भयरहित वातावरणमा निर्वाचन गराउन ओलीको आग्रह

भयरहित वातावरणमा निर्वाचन गराउन ओलीको आग्रह

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौँ, १२ असार ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताले भयरहित वातावरणमा आफूले चाहेको प्रतिनिधिलाई मत दिन पाउने ढुक्कको अवस्था हुनुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपालले सोमबार यहाँ आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा नेता ओलीले भने, ‘राज्यले शान्तिपूर्ण, स्वच्छ र कानुनसम्मत रूपमा निर्वाचन गराउनुपर्ने बताउँदै यसमा सरकार, राजनीतिक दल र सबै पक्षको दायित्व हो ।’

यही असार १४ गते प्रदेश नं १, ५ र ७ मा दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुँदैछ ।

“सरकारले आफ्नो साधन स्रोत प्रयोग गरेर अस्वस्थ भ्रम, भय र लोभ सिर्जना गर्न हुँदैन, त्यस्तो भएमा उचित कारबाही गर्ने काम निर्वाचन आयोगको हो,” उनले भने, “आयोगको काम मतपत्र छाप्ने र वितरण गर्ने मात्र होइन देश, दुनियाँ र जनताले अनुभूति गर्ने प्रकारको निष्पक्ष निर्वाचन गराउने पनि हो ।”

लोकतन्त्रको जग भनेकै निर्वाचन भएकाले यसलाई सम्पन्न गराउने क्रममा आयोगलाई एमालेका तर्फबाट कुनै अवाञ्छित दबाब नदिई पूर्ण रूपमा सहयोग गरिने प्रतिबद्धता उनले व्यक्त गरे ।

निर्वाचनमा खटाइएका अधिकृत, कर्मचारी र सुरक्षाकर्मी तथा पर्यवेक्षकको भूमिका आफ्नो पक्षमा होस् भन्ने चाहना सरकारमा हुँदा वा नहुँदा पनि एमालेले नराख्ने उनले स्पष्ट पारे ।

पूर्वप्रधानमन्त्री ओलीले भने, “निर्वाचनको स्वच्छतालाई दूषित गर्ने वा परिणामलाई प्रभावित गर्ने काम कसैबाट गर्नु हुँदैन । विदेशमा खटाइएका महामहिम राजदूतहरूलाई उतै रहेर देशको कूटनीतिक सम्बन्ध विस्तारको काम गर्दा हुन्छ, कार्यकर्तै हुन त किन नियुक्ति लिएर जानुपथ्र्याे र ?”

उनले दोस्रो चरणको निर्वाचनमा औपचारिक रूपमा भाग नलिए पनि राष्ट्रिय जनता पार्टी नेपालले स्वतन्त्र उम्मेदारका माध्यमबाट भाग लिएकामा सकरात्मक ठान्दै सरकारले प्रदेश नं २ मा तेस्रो चरणमा सार्ने सरकारको निर्णयको आलोचना गरे ।

उनले तेस्रो चरणको निर्वाचनअघि राष्ट्रियतामा आँच आउने संविधान संशोधनको प्रयास गरिए मान्य नहुने पनि उल्लेख गरे ।

‘निर्वाचनका क्रममा सुनसरी, रुपन्देही, बाजुरा र डडेल्धुरालगायत जिल्लामा आचारसंहिता उलङ्घन र अवाञ्छित क्रियाकलाप भएकामा’ चिन्ता व्यक्त गर्दै पहिलो चरणको निर्वाचनमा दोलखामा आफ्ना कार्यकर्ता कुलबहादुर तामाङको हत्या, कतिपय केन्द्रमा बुथ कब्जा, मतपत्र च्यात्ने जस्ता घटना नदोहोर्याउन आग्रह गरे ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले सञ्चारमाध्यमले निर्वाचनको आचारसंहिताको पालनामा उचित ध्यान दिने बताएको राससले जनाएको छ ।

Logo