‘एभरेस्ट इन्स्योरेन्सको सेयर मूल्य वृद्धि अस्वाभाविक’

‘एभरेस्ट इन्स्योरेन्सको सेयर मूल्य वृद्धि अस्वाभाविक’

केन्द्रबिन्दु
0
Shares

 

मूल्य आम्दानी अनुपात ७८.६० प्रतिशत 

केन्द्रबिन्दु अर्थ संवाददाता ।

काठमाडौं, १४ असार । पछिल्लो समयमा सेयर बजारमा चलखेल गर्ने लगानीकर्ताहरू बिमा कम्पनीको सेयरमा सक्रिय भएको देखिन्छ । बितेका केही साता एभरेस्ट इन्स्योरेन्सको सेयर मूल्यमा देखिएको निरन्तरको सुधारले पनि यसलाई पुष्टि गर्छ ।

एभरेस्ट इन्स्योरेन्सको सेयर मूल्य अस्वभाविक रूपमा निरन्तर उकालो लागेपछि नेपाल धितोपत्र बोर्डले अचानक त्यसको कारोबार निलम्बन गरेर अध्ययन सुरु गरेको छ । गत साता मात्र एभरेस्ट इन्स्योरेन्सको इन्साइडर कारोबारको आशंकामा नेपाल धितोपत्र बोर्डले छानविन सुरु गरेको हो ।

पछिल्ला पाँच वर्षदेखि वार्षिक साधारण सभा समेत गर्न नसकेको एभरेस्ट इन्स्योरेन्सको सेयर मूल्य २९३० रुपैयाँ पुगेको छ । यसपटक कम्पनीले आउँदो असार २३ गते गर्ने साधारण सभामा २० प्रतिशत बोनस सेयर र बोनसपछिको चुक्ता पुँजीमा १ बराबर ६ हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव गरेको छ । कम्पनीले १८औं, १९औं, २०औं, २१औं र २२औं साधारण सभा एकै पटक गर्न लागेको छ ।

सेयर बजारमा बिमा कम्पनीहरूको चार्म रहेको सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल बताउँछन् । एभरेस्ट इन्स्योरेन्सले १० गुणासम्म पुँजी बढाउनुपर्ने अवस्था रहेको हुनाले हकप्रदको अपेक्षामा माग बढेको उनको तर्क छ । तर, कम्पनीको अवस्थाअनुसार हालको मूल्य पुष्टि हुने आधार छैन । कम्पनीको मूल्यको सन्दर्भमा चलखेल भएको विषयमा नियामक निकायले हेरेको अर्यालले बताए । लगानीकर्ताले हकप्रद सेयर अपेक्षा गर्दै लगानी थप्ने गरेको उनले बताए ।

“कम्पनीले केही गर्न नसकेर सेयरधनीसँग पुँजी माग्ने हो,” अर्यालले भने, “पछिल्लो समयमा नियामक निकायको निर्देशन पूरा गर्नका लागि कम्पनीहरूले हकप्रद कल गरेको अवस्था छ ।”

गत वर्ष २०७३ वैशाखमा कम्पनीको औसत सेयर मूल्य १२६१.९४ रुपैयाँ कायम थियो । २०७२ वैशाखमा कम्पनीको औसत मूल्य ८३८.१७ रुपैयाँ थियो । २०७१ वैशाखमा कम्पनीको औसत सेयर मूल्य २११ रुपैयाँ अन्तिम मूल्य थियो । करिब तीन वर्षको अवधिमा कम्पनीको सेयर मूल्य करिब १५ गुणाले बढेर २९३० रुपैयाँ प्रति कित्ता पुगेको छ । तर कम्पनीले दिने प्रतिफलमा भने त्यस्तो आकस्मिक सुधार आएको छैन ।

पछिल्लो समयमा कम्पनीले कायम रहेका सेयरधनीलाई एक बराबर ६ कित्ता हकप्रद सेयर दिने सूचनाले अझै कम्पनीको सेयर मूल्य निरन्तर उकालो लागेको थियो ।  सेयर बजारमा एभरेस्ट इन्स्योरेन्सको सन्दर्भमा इन्साइडर कारोबार भएको हुनसक्ने आशंकामा कारोबार निलम्बित गरिएको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए । अध्ययन भैरहेको हुनाले अहिले नै यस्तो कुनै नतिजा आइनसकेकोे पनि उनको भनाइ छ ।

