काठमाडौंमा मर्निङवाक गर्नेले बढी निल्छन् प्रदूषण

काठमाडौंमा मर्निङवाक गर्नेले बढी निल्छन् प्रदूषण

केन्द्रबिन्दु
0
Shares

अरनिको पाँडेले अमेरिकाको म्यास्याच्युटस इस्च्टियुट अफ टेक्नोलोजी (एमआइटी)बाट सन् २००६ मा काठमाडौं उपत्यकाको प्रदूषणबारे विद्यावारिधि गरे । उनले पाँच वर्ष अमेरिकाकै प्रिन्टन युनिभर्सिटी र युनिभर्सिटी अफ भर्जिनियामा वातावरण विज्ञान अध्यापन गरे । विगत पाँच वर्षदेखि एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड)मा वातावरण र प्रदूषणका विषयमा काम गर्दै आइरहेका उनीसँग काठमाडौं उपत्यकाको प्रदूषणको प्रकृति, वातावरण र प्रदूषण नियन्त्रणका उपायबारे नयाँ पत्रिकाका वीरेन्द्र ओलीले कुराकानी गरेका छन् :

यस्तो छ राजधानीको प्रदूषणको प्रकृति
काठमाडौं उपत्यका पहाडैपहाडले घेरिएको छ । यस्तो खालको भू–बनोट अरू ठाउँमा कमै पाइन्छ । सानो खालको उपत्यका भएकाले वातावरणीय दृष्टिकोणले पनि अत्यन्तै संवेदनशील मानिन्छ । उपत्यका भएकाले एक ठाउँको हावा अर्को ठाउँमा पनि सजिलै बहन सक्दैन । यस्तो खालको उपत्यकामा धुलो र धुवाँ हुने खालका कलकारखाना कम राख्नुपर्छ ।

उपत्यकामा सबै नाकाबाट हावा प्रवेश गर्दैन । नागढुंगा–थानकोट हुँदै पश्चिमी क्षेत्रबाट मात्र हावा पस्छ । बागमती नदीको किनारको दक्षिण भेगबाट केही मात्रामा हावा प्रवेश गर्छ । त्यहाँबाट हावा एकदमै न्यून मात्रामा आउँछ । आए पनि बागमती नदी आफैँमा फोहर भएकाले केही मात्रामा प्रदूषित हावा प्रवेश गर्छ । उपत्यकामा भएको प्रदूषित हावा साँगा भञ्ज्याङ हुँदै पूर्व–उत्तर हुँदै बाहिरिन्छ ।

उपत्यकामा बिहानै र बेलुका खासै हावा चल्दैन । बिहान ९-१० बजेदेखि भने बिस्तारै चल्न थाल्छ । बेलुका चार–पाँच बज्न थालेपछि हावा चल्न कम हुन्छ ।

साँझतिर चिसो हुने भएकाले शिवपुरीबाट प्रदूषण झरिरहेको हुन्छ । त्यो धुवाँ धेरै माथिसम्म पनि जान सक्दैन । रातिमा हावा पनि नचल्ने तातो पनि नहुँदा माथि जान सक्दैन । राति प्रदूषण कम हुने चिसो पनि हुने भएपछि प्रदूषण त कम हुन्छ । तर, बाँकी रहेको प्रदूषण राति माथिबाट झरेर बिस्तारै बिहान पृथ्वीको सतहमा आइपुगेको हुन्छ । बिहान पृथ्वीको सतहमा हुने भएकाले मर्निङ वाक गर्दा प्रदूषित हावा लिनुपर्ने बाध्यता छ । सबैभन्दा प्रदूषित हावा मानवस्तीको माथि बसेको देखिन्छ ।

उपत्यकामा अन्य मौसमको तुलनामा मनसुनमा कम प्रदूषण हुन्छ । यो मौसममा धेरै पानी पर्ने भएकाले कम प्रदूषण भएको हो । प्रदूषित धुलो धुवाँलाई आकाशको पानीले तल झार्ने भएकाले कम प्रदूषण हुन्छ । यो मौसममा पानीले गर्दा भएको धुलो पनि हिलोमा परिणत हुन्छ । मनसुनमा हावा पनि उत्तिकै चल्ने भएकाले पनि भएको धुलो धुवाँलाई उँडाएर लैजान्छ, तर जाडोमा कम तापक्रम हुने र हावा पनि कम चल्ने भएकाले भएको प्रदूषण उपत्यकामै रहन्छ । जसले गर्दा जाडोमा उपत्यका धेरै प्रदूषण हुन्छ ।

