कैलाली, कन्चनपुर र डडेल्धुरामा मतगणना सुरु

कैलाली, कन्चनपुर र डडेल्धुरामा मतगणना सुरु

केन्द्रबिन्दु
0
Shares

धनगढी, १५ असार ।

कैलाली जिल्लाका दुई स्थानीय तहबाहेक सबै स्थानीय तहको निर्वाचनको मतगणना सुरु गरिएको छ ।

जिल्लाको पहाडी क्षेत्रको चुरे गाउँपालिका र मोहन्याल गाउँपालिका बाहेक छ तहमा गए रातिदेखि र पाँच तहमा आज बिहानदेखि मतगणना सुरु भएको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख मोहनप्रसाद अर्यालले बताए।

भौगोलिक विकटताका कारण मतपेटिका मतगणनास्थलसम्म पुर्याउन समय लाग्ने भएकोले चुरे गापा र मोहन्याल गापाको मतगणना आज रातिदेखि मात्रै सुरु हुनसक्ने अर्यालले बताए ।

जिल्लामा १३ स्थानीय तह रहेका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार टीकापुर नगरपालिकाको प्रमुखमा नेपाल लोकतान्त्रिक फोरम का लौटन चौधरीले १८०, नेकाका जङ्गबहादुर साउदले १०८ र नेकपा एमालेका तपेन्द्र रावलले १०१, नेकपा माओवादी केन्द्रका ललित थापाले ६६ मत पाएको निर्वाचन अधिकृत मनप्रसाद रेग्मीले बताए।

यसैगरी, उपप्रमुखमा लोकतान्त्रिक फोरमकी सुदेश्नी चौधरी १७४, नेकाका केशरी रावलले १०६, एमालेकी कमला केसी ८९ र माओवादी केन्द्रकी आशा चौधरीले ७१ मत प्राप्त गरेको निर्वाचन अधिकृत रेग्मीले जानकारी गराए । वडा नं ३, ५ र ६ को मतगणना भइरहेकोमा अहिलेसम्म ५०० मत गणना भएको छ ।

टीकापुरमा कुल ३९ हजार १९२ मतदातामा २७ हजार २३८ मत खसेको निर्वाचन अधिकृत रेग्मीले जानकारी गराए । यस्तै, भजनी नगरपालिकाको प्रमुखमा नेपाल लोकतान्त्रिक फोरमका केवल चौधरीले २३९, नेकपा माओवादी केन्द्रका शेरबहादुर चौधरीले १६१, नेकाका वीरबहादुर हमालले ६६ मत पाएका छन् ।

निकै चासोका रुपमा हेरिएको धनगढी उपमहानगरको मतगणना पनि सुरु भएको छ ।

कञ्चनपुर : जिल्लाका तीनवटा तहमा मतगणना सुरु भएको छ । बुधबार भएको स्थानीय तहको निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने भनिएपनि आज बिहानदेखि मतगणना थालिएको छ ।

नौवटा तहमध्ये यहाँको महाकाली नगरपालिका, वेदकोट नगरपालिका र पुनर्वास नगरपालिकामा मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

एकाबिहानै मतगणना थालिएको महाकाली नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । महाकालीमा २५० मतगणना हुँदा नेकाले १०८, नेकपा एमालेले ५९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २४ मत प्राप्त गरेको छ ।

त्यसैगरी, पुनर्वास नगरपालिकामा केही मतले नेकपा एमालेले अग्रता लिएको छ । ३०० मतगणना हुँदा एमालेले ८७, नेकाले ८० र माओवादी केन्द्रले ६३ मत प्राप्त गरेको छ ।

त्यसैगरी, यहाँको वेदकोट नगरपालिकामा पनि केही बेरअघिदेखि मतगणना सुरु भएको छ भने भीमदत्तनगरपालिकासहित अन्य सबै तहको मतणगना केहीबेरमै सुरु हुने निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

डडेल्धुरा : यहाँको अजयमेरु गाउँपालिकामा ६०० मत गणना भएको छ । मतगणनाको परिणामअनुसार नेकपा माओवादी केन्द्रका उमेश भट्ट विकासले १८८ मत ल्याएर अग्रता लिएका छन् भने

एमालेका धनबहादुर साउद १३८ र स्वतन्त्रबाट उमेदवारी दिएका लोकराज भट्टको १०९ मत रहेको छ भने नेकाले ९३ मत ल्याएको जनाएका छन् ।

अजयमेरु गाउँपालिका–६ को वडाध्यक्षमा माओवादी केन्द्रकै अग्रता रहेको जनाइएको छ । रासस

Logo