ब्रह्मलीन स्वामी डा. रामानन्द गिरीको आज देवघाटमा जलसमाधि गरिने

ब्रह्मलीन स्वामी डा. रामानन्द गिरीको आज देवघाटमा जलसमाधि गरिने

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । चितवन, २५ असार ।

पवित्र तीर्थस्थल देवघाटस्थित महेश सन्न्यास आश्रमका संस्थापक पीठाधीश श्री १००८ स्वामी डा. रामानन्द गिरीको पार्थिव शरीर आज बिहान देवघाट ल्याइएको छ । 
लामो समयदेखि निमोनिया र दमका कारण बिरामी पर्नुभएका उहाँको शनिबार ७२ वर्षका उमेरमा निधन भएको थियो । सन्न्यासी परम्परानुसार देवघाटको बेनीमा जलसमाधि गरेर उहाँको अन्तिम दाहासंस्कार गरिने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टङ्कनाथ पौडेलले बताउनुभयो । 

यही असार १४ गतेदेखि स्वास्थ्यमा खराबी देखिएपछि उहाँको काठमाडौँस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेकामा काठमाडौं पशुपति देवपत्तनस्थित शङ्कराचार्य मठमा ब्रह्मलीन हुनुभएको हो। 

२००३ सालमा धादिङको केबलपुरमा जन्मिनुभएका स्वामी डा. गिरीले २०४१ सालमा जनक दर्शनमा पीएचडी गर्नुभएको थियो। ०४७ सालमा १००८ स्वामी महामण्डलेश्वर महेषानन्द गिरीजी महाराजबाट संन्यास लिनुभएका उहाँले ०५० सालमा एकल प्रयासबाट देवघाटमा महेश संस्कृत गुरुकुल विद्यापीठ स्थापना गर्नुभएको थियो।

आजको अन्नपूर्ण पोस्टमा दैनिकमा समाचार छ– आफ्नो जीवन नै संस्कृत र संस्कृतिका लागि समर्पण गर्नुभएका डा. गिरीले देवघाटमा कक्षा ६ देखि आचार्य (एमए) तहसम्मको अध्ययन–अध्यापन हुने विशाल गुरुकुल स्थापना गर्नुभएको हो। उहाँले सञ्चालन गरेका गुरुकूल देवघाटका अतिरिक्त पोखरा, काठमाडौं, बनेपा, झापालगायत स्थानमा सञ्चालनमा छन्।

वैदिक वाङ्मय एवं संस्कृतिका विशेषज्ञ स्वामी डा. गिरीले नेपाल मात्र नभई अमेरिकालगायत विभिन्न मुलुकमा समेत धार्मिक, आध्यात्मिक प्रवचन दिनुभएको थियो। संस्कृति र धर्म भनेपछि हुरुक्कै हुने स्वामी डा. गिरी शांकर वेदान्तमा विशेष प्रवचन दिनुहुन्थ्यो। उहाँले आफ्नो जीवन नै शिक्षा र हिन्दु धर्म संस्कृतिका लागि समर्पित हुँदै आएको थियो। उहाँका २० वटाभन्दा बढी पुस्तक प्रकाशित छन्। त्यसमध्ये आठ खण्ड र पाँच हजार पानामा विभाजित श्रीमद् भागवत महापुराण (नेपाली भावानुवाद) सबैभन्दा महत्वपूर्ण छ।

उहाँको समाधिले नेपालको धर्म र संस्कृतिको क्षेत्रमा अपुरणीय क्षति पुगेको छ।

Logo