यी हुन्, प्रदूषणका मुख्य स्रोत
उपत्यका हुने सबै प्रदूषणको स्रोतलाई एउटै डालोमा हाल्नुहुँदैन । यहाँ धेरै किसिमका स्रोतले प्रदूषण बढाएका छन् । सबैभन्दा बढी धुलो धुवाँ र ग्यासले प्रदूषण बढाएका छन् । उपत्यकामा धुलो धेरैजसो सडकबाट निस्किने गरेको छ ।

अहिलेको चक्रपथ विस्तार, कलंकी–नागढुंगाको सडक विस्तार, अन्य सडक मर्मतसम्भार नगर्दा धेरै धुलो निस्किने गरेको छ । त्यसैगरी, मेलम्ची खानेपानीको पाइप बिछ्याउँदा सडक खनेर यत्रतत्र छोड्दा पनि धुलो धेरै निस्किने गरेको छ ।

उपत्यकामा भइरहेका भवन तथा घरलगायत निर्माणका कामले पनि धुलो निस्किने गरेको छ । धुलोको कण गह्रौँ हुने भएकाले धेरै माथिसम्म जाँदैन । गाडीले उँडाए पनि तत्कालै तल बसिहाल्छ । धुलोको कण मोटो हुने भएकाले शरीरको भित्री भागलाई खासै ठूलो असर पनि गर्दैन । यद्यपि, धुलोले लुगा मात्र फोहर हुने होइन, मानव स्वास्थ्यलाई दीर्घकालीन असर पनि पारिरहेको हुन्छ ।

अर्को, सवारीसाधनबाट धेरै धुवाँ निस्किने गरेको पाइन्छ । पुराना सवारीसाधनले धेरै धुवाँ फाल्छन् । भएको सवारीसाधनलाई पनि समयसमयमा मर्मतसम्भार नगर्दा पनि धेरै धुवाँ निस्किन्छ । काठमाडांैवासीमा अझै पनि प्लास्टिकका कागज जलाउने बानी छ । यसले थोरै भए पनि प्रदूषण बढाउन सहयोग पुर्याइरहेको छ ।

अर्को भक्तपुर क्षेत्रमा इट्टा भट्टा धेरै छन् । यस्ता खालका भट्टाले धेरै धुवाँ फाल्छन् । ती भट्टा पनि परम्परागत किसिमका छन् । जसलाई कम धुवाँ फाल्ने बनाउन सकिने भए पनि त्यस्तो गरिएको छैन । त्यो धुवाँको कण यतिसम्म हुन्छ कि, कुनै वेला हप्ता दिनसम्म पनि उँडिरहेको हुन्छ । त्यो धुवाँ पानी पर्यो भने सजिलै तल झारिदिन्छ । होइन भने आकाशमै उँडिरहेको हुन्छ । त्यस्तो धुवाँ शरीरभित्र प्रवेश ग¥यो भने सीधै फोक्सोमा पुग्छ । फोक्सोबाट रगत हुँदै पूरै शरीरमा पुग्छ । जसले ठुल्ठूला प्राणघातक रोग निम्त्याउँछ ।

उपत्यका प्रदूषित हुनुमा यहाँको प्रदूषण मात्र जिम्मेवार छैन । उपत्यकाबाहिरबाट पनि केही मात्रामा प्रदूषण आउने गरेको पाइन्छ । पछिल्लो समय धादिङतिर पनि इट्टा भट्टा बनिरहेका छन् । त्यसको धुवाँ पनि उपत्यकामा प्रवेश गरेको छ । तराईमा भएका कलकारखानाको धुवाँ पनि उपत्यकामा आइपुग्छ । हामीले केही समयपहिले गरेको एउटा अनुसन्धानमा भारतबाट पनि केही मात्रामा प्रदूषण काठमाडौं आउने गरेको पाएका छौँ । त्यसले पनि के पुष्टि गर्छ भने भारतबाट आउने प्रदूषणले पनि उपत्यकामा असर गरेको छ ।

