निर्वाचनको दिन (१४ असारमा) मूसलधारे वर्षा : मौसमविद

निर्वाचनको दिन (१४ असारमा) मूसलधारे वर्षा : मौसमविद

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १३ असार ।

मौसम विभागको पूर्वानूमान हेर्दा चुनावको दिन बुधबार सबै क्षेत्रमा मनसुन सक्रिय हुने देखिन्छ ।

पूर्वानूमानले बुधबार मतदान हुने १, ५ र ७ प्रदेशमा नियमित भारी बर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।
तीन वटै प्रदेशका मतदाताले वर्षाको सामना गर्नुपर्ने मौसमविदको ठहर छ । यसबाट जोगिन मतदाताले छाता र बर्सादी व्यवस्था गर्नुपर्छ । यो खबर आजको नागरिक दैनिकमा  छ ।
आजको अन्नपूर्ण पोस्ट दैनिकमा पनि यो खबर छ : बुधबार दिनभरजसो वर्षा हुने भएपछि मतपत्र भिज्नेदेखि मतदातालाई आवतजावतमा समेत समस्या हुने देखिएको हो। प्रदेश नम्बर १, ५ र ७ प्रदेशभर नै बुधबार वर्षा हुने सम्भावना रहेकाले सुरक्षित रुपमा छाता, घुम, प्लास्टिक र वर्षादी बोकेर मतदान गर्न जान मौसमविदले सुझाव दिएका छन् ।

जल तथा मौसम विज्ञान विभाग एयरपोर्ट स्टेसनका मौसमविद समिर श्रेष्ठले एक नम्बर प्रदेशमा बुधबार बिहानैदेखि मनसुन बदली हुने र लगातार ५ घन्टासम्म पानी पर्ने देखिएको बताउनुभयो । पूर्वी र मध्यभागमा दिनभरजसो मनसुन सक्रिय हुने विभागको पूर्वानुमान छ ।

प्रदेश ५ र ७ मा पनि मौसम बदली हुने र सिमसिम वर्षा हुने विभागले जनायो। जेठ २९ गते नेपाल भित्रिएको मनसुन केही दिनसम्म सक्रिय हुन नसके पनि तीन दिनदेखि पश्चिम नेपालसम्म फैलिइसकेको मौसमविद श्रेष्ठले जानकारी दिए ।

चुनावको दिन पूर्वी नेपालमा बिहान र दिउँसो तथा पश्चिम नेपालमा अपराह्न र साँझ वर्षा हुने विभागले जनाएको छ। पश्चिमी क्षेत्रमा भने सिमसिम वर्षा भए पनि लामो समय नरहने विभागको अनुमान छ। समग्र वर्षा भएको हेर्दा पूर्वी नेपालका स्टेसनहरूमा बढी पानी परेको देखिएको छ।

यसैगरी आजको राजधानी दैनिकमा छापिएको समाचार यस्तो छ – मौसमविदले १४ असारमा हुने दोस्रो चरण स्थानीय निर्वाचनका दिन मध्याह्नअघि नै मतदानस्थल पुगेर मतदान गर्न सुझाएका छन् । मध्याह्नपछि बढी वर्षा हुने सम्भावना रहेको भन्दै उनीहरुले मतदातालाई यस्तो सुझाव दिएका हुन् ।

निर्वाचनका दिन (बुधबार) बिहान ७ बजेदेखि वर्ष भए पनि ७ बजेपछि प्रदेश नं. १, ५ र ७ का पहाडी र हिमाली क्षेत्रमा भारी वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तीन दिनसम्मको मौसमी पूर्वानुमान गर्ने महाशाखाले दोस्रो चरणको निर्वाचनका दिन पानी पर्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । महाशाखाका अनुसार बिहान ७ बजेको समयमा प्रदेश १ का पूर्वी जिल्लाहरुमा सामान्य वर्षा हुनेछ ।

Logo