च्याम्पियन्स ट्रफी जित्ने पाकिस्तानी खेलाडीलाई १–१ करोड रुपैयाँ पुरस्कार

च्याम्पियन्स ट्रफी जित्ने पाकिस्तानी खेलाडीलाई १–१ करोड रुपैयाँ पुरस्कार

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ७ असार ।

आइसिसी च्याम्पियन्स ट्रफी–२०१७ जित्ने पाकिस्तानी टोलीका सबै खेलाडीलाई सरकारले १–१ करोड रुपैयाँ पुरस्कार दिने भएको छ । यो घोषणा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले आज वुधबार गरेका हुन् ।

पाकिस्तानका सूचना तथा प्रसारण राज्यमन्त्री मरियम औरंगजेबले टुर्नामेन्टमा टिमले राम्रो प्रदर्शन गर्दै ट्रफी नै जितेर देशको मनोबल बढाएको बताए ।

राज्यमन्त्रीले टिम क्याप्टन सरफराज अहमदको पनि निकै प्रशंसा गर्दै सरफराजले टोलीलाई निकै राम्ररी व्यवस्थापन गरेको र त्यसैले गर्दा टोलीले ब्याटिङ र बलिङमा राम्रो प्रदशैन गर्न सकेको उल्लेख गरे । उनले भने, ‘यति राम्रो प्रदर्शन गरेको हुनाले यो टोली यति नगद पुरस्कारको पूर्ण हकदार हो ।’

गत १८ जूनमा लन्डनको ओभल मैदानमा भएको च्याम्पियन्स ट्रफी फाइनलमा पाकिस्तानले भारतलाई १८० रनको विशाल अन्तरले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको पाकिस्तानले ४ विकेटको क्षतिमा ३३८ रन बनाएको थियो । पाकिस्तानको टोटलमा आफ्नो चौथो वान डे खेलिरहेका ओपनर फखर जमानको पहिलो वान डे शतक (११४ रन) को विशेष योगदान थियो । जवाफमा भारत केवल १५८ रनमै अलआउट हुनपुगेको थियो ।

च्याम्पियन्स ट्रफीका सात संस्करणमा पाकिस्तान बढीमा तीनपटकसम्म सेमिफाइनलमा पुगेर बाहिरिएको भए पनि यसपटक पहिलो चोटि फाइनल पुगेर उपाधि पनि जित्न सफल रह्यो । दुईपटकको विजेता भारत तेस्रोपटक फाइनलमा खेल्दै थियो ।

Logo