राजपा आन्दोलनपछाडि लुकेका ४ कारण

राजपा आन्दोलनपछाडि लुकेका ४ कारण

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क  । काठमाडौं , ६ असार २०७४ ।

साना–साना ६ दल मिलेर बनेको मधेस केन्द्रित राष्ट्रिय जनता दल (राजपा) यतिबेला आन्दोलनको ‘वार्म–अप’मा छ । प्रदेश नं २ को चुनाव सार्नुअघिसम्म यो दल चुनाव बहिष्कार गर्दै आमहड्ताल गर्ने निर्णयमा पुगेको थियो । यतिबेला उनीहरूले आम हड्तालको कार्यक्रम छोडेको बताए पनि आन्दोलनलाई भने सँग–सँगै लिएर जाने निर्णय गरेका छन् ।

चुनाव बहिष्कार गर्ने निर्णय गरे पनि केही जिल्लामा यस पार्टीका नेता–कार्यकर्ताले उम्मेदवारी दिएर केन्द्रीय नेतृत्वलाई चुनौती दिएका छन् । कतिपय नेता तथा कार्यकर्ताले पार्टी नै छोडेर अर्को किसिमको विद्रोह गरेका छन् । तर राजपाका राजेन्द्र महतो र राजकिशोर यादवहरू भने चुनाव सुन्नै नसक्ने भएका छन् । आन्दोलनको विकल्प नदेख्ने उनीहरू संविधान संशोधनलाई ‘बटमलाइन’ मान्छन् ।

जनसंख्याको आधारमा स्थानीय तहको संख्या निर्धारण, चुनाव चिन्ह एउटै पाउनुपर्ने सुनिश्चितता र मधेस, थरुहट आन्दोलनका मुद्दा फिर्ता गरी सहिद घोषणा र घाइतेको उपचार अनि राहत राजपाका बाँकी बचेका माग हुन् । स्थानीय तहको संख्या निर्धारण बाहेकको मागमा प्रमुख प्रतिपक्ष एमाले समेत राजी भइसकेको छ । तर जनसंख्याको आधारमा स्थानीय तहको संख्या निर्धारण नहुन्जेल आन्दोलन जारी राख्ने यस पार्टीको अडानले सारेको मिति (२ असोज) मा पनि चुनावमा सहभागी हुने सम्भावना सुरुआती चरणमा नै टर्दै गएको देखिन्छ ।

देखाउने मुद्दा जे जस्ता भए पनि राजपा आन्दोलनका भित्री कारणहरू भने अरू नै छन् ।

त्यसमध्येको सबैभन्दा पहिलो कारण हो, चुनाव जित्ने आत्मविश्वास नहुनु । नयाँ दल (स्थापना मिति ७ वैशाख २०७४) भएकाले यसले जनताका बीचमा कुनै कार्यक्रम लान समय नै पाएको छैन । अथवा, उनीहरूले आन्दोलन बाहेकको कार्यक्रम सोच्न सकेका छैनन् ।

तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) र नेपाल सद्भावना पार्टी मिलेर एउटै पार्टी बनाउने भनिए पनि अझै यो अध्यक्ष मण्डलकै मोडेलमा छ । जोडिइसकेको छैन ।

राजपाको एकीकरण व्यवहारिक रूपमा सम्पन्न भइनसकेकाले अहिले पनि जिल्ला तहमा ६ दलका ६ वटै जिल्ला कार्यालयका साइनबोर्ड झुण्डिएका छन् । यस्तो बेलामा चुनावमा हाम फाल्दा टिकट भागबण्डामा ठुलो समस्या आउँछ नै । यसले विद्रोह र भाँडभैलोको अवस्था सृजना गर्छ भन्ने नेतृत्वलाई डर थियो । यो डरबाट बच्न पनि चुनाव सार्न जरुरी थियो ।
नयाँ दल भएकाले आन्दोलनकै मौकामा पार्टीको संगठन बनाएर स्थापित गराउन सकिन्छ भन्ने पनि उनीहरूको गृहकार्य रहेको पाइन्छ । संविधान संशोधन गरेर माग पूरा गराउन सके मधेसको विश्वास एक्लै जित्न सकिन्छ भनेर पनि राजपाका नेताहरू आशावादी छन् ।

राजपाको मनोविज्ञानले छरपस्ट गरेको सत्य के हो भने ऊ उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमलाई मधेसबाट एक्ल्याउन चाहन्छ । यतिबेला उपेन्द्र चुनावको पक्षमा अनि राजपा र राजेन्द्र महतोहरू विपक्षमा उभिएर मधेसलाई दुई कित्तामा उभ्याइसकेका छन् । उनीहरूबीच गाली–गलौजको राजनीति पनि सुरु भइसकेको छ ।
मधेसका ‘टावर पर्सनालिटी’ उपेन्द्र आन्दोलनले बनाएका नेता भएकाले खासगरी राजपाका राजेन्द्र पनि आन्दोलनबाट नयाँ उचाइ प्राप्त गर्न चाहन्छन् । राजपाको आन्दोलन राजेन्द्र–उपेन्द्रबीचको टकरावको परिणाम भनेर बुझ्नेहरू पनि धेरै छन् । यो बुझाइमा कति सत्यता छ, त्यो भिन्न पक्ष हो । तर प्राप्त उपलब्धिको रक्षा चुनावले गर्छ भन्ने निष्कर्षका साथ उपेन्द्र चुनावमा होमिएका छन् भने राजेन्द्रको सक्रियताले उनी विगतमा प्राप्त उपलब्धिप्रति गम्भीर छैनन् भन्ने देखाउँछ । राजपाले चुनाव बहिष्कार गर्ने मूलकारण भने यी हुन्–

यी हुन् ४ कारण

. चुनाव जित्ने आत्मविश्वास नभएर ।
– नयाँ दल राजपाको तल्लो तहसम्मका समितिहरू मिलिसकेका छैनन् । जनताको विश्वास–अविश्वास नेतृत्वले जाँचिसकेको छैन ।
. आन्दोलनकै मौकामा पार्टीको संगठन स्थापित गराउन ।
– तल्लो तहसम्म मिलाप नभई चुनावमा जाँदा उम्मेदवारी भागबण्डाको विषयले वितण्डा मच्चाउने डर भएकाले ।

. माग पूरा गराउन सके मधेसको विश्वास एक्लै जित्न सकिन्छ भनेर ।
– खासगरी मधेसमा उपेन्द्र यादव र थरुहटमा विजयकुमार गच्छदारको दमलाई आन्दोलनको बलले पूर्णविराम लगाइदिन । किनभने यादव र गच्छदारले नेतृत्व गरेका दल आन्दोलनमा छैनन् ।

. उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमलाई मधेसबाट एक्ल्याउन ।
– राजपालाई सबैभन्दा ठूलो डर उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग छ भनेर बुझ्न गार्हो छैन ।

Logo