‘म्यादी’को तलब प्रहरी स्मारक गुठीलाई सहयोग

‘म्यादी’को तलब प्रहरी स्मारक गुठीलाई सहयोग

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २६ असार ।

दोस्रो चरणसम्मको स्थानीय तहको निर्वाच्न सकिँदासम्म दुईजना प्रहरी चर्चामा आए । एक त रोल्पामा फिल्मी शैलीको बहादुरी देखाउने हवल्दार दुर्गाबहादुर राना । र, अर्का एक हुन् म्यादी प्रहरी जवान पुजन बराल ।

रानाले चुनाव बिथोल्ने गरी मतदानस्थलतिर लक्षित गरी फ्याँकिएको बम भुईंमा खस्न नपाउँदै क्रिकेट बलझैँ समातेर निर्जन स्थानतिर हुत्याए । बम कसैलाई हानि गर्न नसकी अलि टाढा विस्फोट भयो, कसैलाई केही हुन पाएन । चुनाव पनि बिथोलिएन ।

रानाको चर्चा एउटा लिगेसी बनेर निरन्तर रहने भए पनि हाललाई ओझेलमा छ ।

अहिले चर्चा पुजन बरालको छ । स्थानीय तहको चुनावमा म्यादी प्रहरीमा कार्यरत पुजनले आफूलाई पारिश्रमिकका रूपमा प्राप्त रकम ५० हजार रुपैयाँ नेपाल प्रहरी स्मारक गुठीलाई प्रदान गरेका छन् । रकम हस्तान्तरण कार्यक्रम सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित सोमबार एक समारोहमा सम्पन्न भएको हो ।

 

 

कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले ‘आफूले दुःखका साथ आर्जन गरेको तलब बापतको रकम नेपाल प्रहरी स्मारक गुठीलाई खुसीसाथ हस्तान्तरण गरी पुजनले विशाल हृदयको परिचय दिएको’ चर्चा गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै पुजनले ‘म्यादी प्रहरीको रूपमा समाजसेवा गर्ने अवसर प्रदान गरेकोमा नेपाल प्रहरीलाई धन्यवाद ज्ञापन’ गरे । उनले ‘त्यसवापत पहिलो आम्दानीका रूपमा प्राप्त गरेको रकम नेपाल प्रहरी स्मारक गुठीलाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको’ जिकिर गरे ।

कार्यक्रममा नेपाल प्रहरी स्मारक गुठीका निमित्त अध्यक्ष प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायका साथै गुठीको कार्यकारिणी समितिका पदाधिकारीहरू एवम् अन्य प्रहरी अधिकृतहरू उपस्थित थिए ।

अहिलेका म्यादी प्रहरी पुजन बराल पूर्व प्रहरी महानिरीक्षक खड्गजीत बरालका नाति हुन् ।

 

Logo