पोखरा पनि साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बन्ने

पोखरा पनि साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बन्ने

केन्द्रबिन्दु
0
Shares

पोखरा, १६ असार । पोखरा लेखनाथ महानगरपालिकालाई आगामी साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने भएको छ ।

राजधानीसमेत रहेको काठमाडौं उपत्यकालाई पहिलेदेखि (वैशाख १, २०७४ देखि) नै हर्न निषेधित क्षेत्र घोषणा गरिसकिएको छ ।

महानगर कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख मानबहादुर जिसीले यस नगरपालिकालाई ध्वनी प्रदूषणबाट मुक्त गर्ने योजनाअनुरुप हर्न निषेधित क्षेत्र बनाउन लागिएको जानकारी दिनुभयो ।

ट्राफिक कार्यालयले निर्धारण गरेको स्थानलाई समेटेर हर्न निषेधित योजना तयार पारिएको जानकारी दिँदै उहाँले यसको सफताका लागि सबै पक्षको सहयोग अपरिहार्य भएको बताउनुभयो ।

“महानगरलाई कुरुप बनाउने सडकमा रहेका विद्युत्, टेलिफोन र विभिन्न केबुलका पोल र तारलाई क्रमिकरुपमा व्यवस्थित गरिने छ, उहाँले भन्नुभयो, “पहिलोचरणमा पोखराको मुख्य बजार महेन्द्रपुल, पृथ्वीचोक र लेकसाइडबाट काम थाल्ने सोच बनाएका छौं ।”

उहाँका अनुसार राजमार्गबाहेक महानगरभित्र रहेको २७ किलोमिटर पक्की सडक यही असार महिनाभित्र मर्मत गरिने छ भने सहरका विभिन्न चोकमा रहेका आइल्यान्डलाई निकट भविष्यमा पाँच फिटको बनाएर सडकलाई फराकिलो बनाइने योजना छ ।

सहरमा पशुचौपाया छाडा छोड्ने प्रवृत्तिले समस्या आएकाले यसको तत्काल नियन्त्रणका लागि पहल गरिने उहाँले बताउनुभयो ।

स्थानीय निकायलाई दिएको अधिकार भित्र रहेर भौतिक संरचना तयार पार्ने र महानगरलाई स्मार्ट सिटी घोषणा गर्ने चर्चा गँर्दै उहाँले यसका लागि सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

श्रमजीवी पत्रकारका हक हितका लागि पनि महानगरका तर्फबाट केही सहयोग गर्ने सोच बनाइएको पनि नगरप्रमुख जिसीको भनाइ थियो । रासस

Logo