ताप्लेजुङ, ४ असार । ताप्लेजुङमा राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत चुनावी सभा लगायतका निर्वाचन गतिविधि ग्रिरहेका छन् । गाउँ–गाउँमा आमसभा गर्ने स्थल विद्यालयलाई बनाइएको छ । आमसभा हुने दिन विद्यालय नै बिदा गरिएको पाइएको छ ।
शिक्षक खुलेआम पार्टीको चुनाव चिह्न र झन्डा अङ्कित टि–सर्ट तथा टोपी लगाएर आफ्नो पार्टीलाई जिताउन रातदिन भोट माग्दै हिँडेका छन् । मतदाताको घरमा गएर भोट माग्न भ्याई नभ्याई छ, शिक्षकलाई । आमसभाको झन्डा बोकेर हिँडेको फोटो सामाजिक सञ्जालमा हतार–हतार पोस्ट गर्छन् ।
गाउँमा शिक्षकलाई सबैले चिन्ने र मान्ने हुँदा उम्मेदवार पनि शिक्षकलाई साथमा हिँडाउन पाउँदा मक्ख छन् । यसरी विद्यालयको पढाइ नै प्रभावित हुने गरी अहिले जिल्लाको प्रत्येक वडामा कार्यक्रम भइरहेको छ । तर कुनै पनि गाउँपालिका र वडाको केन्द्रमा सार्वजनिकस्थल नहुँदा विद्यालयमा कार्यक्रम गर्नुपरेको प्रमुख दलका जिल्ला नेतृत्वहरु स्वीकार्छन् ।
नेकपा (एमाले) का जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङले कार्यक्रम गर्ने अरू ठाउँ नहुँदा विद्यालयमा गर्नु पर्ने बाध्यता रहेको बताउनुभयो । तर आफूहरुको कार्यक्रमले विद्यालयको पढाइ प्रभावित नपारेको साम्सोहाङको दाबी छ ।
कर्मचारी पनि कम छैनन् । आफ्नो दल र नजिकको उम्मेदवारलाई जिताउने यो सुवर्ण अवसरको भरपूर रुपमा सदुपयोग गर्दैछन् । तर शिक्षकजस्तो छाती फुलाएर हिँड्न सक्दैनन् । कतै कसैले देख्छ कि भनेर सतर्क हुन्छन् ।
छोराछोरीलाई पढाउने सर आएर भनेपछि नमान्दा विद्यालयमा अन्याय पो गर्ने हुन् कि भन्ने द्विविधा मतदातामा छ भने कर्मचारीले पनि पछि काम परेको बेला अप्ठ्यारो पार्ने हुन् कि भनेर सोझासिधा सर्वसाधारण दोधारमा छन् । फुङ्लिङ नगरपालिका–२ की डिल्लीराम न्यौपानेले भन्नुभयो, “छोरालाई पढाउने सर नै आउनु भएछ, दिन्छु भनेँ, उम्मेदवार त चिनेको थिइनँ ।”
भड्काउपूर्ण नारा लेखिएका टि–सर्ट, ठूला ठूला झन्डा र ब्यानर तथा बाटो नै बन्द हुने गरी आमसभा भइरहेका छन् । गाउँ–सहर थर्किने गरी माइक बजिरहेको छ । टि–सर्टको जथाभावी प्रयोग भइरहेको छ । मतदातालाई प्रभाव पार्ने उद्देश्यले भोजभतेरको आयोजना गरिन्छ ।
धेरै पैसा खर्च गरेका आधारमा निर्वाचन लड्ने प्रवृत्ति बढ्दै गएको छ । धेरै पैसा हुनेले मात्रै निर्वाचन लड्ने संस्कृति मौलाएको छ, आचारसंहिता विपरीत आर्थिक चलखेल भइरहेको छ भन्ने जस्ता चर्चा बजारमा हुन्छ । बालबालिकालाई पनि दलले प्रयोग गरिरहेका छन् । यसलाई कसैले रोक्न सकेको छैन ।