हामीले केही समय अनुभव गरेको थियौँ । भारतीय नाकाबन्दीका वेला काठमाडौंमा भिजिबिलिटी दुई किलोमिटर थियो । दिउँसो कलकारखाना, गाडी पनि एकदमै कम चलेका थिए । यस्तो देखिएपछि हामीले अध्ययन गर्न थाल्याैँ । अध्ययन गरेपछि थाहा भयो, त्यतिवेला पन्जाबमा धेरै आगो बालिएको रहेछ । त्यही धुवाँ काठमाडौंमा एकै दिनमा आइपुगेको रहेछ । त्यो अध्ययनबाट उपत्यकाबाहिरको प्रदूषणले पनि असर पार्ने रहेछ भन्ने थाहा भयो ।

उपत्यकाको प्रदूषणमा कार्बनडाइअक्साइड, सलफरडाइअक्साइड, नाइट्रोजन अक्साइडजस्ता ग्यास छन् । ती ग्यासहरू गाडीको इन्जिन र कलकारखानाबाट निस्किने गर्छन् ।

विदेशमा प्रदूषण नियन्त्रण गर्ने अभ्यास
विदेशका धेरै सहरले प्रदूषण घटाउने नीति लिएका छन् । सबैले आ–आफ्नो सहरको बनावटअनुसार प्रदूषण घटाएका छन् । अमेरिकाको लसएन्जलसमा प्रदूषण धेरै भएपछि बाहिर आगो बाल्न प्रतिबन्ध लगाइयो ।

म्याक्सिको सिटी र चिलीको राजधानीको वनावट पनि काठमाडौ उपत्यकाको जस्तै छ । ती सहरमा पहिले धेरै प्रदूषण थियो । उनीहरूले सानासाना काम गरेर प्रदूषण घटाएका छन् । ती सहरमा प्रदूषण मापन गर्ने केन्द्र धेरै राखिएको छ । प्रदूषण बढ्नेबित्तिकै गाडी चलाउन, कालकारखाना चलाउन नै बन्द गर्ने गरिएको छ । जसले तत्कालको समस्या घटाउन सजिलो बनाउँछ ।

प्रदूषण सधैँभरि एउटै प्रकृतिको नहुने भएकाले त्यहाँ अलि सजिलो भएको हो । प्रदूषण घटाउन जोर–बिजोर नम्बरका आधारमा गाडी चलाउने समेत गरिएको छ । त्यसैगरी, कुनै दिन सरकारी गाडी, कुनै दिन विद्यालयका गाडी बन्द गरेर पनि प्रदूषण घटाएको देखिन्छ । प्रयोग गर्ने पेट्रोलिम पदार्थ युरो–६ छ । सडकहरू पनि सफा र स्वच्छ छन् । त्यहाँका प्रयासबाट हामीले सिक्न सक्छाैँ ।

उपत्यकाको प्रदूषण घटाउने तरिका
काठमाडौं उपत्यकाको प्रदूषण तत्काल घटाउन सकिने खालको नै छ । काठमाडाैँमा सबैभन्दा प्रदुषण गराउने सडकको धुलो, कलकारखाना तथा गाडीको धुवाँ र इट्टा भट्टाको धुवाँले हो । जुन प्रदूषणलाई थोरै मात्र बजेट खर्च गरेर सजगता अपनाएमा कम गर्न सकिन्छ ।

चक्रपथ विस्तार र कलंकी नागढुंगा सडक विस्तार एकैपटक विस्तार गर्नुहुँदैन । बिस्तारै पार्ट पार्टमा पिच गर्दै जान सकिन्छ । खानेपानीको पाइप बिच्छ्याउने नाममा एकैपटक धेरै सडक खनिएको छ । आवश्यक ठाउँमा मात्र सडक खनेर पिच गर्न सकिन्छ ।

हामीले प्रयोग गर्ने यातायातका साधनमा परिवर्तन ल्याउन जरुरी छ । निजी गाडी र मोटरसाइकल विस्थापित गरी सार्वजनिक साधनलाई प्रवद्र्धन गर्नुपर्छ । सावर्जनिक गाडी ठूला खालका हुनुपर्छ । त्यसैगरी, पैदल हिँड्ने र साइकल चढ्नेलाई प्रोत्साहन गर्नुपर्छ ।

गाडीमा हरियो स्टिकर लगाउने कार्यलाई प्रभावकारी बनाउनुपर्छ । जसरी अहिले मापसे जाँचमा कडाइ गरिएको छ । सोहीअनुसार गाडीको धुवाँ जाँच गर्न ट्राफिक प्रहरीलाई दिनुपर्छ । हामीले प्रयोग गर्ने पेट्रोलियम पदार्थ युरो ६ हुनुपर्छ ।

