दाङ- छाँगामुनिको मतदान केन्द्र। छाँगामाथिबाट एकाएक बम खस्यो। मतदाता लाम लागेकै स्थानमा खसेको उक्त बम त्यहीं विस्फोट भएको भए अवस्था के हुन्थ्यो? यसै भन्न सकिन्नथ्यो। "/>

जसले बम टिपेर मतदाता बचाए

जसले बम टिपेर मतदाता बचाए

केन्द्रबिन्दु
0
Shares

दाङ- छाँगामुनिको मतदान केन्द्र। छाँगामाथिबाट एकाएक बम खस्यो। मतदाता लाम लागेकै स्थानमा खसेको उक्त बम त्यहीं विस्फोट भएको भए अवस्था के हुन्थ्यो? यसै भन्न सकिन्नथ्यो। तर एक ‘हिम्मती’ प्रहरीले उक्त बमबाट मतदातालाई सुरक्षित पारिदिए। मतदाता जोगाउने ती हिरो हुन् प्रहरी हबल्दार दुर्गाबहादुर राना। उनले धुवाँ निस्कँदै खसेको बमलाई हातले टप्प टिपेर फ्याँकिदिएर मतदातालाई सुरक्षित पारे। उनी भन्छन्, ‘मैले विभागीय जिम्मेवारीमात्र पूरा गरेको हुँ।’ अाजकाे नागरिक दैनिकमा खबर छ । 

तुलसीपुर उपमहानगरपालिका ३ अम्बासस्थित प्रतापकोट निमावि मतदान केन्द्र। उक्त मतदान केन्द्रको सुरक्षाका लागि सईको कमान्डमा ६ जना नेपाल प्रहरी र ६ जना म्यादी गरी १२ सुरक्षाकर्मी परिचालित थिए। निर्धारित समय बिहान ७ बजेदेखि नै मतदान सुरु भयो। झन्डै अढाइ घन्टासम्म त्यहाँको मतदान शान्तिपूर्ण रह्यो। मतदान केन्द्रको पूर्वपट्टिको छाँगो झाडीले भरिएको थियो। त्यसमाथि हुस्सु ढपक्कै थियो, केही नदेखिने। साढे नौ बजेतिर त्यही छाँगामाथिबाट ‘डल्लो चिज’ मतदाता लाम लागेकै स्थानमा खस्यो। आगोसहितको सुतली बम नजिकै थिए प्रहरी हबल्दार राना, जहाँ उनले मतदाताको लाइन मिलाइरहेका थिए। उनले भने, ‘मैले दुईजना महिलालाई अगाडि तानेर लाइनमा लगाएको थिएँ। त्यही बेला आगो बलिरहेको गोलो वस्तु मेरो सय मिटरको दुरीमा आएर रोकियो, ती महिलालाई त्यहाँबाट भगाएँ।’  उनले त्यो वस्तु बम भन्ने बुझिहाले। तत्कालै हातले टिपेर मतदान केन्द्रभन्दा पर फ्याँकिदिए। ‘मैले त्यो बेला मेरो ज्यानको बारेमा केही सोचिनँ,’ उनले भने, ‘आगो बलिरहेको त्यो चिज बम भन्ने थाहा पाएर तत्कालै हातले टिपेर झन्डै २५ मिटर पर फालिदिएँ।’ उनले फालेको पाँचै सेकेन्डमा उक्त बम पड्कियो। विस्फोटबाट मानवीय तथा भौतिक क्षति केही हुन पाएन। ‘मैले त्यो डल्लोलाई अरू पाँच सेकेन्डजति नफालेको भए मतदाताकै बीचमा पड्कने थियो,’ उनले भने, ‘मेरो चलाखीले मतदातालाई केही भएन।’

प्रहरीका अनुसार भीडभाडमा सुतली बम विस्फोट खतरनाक रहन्छ।

मतदान स्थलमै आगो बल्दै खसेको बमलाई पुरानो अभ्यास प्रयोग गरेर फालेको उनी बताउँछन्। ‘म होप्लेस भएर, त्यो बमलाई समातेको हैन,’ उनले भने, ‘मैले प्रहरी सेवामा रहँदा सिकेको ज्ञानका आधारमा त्यो चिजलाई समातेर फाल्ने साहस मिलेको हो।’ उनलाई आफ्ना गुरुले तालिमका क्रममा सुतली बम तत्कालै नभई केही समयपछि मात्र पड्कने शिक्षा दिएकाले त्यसलाई समातेर फाल्ने हिम्मत जुटेको पनि बताए। ‘मलाई मेरो गुरुले तालिमका क्रममा सुतली बम तत्कालै पड्कन्न, जति सक्यो चाँडो हातले समातेर फाल्न पनि सकिन्छ भन्ने सिकाउनुभएको थियो,’ उनले भने, ‘त्यो ज्ञानले यहाँ काम गरेको हो।’ उक्त बम कसले फ्याँकेको यकिन हुन सकेको छैन।

आफ्नो ज्यानको बाजी लगाएर मतदाता जोगाएका हबल्दार रानालाई मतदाताले भव्य सम्मान गरेका छन्। उनी त्यहाँ खटिएका १२ जना सुरक्षाकर्मीलाई मतदाताले फूलमाला, अबिरले अभिनन्दन गरेका थिए। ‘त्यहाँका मतदाताले आफ्नो ज्यानको बाजी लगाएर  ज्यान जोगाइदिएको खुसीयालीमा हामीलाई फूलमाला र अबिरले अभिनन्दन गर्नुभयो,’  मतदान केन्द्रका सुरक्षाको नेतृत्व लिएका प्रहरी सई गोपाल शर्माले भने। यसैगरी त्यहाँका मतदाताले गृहमन्त्री जनार्दन शर्मालाई टेलिफोन गरी प्रहरी हबल्दार रानाको साहसका बारेमा जानकारीसमेत दिए।  गृहमन्त्रीले टेलिफोनमा रानालाई पुरस्कृत गर्ने वचन दिएका छन्। ‘त्यहींका मतदाताले गृहमन्त्रीज्यूलाई फोन गरेर जानकारी गराउनुभयो,’ सई शर्माले भने, ‘हबल्दार सापलाई पुरस्कृत गर्छु भनेर गृहमन्त्रीज्यूले वचन दिनुभएको छ।’

सल्यानको शारदा नगरपालिका १ छापडाँडाका प्रहरी हबल्दार राना हाल नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौंमा कार्यरत छन्। उनी २०५८ सालमा नेपाल प्रहरीमा जवान पदमा भर्ना भएका थिए। प्रहरी प्रधान कार्यालयबाट उनी निर्वाचन सुरक्षाका लागि सुरुमा रौतहटमा खटिएका थिए। तर त्यहाँ निर्वाचन स्थगित भयो। उनलाई रौतहटबाटै दाङ पठाइयो। ‘हामी सई सापको कमान्डमा ६८ जनाको प्रहरी जनशक्ति यहाँ खटिएका छौं,’ रानाले भने, ‘रौतहटमा खटिएका हामी त्यहाँ निर्वाचन स्थगित भएपछि दाङ खटाइएका हौं।’

Logo