आचारसंहिताअनुसार उम्मेदवार वा राजनीतिक दलले अधिकार प्राप्त अधिकारीबाट अनुमति लिई प्रयोग गरेको सवारीसाधनमा ३×५ फिटभन्दा ठूलो आकारको ब्यानर वा झन्डा तथा ३×३ फिटभन्दा ठूलो आकारको पोस्टरको प्रयोग गर्न पाइँदैन । जुलुस वा आमसभामा भाग लिने व्यक्तिले १०×१८ इन्चभन्दा ठूलो आकारको झन्डा प्रयोग गर्न पाइँदैन ।
त्यस्तै, निर्वाचन प्रचार–प्रसारका लागि एक निर्वाचन क्षेत्रमा बढीमा दुईवटा चारपाङ्ग्रे हलुका सवारीसाधन वा त्यस्ता सवारीसाधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न पाइने उल्लेख छ । निर्वाचनका सबै प्रावधान मान्नैपर्ने खालका नभएको समेत केही राजनीतिक दलका नेता नै बताउँछन् ।
नाम उल्लेख नगर्ने सर्तमा एक उम्मेदवार भन्छन् – “सबै आचारसंहिता मान्नुपर्ने खालका छैनन् । चुनावको प्रचार नगरी कसरी लड्ने ? गाडी कम भए कसरी मतदाताको घरमा पुग्ने ?”
कोही कोही ‘आचारसंहितामा व्यवस्था भएका सबै कुरा मान्दा निर्वाचन भव्य हुन सक्दैन र जनताको बीचमा पनि पुग्न सकिँदैन’ भन्ने धारणा राख्छन् ।
यसैबीच, कतिपय ठाउँमा विभिन्न माग राखेर मतदाताले नै नेतालाई आचारसंहिता उल्लङ्घनमा हौस्याइरहेको पनि पाइएको छ । चामल दिनेलाई भोट दिन्छौँ भन्ने जस्ता खबर सञ्चारमाध्यममा समेत आइरहेका छन्, यसले नेताहरूलाई चामल बाँड्न बाध्य पार्छ । ती उम्मेदवार मतदाताले अचारसंहिता उल्लङ्घन नहुनेतर्फ सचेतता अपनाउन नसकेको स्वीकार्छन् ।
सञ्चारमाध्यमले पनि पालना गरेनन्
निर्वाचन आचारसंहिताले सञ्चारमाध्यमलाई पनि बाँधेको छ । राजनीतिक दल तथा उम्मेदवारलाई समान अवसर दिनुपर्ने, उम्मेदवार वा राजनीतिक दलको सम्बन्धमा आयोगले विद्युतीय सञ्चारमाध्यमका लागि बढीमा ४५ सेकेन्डसम्मको मात्र विज्ञापन बजाउन पाउने र छापा माध्यमले ७×७ इन्चभन्दा बढी साइजको विज्ञापन सम्प्रेषण गर्न नपाउने भनेर आचारसंहिताले तोकिदिएको छ ।
तर यहाँका स्थानीय रेडियोले यो पालना गरेका छैनन् । अहिले पनि रेडियोमा उम्मेदवारकै आवाजमा ५ मिनेटसम्मको विज्ञापन बजिरहेको सुनिन्छ । केही पत्रकारले पनि तोकिएको भन्दा ठूलो साइजको विज्ञापन छापेका छन् । तर यसको नियमन गर्ने निकाय भने आचारसंहिता उल्लङ्घनको घटनाबारे जानकारी नआएको बताउँछन् ।
मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले अहिलेसम्म कसैले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको उजुरी नगरेको बताए । कहीँ कतै उल्लङ्घन भएको पाइए खबर गर्न पनि बस्नेतले आग्रह गरे ।
जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले पनि कोही शिक्षकले त्यसरी विद्यालय छोडेर दलको कार्यक्रममा हिँडेको पाइए सचेत पार्ने बताए । निरौलाले भने, “यसबारे सत्य तथ्य बुझेर आवश्यक कदम चाल्छौँ ।” –सन्तोष पुर्कुटी/रासस
प्रतिक्रिया