म केही दिनअघि चीनको गोन्झाउ गएको थिएँ । त्यहाँ सार्वजनिक गाडी र निजी गाडी हाँक्ने बाटो छुट्टाछुट्टै व्यवस्था गरिएको रहेछ । त्यहाँ निजी गाडी चल्ने ठाउँमा एकदमै जाम थियो । तर, सार्वजनिक गाडी चल्ने गाउँमा जाम नै थिएन ।

नेपालमा अहिले हाइड्रो पावर पनि बन्दै गएका छन् । जसले गर्दा बिस्तारै पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई निरुत्साहित गर्दै जान सकिन्छ । त्यसो गर्दा पेट्रोलियम पदार्थका लागि विदेश जाने पैसा पनि रोकिन्छ । सबै गाडीलाई इलेक्ट्रिोनिकमा लगेपछि धुवाँको समस्या घट्छ । त्यसले गर्दा बिस्तारै धुलोको समस्या पनि कम हुँदै जान्छ ।

केही समयअघि म दक्षिण कोरिया पनि गएको थिएँ । एकजनाले आफ्नो साथीलाई फोटो खिच्न भन्दै थियो । गाडी गुडिरहेको थियो, धुवाँ फालिरहेको थियो । पछि, मैले जिज्ञासा राखेपछि थाहा पाएँ । त्यहाँ धुवाँ फालेको गाडीको फोटो सर्वसाधारणले खिच्दा पैसा पाउँदो रहेछ । कतिपय बेरोजगार युवाले यस्तै धेरै धुवाँ फाल्ने गाडीको फोटो खिचेर ट्राफिक प्रहरीलाई पठाएर पैसा कमाउँदा रहेछन् । यस्तो खालको व्यवस्था नेपालमा पनि गर्न सक्ने सम्भावना छ । यसो गरिएमा प्रदूषण कम गर्न टेवा मिल्छ ।

प्रदूषणले स्वास्थ्यमा पार्ने असर
मैले बुझेअनुसार प्रदूषित हावाले सबैभन्दा धेरै फोक्सोमा असर हुन्छ । त्यसले निमोनिया हुने, खोकी लाग्ने हुन्छ । सबैभन्दा धेरै असर पार्टिकुर म्याटर २ दशमलव ५ माइक्रोग्राम प्रतिमिटरले नाप्ने धुलो र धुवाले असर गर्छ । त्यो धुवाँको कण फोक्सोबाट रगतसम्म पुग्छ । रगतसम्म पुगेको कणले क्यान्सर, हृदयाघातसमेत हुने गरेको पाइन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरका ७० लाख जति मान्छेको वायुप्रदूषणका कारण मृत्यु हुने गरेको छ । त्यसमध्ये ४० प्रतिशत घरभित्रको धुवाँले र अरू घरबाहिरको धुलोको असर हो । त्यसको आधाजति त एसियामै मृत्यु हुन्छ । नेपालमा प्रदूषणबाट मृत्यु हुनेको संख्या धेरै छ । धुलो मात्रैले खासै ठूलो असर गर्दैन । यसले शरिरका बाहिरी अंग आँखा, नाक, घाँटीमा समस्या हुन सक्छ ।

प्रदूषणबाट यसरी बचौँ
हिउँदमा बिहान बेलुका धेरै प्रदूषण हुन्छ । त्यसमा पनि उपत्यकाको पूर्वी उत्तरी क्षेत्रमा धेरै प्रदूषण हुन्छ । यदि दम खोकीको बिरामी छ भने बाहिर निस्किँदा सजगता अपनाउनुपर्छ ।

स्वास्थ मान्छे छ भने खासै डराउनुपर्दैन । कपडाको मास्कले बाहिरको धुलो रोक्छ । तर, धुवाँचाहिँ रोक्न सक्दैन । आफूले चलाउने सवारीसाधनको पनि ख्याल गर्नुपर्छ । आफैँले चलाएको साधनले पनि धुवाँ धुलो निम्त्याइरहेको हुन्छ । त्यसका लागि समयसमयमा सर्भिसिङ गराएर कन्डिसनमा राख्नुपर्छ । धेरै गाडीको आवत–जावत हुने ठाउँमा हिँडेर जाने, गल्ली प्रयोग गर्ने बानी बसाल्नुपर्छ ।

साभार : नयॉ पत्रिका

Logo