तिनाहुँ र पूर्वखोला गाउँपालिकामा एमाले विजयी

तिनाहुँ र पूर्वखोला गाउँपालिकामा एमाले विजयी

केन्द्रबिन्दु
0
Shares

(सुशीला रेग्मी)

रामपुर (पाल्पा), १७ असार । तिनाहुँ गाउँपालिका र पूर्वखोला गाउँपालिकाका अध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ ।

तिनाहुँ अध्यक्षमा एमालेका यमबहादुर घर्ती दुई हजार आठ सय १९ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका महेन्द्र पाण्डेयले दुई हजार सात सय सात मत ल्याउनुभएको छ ।

गाउँपालिकाका उपाध्यक्षमा एमालेका दमन्ती थापा विजयी हुनुभएको छ । उहाँले दुई हजार आठ सय ७५ मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका मन कार्कीले दुई हजार छ सय ८६ मत पाउनुभएको छ ।

त्यस्तै पूर्वखोला अध्यक्षमा एमालेका नुनबहादुर थापा आठ हजार आठ सय ३६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका झमनराज मगरले एक हजार ३२ मत ल्याउनुभएको छ ।

गाउँपालिका उपाध्यक्षमा एमालेका भागीरथी भट्टराई पाँच हजार चार सय मत ल्याई विजयी हासिल गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका पुष्पा गाहाले एक हजार एक सय ४३ मत पाउनुभएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा अन्य स्थानीय तहको मतगणना जारी छ ।

रामपुर–२ मा काँग्रेस, ९ मा एमाले
रामपुर नगरपालिका वडा नं २ मा काँग्रेस र ९ मा एमालेको पूरै समूह विजयी भएका छन् । वडा नं २ मा काँग्रेसका ताराबहादुर थापासहितको समूह विजयी भएको छ । थापाले पाँच सय ६८ र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का पदमबहादुर कुमालले तीन सय २७ मत ल्याउनुभएको छ ।

त्यसै गरी वडा नं ९ मा एमालेका इच्छाराम सिञ्जालीसहितको समूह निर्वाचित भएको छ । सिञ्जालीले छ सय ६७ उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका ज्ञानबहादुर गाहाले पाँच सय ७१ मत पाउनुभएको छ । वडा नं १ र १० को शुक्रबार नै मत परिणाम सार्वजनिक भइसकेको छ भने अहिले वडा नं ३ र ८ को मतगणना भइरहेको छ ।
निस्दीमा एमाले
निस्दी गाउँपालिकामा एमालेका मुक्तबहादुर सारु विजयी हुनुभएको छ । उहाँले पाँच हजार तीन सय २० र उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शालिकराम पाण्डेयले दुई हजार दुई सय ५३ मत ल्याउनुभएको छ ।

यस्तै गाउँपालिका उपाध्यक्षमा एमालेकै रीता अर्याल निर्वाचित हुनुभएको छ । अर्यालले पाँच हजार दुई सय ५६ र उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बलु गैरेले दुई हजार एक सय ८५ मत पाउनुभएको छ ।

निस्दी गाउँपालिकाका सात वटा वडामध्ये १ र ७ मा काँग्रेसको समूह तथा २, ३, ४, ५ र ६ मा एमालेको समूह विजयी भएको निर्वाचन अधिकृत कार्यालयका प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

वडा नं १ मा काँग्रेसका पूर्णबहादुर खाँण, २ मा एमालेका पूर्णबहादुर बाकाबल, ३ मा लक्ष्मीप्रसाद पाटा मगर, ४ मा नीरबहादुर सुनारी, ५ मा भीमबहादुर सुनारी, ६ मा मेखबहादुर सुनारी तथा ७ मा काँग्रेसका गगनसिं सोती निर्वाचित हुनुभएको छ ।

Logo