ठूला दलका नेताहरू झापा दौडाहामा

ठूला दलका नेताहरू झापा दौडाहामा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ६ असार । आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन ठूला दलका नेता झापा दौडाहामा व्यस्त देखिन थालेका छन् ।

नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाका ठूला नेता आफ्नो उम्मेदवारका पक्षमा जित दर्ज गराउन जिल्ला आउने क्रम बढेको हो ।

इलाम, पाँचथर र ताप्लेजुङ जानका लागि हवाइ मार्गबाट झापा पहिला आउनुपर्ने भएकाले प्रायः दलका नेताहरु त्यहाँ आएर एक दुई कार्यक्रममा सहभागी हुने गरेका छन् ।

चुनावी अभियानकै क्रममा केही दिनअघि झापा पुगेका काँग्रेस युवा नेता गगनकुमार थापाले काँकरभिट्टा, धुलाबारीलगायत स्थानमा पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरेका थिए । चुनावी अभियानकै क्रममा उनी पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र पाँचथरतिर लागेका छन् ।

त्यस्तै तीन दिनअघि काँग्रेस नेता डा रामशरण महत काँकरभिट्टा र शनिश्चरेको चुनावी गतिविधिमा सहभागी भएका थिए ।

झापा धुलाबारीका काँग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा जिल्ला दौडाहामा व्यस्त छन् । उनी १५ वटै स्थानीय तहको चुनावी प्रचार अभियानमा जुटेका छन् । काँग्रेस झापा सभापति उद्धव थापाले उम्मेदवारको मनोबल बढाउन अन्य शीर्ष नेता जिल्ला आउने बताएका छन् ।

सोमबार मात्र काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले काँग्रेस बिर्तामोडमा कार्यकर्तासँग भेटघाट गर्दै परिणाम आफ्नो पक्षमा पार्न दिलोज्यान दिएर लाग्न निर्देशन दिएका थिए ।

त्यस्तै चुनावी अभियानकै क्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली चार दिनका लागि सोमबार झापा पुगेका छन् । गृहनगरमा एमालेको बलियो उपस्थिति बनाउन उनी झापा गएका हुन् ।

झापा आएलगत्तै ओलीले कनकाई नगरपालिकाको चुनावी सभालाई सम्बोधन र दमकमा अगुवा कार्यकर्तासँग भेटघाट गरिसकेका छन् ।

राससले जनाएअनुसार, आज ओलीले दमकमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन् । बुधबार अर्जुनधारा र मेचीनगर तथा बिहीबार गौरादहको चुनावी सभालाई सम्बोधन गरेर उनी काठमाडौँ फर्कने कार्यक्रम रहेको एमाले झापा अध्यक्ष चिन्तन पाठकले जानकारी दिएका छन्् ।

त्यस्तै, एमाले पोलिटब्युरो सदस्य अग्नि खरेल झापाको १५ वटै स्थानीय तहका उम्मेदवार सार्वजनिक कार्यक्रममा सहभागी भएर हाल चुनावी अभियानकै क्रममा जिल्लामा छन् । सांसद जितु गौतम कचनकवल गाउँपालिकामा चुनावी अभियानमा क्रियाशील छन् ।

चुनावी अभियानकै सिलसिलामा माओवादी केन्द्रका केन्द्रीय नेता राम कार्की, केन्द्रीय कार्यालय सदस्य वेद गुरुङ, नेता अग्निप्रसाद सापकोटालगायत नेता झापा आउन लागेको पार्टीका जिल्ला संयोजक मणिकुमार साम्पाङले जानकारी दिएका छन् ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देन गृह जिल्लामै व्यस्त छन् । चुनावी कार्यक्रमका लागि अन्य शीर्ष नेता झापा आउने कार्यक्रम रहेको पार्टीका जिल्ला अध्यक्ष अम्बरबहादुर विष्टले बताएका छन् ।

Logo