बिमा समितिले यही असार मसान्तसम्ममा जीवन बिमा कम्पनीले २ अर्ब र निर्जीवन बिमा कम्पनीले एक १ अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । इन्स्योरेन्स सेयरमा लगानी कम्पनीको चुक्ता पुँजी बढाउने निर्णयले बढेको बिमा कम्पनीहरूको सेयर मूल्य अझै नियन्त्रणमा आउन सकेको छैन । बिमा समितिको निर्णयभन्दा अघिदेखि बिमा कम्पनीको सेयर मूल्यमा चलखेल बढेको थियो ।

पछिल्लो समयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक हालसम्मकै उच्च १८८१ बिन्दुमा पुग्दा बिमा समूहको महत्वपूर्ण भूमिका रह्यो । एभरेस्टको सन्दर्भमा पनि १ लाख २० हजार कित्ता मात्र सर्वसाधारणलाई बिक्री गरिएको हो जसले गर्दा सर्वसाधारणमा सेयर कम भएकाले पनि बजारमा चलखेल गर्न सहज छ । कम्पनीको सेयर कर्नरिङ गरेर सेयर मूल्य बढाउने सम्भावना पनि उत्तिकै छ ।

पुँजी वृद्धिका लागि एभरेस्टले प्रस्ताव गरेको एक बराबर ६ कित्ता हकप्रद सेयर साधारण सभाले पारित गरी नियामकले स्विकृति दिएको खण्डमा मात्र कार्यान्वयन हुन्छ । एभरेस्टको वित्तीय अवस्था हेर्दा हालको चुक्ता पुँजी १० करोड १२ लाख ५० हजार रुपैयाँ रहेको छ ।

तर, कम्पनीको सञ्चित कोषमा ११ करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको विवरण अनुसार कम्पनीले २ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीका अन्य सूचकलाई हेर्दा पनि जोखिम धेरै नै देखिन्छ । कम्पनीको प्रति सेयर आम्दनी २७.८० रुपैयाँ रहेको छ । तर, कम्पनीको मूल्य आम्दानी अनुसार ७८.६० प्रतिशत रहेको छ । यो अनुपात धेरै जोखिम हो ।

मूल्य आम्दानी अनुपात ३० प्रतिशतसम्म राम्रो मानिन्छ । उच्च मूल्य आम्दानी अनुपात भएको सेयरमा लगानी गर्दा लगानी अनुसारको प्रतिफल आउँदैन । सेयर मूल्य कम्पनीको वास्तविकताभन्दा धेरै माथि रहेको स्पष्ट हुन्छ ।

कम्पनीको विगत कम्पनीले केही वर्षअघि हिमालयन स्न्याक्समा आगलागी भए पछि भुक्तानी गरेको दावीको सन्दर्भलाई लिएर विवाद आएपछि आर्थिक वर्ष २०७१/७२ मा टेक ओभर गरेको थियो । समितिले कम्पनीको केही समय व्यवस्थापन लिए पनि कम्पनी व्यवस्थापनलाई नै जिम्मेवारी सुम्पेको थियो ।

बिमा समितिका अनुसार कम्पनीको व्यवस्थापन हस्तान्तरण गरे पनि पूर्ण रूपमा समस्याहरू सुल्झिसकेको छैन । त्यसका लागि बिमा समितिले निगरानी गरिरहेको छ । कम्पनीले २०५१ साल मंसिरमा १ लाख २० हजार कित्ता सेयर सार्वजनिक निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

सर्वसाधारण सेयर बिक्री गरेको करिब २२ वर्षको अवधिमा सेयरधनीलाई दिएको प्रतिफलको अवस्था र सेयर मूल्य सम्बन्धी विवरण तलको तालिकामा देखाइएको छ ।

२०७४ जेठ १ गतेदेखि असार ५ गतेसम्मको सेयर मूल्य 

कम्पनीले हालसम्म दिएको प्रतिफल

कम्पनीले १३औं साधारण सभा गर्नुभन्दा अघि कुल ७० प्रतिशत नगद लाभांश र ५० प्रतिशत बोनस सेयर प्रतिफल स्वरूप दिएको छ ।

साधारण सभा पारित भएको प्रतिफल

१३औं      १३.५ बोनस सेयर

१४औं      छैन

१५आंै    २० नगद लाभांश

१६औं     २० प्रतिशत नगद लाभांश

१७औं     छैन

Logo