पोखरा, १२ असार । पछिल्ला दिन युवा पुस्तामा अत्यन्त चर्को आवाजसहित मोटरसाइकल चलाउने बढ्दो प्रवृत्तिका कारण सहरी क्षेत्रमा ध्वनि प्रदूषण बढ्दै गएको छ । "/>

मोटरसाइकलको चर्को आवाजले सर्वसाधारण समस्यामा

मोटरसाइकलको चर्को आवाजले सर्वसाधारण समस्यामा

केन्द्रबिन्दु
0
Shares

 

पोखरा, १२ असार । पछिल्ला दिन युवा पुस्तामा अत्यन्त चर्को आवाजसहित मोटरसाइकल चलाउने बढ्दो प्रवृत्तिका कारण सहरी क्षेत्रमा ध्वनि प्रदूषण बढ्दै गएको छ ।

चर्को आवाजसहित मोटरसाइकल चलाएर त्यसलाई मनोरञ्जनका रुपमा लिने युवा सौखका कारण बजार क्षेत्रमा ध्वनि प्रदूषण त बढेको छ नै, त्यसले कमजोर मानसिक अवस्था र मुटुको समस्या भएका बिरामीलाई प्रतिकूल प्रभाव पार्ने गरेका छन् ।

चर्को आवाज निकाल्ने सवारी चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्ने गरे पनि ट्राफिकलाई छलेर बजारका कुना कुनामा मोटरसाइकल चलाउनेका कारण थप समस्या बढ्दै गएको स्थानीयवासी बताउँछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक शिवबहादुर थापाका अनुसार प्रहरीले चर्को आवाज निकालेर मोटरसाइकल चलाउनेलाई नियन्त्रणमा लिएर रु एक हजार ५०० सम्म जरिवाना गर्ने गरेको छ ।

“टोल बस्ती नै थर्किने गरी आवाज निकालेर मोटरसाइकल चलाउने, स्वरुप परिवर्तन (मोडिफाई) गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएर हामीले कारबाही गर्ने गरेका छौँ”, उनले भने, “चर्को आवाज निस्कने मोटरसाइकल कम्पनीलार्ई आवाज कम हुने किसिमका हर्न प्रयोग गर्न लेखी पठाएका पनि छौँ ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालय, पोखराको तथ्याङ्कअनुसार चालु आवको जेठ मसान्तसम्ममा जिल्लामा २२३ वटा मोटसाइकलको स्वरुप परिवर्तन (मोडिफाई) गरेका कारण तिनीहरू कारबाहीमा परेका छन् ।

कारबाही पर्नेमा बुलेट मोटसाइकल ९० वटा, पल्सर मोटरसाइकल ७५ वटा, डुक बाइक ३७ वटा र क्रस फायर १०५ वटा रहेका छन् ।

त्यस्तै प्रेसर हर्न प्रयोग गर्ने ६५ ट्रक, ८४ बस र ३५ कारजिपलाई नियन्त्रणमा लिएर कारबाही गरिएको प्रहरीले जनाएको छ ।

पछिल्ला दिन चर्को आवाज निकालेर मोटरसाइकल चलाउने क्रम निकै बढिरहेको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले बताए ।  विशेष गरी युवा पुस्तामा चर्को आवाजसहित मोटरसाइकल चलाउने प्रवृत्ति बढेको देखिन्छ, उनले भने, ‘यसले पोखराको पर्यटनमा पनि प्रत्यक्ष असर पार्ने हुँदा यसलाई तत्काल नियन्त्रण गर्नु आवश्यक छ ।’

“चर्को आवाजसहित सवारी साधन चलाउने क्रमले बजारमा ध्वनि प्रदूषणका साथै त्यसले मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्ने गरेको छ”, उनले भने, “यसको तत्काल नियन्त्रणका लागि सवारी चालकका साथै चर्को आवाज निकाल्ने गरी साइलेन्सर बिगार्ने वर्कसपलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ ।”

यसको नियन्त्रणका लागि विक्रेताले पनि बेच्दा राम्रोसँग सूचना दिएर बिक्री गर्नुपर्छ बताउँदै उपाध्यक्ष पराजुलीले पर्यटकीय नगरीलाई सुन्दर र शान्त बनाउन चर्को आवाज आउने किसिमका मोटरसाइकल नभित्र्याउन व्यवसायीलाई पनि आग्रह गर्नुपर्ने अवस्था आएको उल्लेख गरे ।

चर्को आवाजले मानवीय स्वास्थ्यमा प्रत्यक्ष एवम् अप्रत्यक्ष दुवै रुपले असर पार्ने मुटुरोग विशेषज्ञ डा आशिष त्रिपाठी बताउँछन् ।

विशेष गरी कमजोर मानसिक अवस्था भएका व्यक्तिलाई चर्को आवाजले प्रत्यक्ष असर पार्ने गरेको बताउँदै उहाँले यसले मुटुका रोगीलाई पनि अप्रत्यक्ष असर पार्ने गरेको धारणा व्यक्त गरे । .

चर्को आवाजका कारण पर्यटकीय नगरी पोखराको वातावरणलाई प्रत्यक्ष प्रभावित गर्ने भएकाले यसतर्फ बेलैमा सोच्नु आवश्यक छ, पोखरा पर्यटन परिषद्का महासचिव कृष्ण भण्डारीले भने, “यसका कारण मानसिक तथा मुटु रोगीका बिरामीमा प्रतिकूल प्रभाव पार्ने भएकाले यसतर्फ सबैले चासो राख्नुपर्छ ।”

“पछिल्ला समयमा पोखरामा मोटरसाइकलको चर्को आवाजकै कारण मुटु तथा कमजोर मानसिक अवस्थाका व्यक्ति मुर्छा पर्ने, बेहोस हुनेजस्ता धेरै समस्या प्रत्यक्ष देखिन थालेका छन्”, उनले भने, “वातावरणीय प्रदूषणका साथै मानिस स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका यो समस्यालाई अत्यन्त गम्भीरतापूर्वक समाधान गर्नु आवश्यक छ ।” रासस

Logo