मध्यान्हपछि भारी वर्षा हुने मौसमविद्को अनुमान, भोट चाडैं खसाल्न सुझाव

मध्यान्हपछि भारी वर्षा हुने मौसमविद्को अनुमान, भोट चाडैं खसाल्न सुझाव

केन्द्रबिन्दु
0
Shares

मौसमविद्ले १४ असारमा हुने दोस्रो चरण स्थानीय निर्वाचनका दिन मध्याह्नअघि नै मतदानस्थल पुगेर मतदान गर्न सुझाएका छन्। मध्याह्नपछि बढी वर्षा हुने सम्भावना रहेको भन्दै उनीहरूले मतदातालाई यस्तो सुझाव दिएका हुन्। यो खबर आजको राजधानी दैनिकमा छ।

निर्वाचनको दिन (बुधबार) बिहान ७ बजेअघि वर्षा भए पनि ७ बजेपछि प्रदेश–१, ५ र ७ का पहाडी र हिमाली क्षेत्रमा भारी वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तीन दिनसम्मको मौसमी पूर्वानुमान गर्ने महाशाखाले दोस्रो चरणको निर्वाचन हुने प्रदेश–१, ५ र ७ का पहाडी र हिमाली क्षेत्रमा बुधबार मध्याह्नपछि भारी वर्षा हुन सक्ने जनाएको छ। महाशाखाका अनुसार बिहान ७ बजेको समयमा प्रदेश १ का पूर्वी जिल्लाहरूमा सामान्य वर्षा हुनेछ।

प्रदेश–५ र ७ प्रदेशमा भने ७ बजेदेखि नै बादलले ढाके पनि पानी नपर्ने जनाएको छ। ‘मनसुनको समय भएकाले मुलुकमा मनसुन सक्रिय अवस्थामा नै छ,’ मौसमविद् समीर श्रेष्ठले भने, ‘बिहानको समयमा कम वर्षा भए पनि मध्याह्नपछि भने बढी वर्षा हुने सम्भावना छ।’

लगातार झरी नपरे पनि मौसम बदली भई कुनै पनि बेला पानी पर्ने मौसमविद् श्रेष्ठको अनुमान छ। उनले पहाडी जिल्लामा मतदाताहरूको आवतजावत गर्न कठिन हुने भएकाले बिहानको समयमा मतदानमा सरिक हुँदा भिज्ने सम्भावना कम रहेको बताए।

बिहानको समयमा मतदानलाई छिटोभन्दा छिटो सञ्चालन गरेको अवस्थामा पहाडी र हिमाली क्षेत्रका मतदान केन्द्रहरूमा धेरै मतदाताले मत खसाल्ने पाउनेछन्। मध्याह्नपछिको सयममा भने बढी वर्षा हुने पूर्वानुमान भएकाले पनि त्यसतर्फ सचेत भई मतदाताले पनि बिहानै मतदान केन्द्र पुग्दा राम्रो हुने मौसमविद्को सुझाव छ।

‘मध्याह्नपछि बिस्तारै मनसुनको मात्रा बढ्दै जानेछ भने ३० देखि ४० मिलिमिटरसम्म वर्षा हुने अनुमान गरिएको छ,’ मौसमविद् श्रेष्ठले भने, ‘तुलनात्मक रूपमा प्रदेश–१ मा बढी वर्षा भए पनि प्रदेश–५ र ७ मा भने कम वर्षा हुने देखिन्छ।’

Logo