मापसे कारबाहीबाट पोखरामा सत्र लाख राजस्व

मापसे कारबाहीबाट पोखरामा सत्र लाख राजस्व

केन्द्रबिन्दु
0
Shares

पोखरा, १४ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकलाई कारबाही गरी रु १७ लाख २५ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले २०७३ साउन १ गतेदेखि २०७४ जेठ मसान्तसम्ममा मापसे गरी सवारी साधन चलाउने एक हजार ७२५ जनालाई नियन्त्रणमा लिई कारबाही गरेको प्रहरी नायब निरीक्षक शिवबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार सो अवधिमा पाँचवटा ट्रक तथा ट्याङ्कर, १९ बस, १५७ कार जिप, १६ ट््याक्टर र एक हजार ५२८ वटा मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको थियो ।

मापसे गरेको सवारी चालकको सवारी चालक अनुमतिपत्रमा प्वाल पारिनुका साथै मापसे कक्षासहित रु एक हजार जरिवाना गरिन्छ । लगातार पाँच पटकसम्म मापसे गरी सवारी साधन चलाएको फेला परे चालक अनुमतिपत्र खारेजीका लागि प्रक्रिया अघि बढाइन्छ । रासस

Logo