कञ्चनपुरमा ६६ र पाल्पामा १८ मतदानस्थल अति संवेदनशील

कञ्चनपुरमा ६६ र पाल्पामा १८ मतदानस्थल अति संवेदनशील

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ९ असार ।

जिल्ला सुरक्षा समितिहरूले कञ्चनपुरका ६६ वटा र पाल्पामा १८ मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएका छन् । जिल्ला सुरक्षा समितिले कन्चनपुरका भारतसँग सीमा जोडिएका मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रको सूचीमा राखी सुरक्षा व्यवस्थालाई भरपर्दो बनाएको हो ।

सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी त्यसैअनुरुप सुरक्षाको व्यवस्था मिलाइएको कन्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरतबहादुर दाहालले बताए । उनका अनुसार १३२ मतदानस्थलमध्ये ६६ लाई अतिसंवेदनशील, २६ लाई संवेदनशील र ४० लाई सामान्यको सूचीमा राखिएको छ ।

“भारतसँग सीमा जोडिएका महाकाली नगरपालिका, बेलडाँडी गाउँपालिका, भीमदत्तनगरपालिका, बेलौरी र पुनर्वास नगरपालिका क्षेत्रका अधिकांश मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ,” उनले भने ।

कन्चनपुरमा आपराधिक गतविधि हुन सक्ने सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण मानिएका मतदानस्थल संवेदनशील क्षेत्रका रुपमा रहेका छन् ।

मतदानस्थलको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउनका लागि तीन तहको सुरक्षा घेराको निर्माणको योजना अघि सारिएको छ । जस्मा मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी, म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई खटाइने व्यवस्था गरिएको छ ।

प्रहरी नायब उपरीक्षक दाहालका अनुसार मतदानस्थलको सुरक्षाका लागि तीन हजार सुरक्षाकर्मी तैनाथ गरिने र त्यसका लागि एक हजार बढी म्यादी प्रहरी रहने छन् । थप सुरक्षाकर्मीको टोलीलाई मतदान केन्द्र्र र नेपाल–भारत सीमा क्षेत्रमा गस्तीका लागि प्रभावकारी रुपमा परिचालन गरिने उहाँले बताउनुभयो ।

मदिराको कारोबारमा पूर्ण प्रतिबन्ध

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कञ्चनपुरमा मदिरा बिक्री वितरण, सेवन र ओसारपसारमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ ।

निर्वाचनमा हुन सक्ने अवाञ्छित क्रियाकलाप रोक्नका लागि मदिराको कारोबारमा प्रतिबन्ध लगाइएको हो ।

असार ८ देखि १८ गतेसम्म मदिराको कारोबारमा पूर्ण प्रतिबन्ध लगाउने जिल्लास्थित सर्वदलीय बैठकले निर्णय गरेको प्रहरी नायब उपरीक्षक भरत दाहालले बताउनुभयो ।

यस अवधिमा मदिराको बिक्री वितरण, ओसारपसार र सेवन गरेको पाइए कानुन बमोजिम हदैसम्मको कारबाही हुने उहाँले उल्लेख गर्नुभयो ।

सार्वजनिक सूचना जारी गरी मदिराको सेवन, बिक्री वितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिनुभयो ।

यसैगरी, स्थानीय तहको निर्वाचनका लागि निर्धारण भएका पाल्पाका १८ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा जम्मा ११८ वटा मतदानस्थल तोकिएको छ ।

तानसेन तगरपालिकामा तीनवटा, रामपुर नगरपालिकामा छवटा, माथागढी गाउँपालिकामा एउटा, तिनाहुँ गाउँपालिकामा चार र रैनादेवी छहरा गाउँपालिकामा चारवटा गरी जम्मा १८ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन् ।

त्यस्तै जिल्लामा ४० वटा मतदानस्थल संवेदनशील रहेका छन् । जसअन्तर्गत तानसेन नगरपालिकामा सात, रामपुर नगरपालिकामा चार, निस्दी गाउँपालिकामा दुई, पूर्वखोला गाउँपालिकामा तीन, रम्भा गाउँपालिकामा पाँच, वगनासकाली गाउँपालिकामा तीन, माथागढी गाउँपालिकामा चार, रिब्दिकोट गाउँपालिकामा तीन, तिनाहुँ गाउँपालिकामा दुई र रैनादेवी छहरा गाउँपालिकामा छवटा मतदानस्थल संवेदनशील रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाभरमा ६० वटा मतदानस्थल सामान्य अवस्थामा छन् । जसमा तानसेन नगरपालिकामा १२, रामपुर नगरपालिकामा चार, निस्दी गाउँपालिकामा सात, पूर्वखोला गाउँपालिकामा पाँच, रम्भा गाउँपालिकामा चार, बगनासकाली गाउँपालिकामा आठ, माथागढी गाउँपालिकामा पाँच, रिब्दिकोट गाउँपालिकामा सात, तिनाहुँ गाउँपालिकामा चार र रैनादेवी गाउँपालिकामा चारवटा रहेका छन् । रासस

Logo