले ओली

राष्ट्रपतिको गाडी खरिद प्रकरणमा यसरी बोले ओली

केन्द्रबिन्दु
0
Shares

 

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २७ असार ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले गाडी खरिद गर्न १६ करोड माग गरेको भनेर स्याल हुइँया मच्याइएको आरोप लगाउँदै सरोकार नै नभएको विषयमा राष्ट्रपतिलाई विवादमा ल्याउने काम नगर्न चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीले गाडी खरिद गर्ने कुरा राष्ट्रपतिलाई मतलब नै नभएको विषय भएको बताउँदै राष्ट्रपतिलाई गाडी उपलब्ध गराउने काम सरकारको भएको स्पष्ट पारे ।

ओलीले सत्य, निष्ठासँग कुनै सरोकार नभएका गैरजिम्मेवार तत्वहरूले राष्ट्रपतिले गाडी खरिद गर्न १६ करोड मागेको हावादारी समाचार सम्प्रेषण गरेको दावी गरे । उनले महिला राष्ट्रपति बनाएर देखाउन अन्य राजनीतिक दलहरूलाई चुनौती पनि दिए ।

काठमाडौंमा मंगलबार आयोजित ‘नेपालको महिला आन्दोलनका उपलब्धि र साहना प्रधान’ विषयक विचार गोष्ठीमा बोल्दै ओलीले एमालेले मात्रै महिला नेतृत्व स्थापित गराउन विशेष नीति लिएर अघि बढेको दावी गरे ।

महिला नेतृत्वको विकासमा नेपालले विश्वमै गर्व गर्न लायक उपलब्धि हासिल गरेको दावी गर्दै ओलीले राष्ट्रपति, प्रधानन्यायाधिश र सभामुख जस्तो नीति निर्माणको तहमा महिलालाई नेतृत्वमा पु¥याउने काम नेपालले मात्रै गरेको जिकिर गरे ।

स्थानीय तहको निर्वाचनमा पुरुषले भन्दा महिलाहरूले बढी मत ल्याउनु महिला नेतृत्वलाई जनताले विश्वास गर्नुको परिणाम भएको उल्लेख गर्दै ओलीले महिला सशक्तीकरणको क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेको विचार व्यक्त गरे ।

कार्यक्रममा स्वर्गीय साहना प्रधानले नेपालको राजनीतिक आन्दोलन र महिला सशक्तीकरणको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरिएको थियो ।

 

Logo