देउवा चलाउने १० !

देउवा चलाउने १० !

केन्द्रबिन्दु
0
Shares

आशीष अर्याल । काठमाडौं, २ असार २०७४ । ‘हरेक निर्णय आफू खुसी लिन्छन्, प्रधानमन्त्री शेरबहादुर देउवा ।’ आखिर नलिऊन् पनि किन ? उनी आखिर देशको सबैभन्दा शक्तिशाली पदमा आसीन व्यक्तित्व जो परे । तर पख्नुस्, नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाका बारेमा कसैले यसरी सोचिरहेको छ भने त्यो सर्वथा गलत साबित हुनेछ । किन ? केही चर्चा गरौँ । कुनै पनि संवेदनशील नेतृत्वमा रहेका व्यक्तिको आफ्नो छुट्टै समूह वा ‘टिम’ हुन्छ नै । राजनीतिक दलको नेतृत्व गर्दै सरकारको नेतृत्वमा पुगी प्रधानमन्त्री र मन्त्रिमण्डल बने÷बनाइएपछि चलनचल्तीको भाषामा त्यस्तो समूह वा टिमलाई ‘कोटेरी’ अथवा ‘किचन क्याबिनेट’ पनि भन्ने गरिन्छ । अझ सस्तो गरी भन्दा ‘गुट’ भनेको पनि यही नै हो । अधिकांश नेतालाई हाँक्ने पनि गुट वा ‘किचन क्याबिनेट’ ले नै हो । देउवा पनि यसका अपवाद होइनन् । आखिर को–को हुन् त देउवाको किचन क्याबिनेटका सदस्यहरू, अर्थात, देउवा चलाउनेहरू ? देउवा लामो समयदेखि एकै प्रकारका अनुहारलाई साथ लिएर हिँडिरहेका छन् । खासगरी नेपाली कांग्रेस फुटाएर कांग्रेस ‘प्रजातान्त्रिक’ बनाउँदा जो–जो आफूसँगै रहे आजका मितिसम्म तिनै नेताहरू उनका वरिपरि छन् । नयाँ अनुहारको ‘इन्ट्री’ हुनसकेको छैन देउवा किचन क्याबिनेटमा । बरु उनको किचन क्याबिनेटमा रहेका डा. मीनेन्द्र रिजालले कहिले उनलाई छोडेर तत्कालीन पार्टी सभापति सुशील कोइरालाको क्याबिनेटमा छिरे, कसैलाई पत्तै भएन । त्यसो त कुनै समयमा उनका विश्वासपात्र मानिने डा. नारायण खड्का, बलबहादुर केसी लगायतले उनलाई उहिल्यै छोडेर हिँडेका हुन् । विसं २०४६ सालपछिका तीनवटै संसदीय निर्वाचन र दोस्रो जनआन्दोलनपछिका दुईवटै संविधान सभा चुनावमा लगातार डडेलधुराबाट विजयी हुँदै आएका छन् देउवा । नेकाको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका संस्थापकमध्येका एक रहेका उनै देउवा गत फागुन २० देखि २४ गतेसम्म भएको कांग्रेसको १३ औं महाधिवेशनबाट पार्टी सभापतिमा समेत निर्वाचित भए । विसं २०४८ को आमनिर्वाचनपछि गृहमन्त्री बनेका उनले यसअघि २०५२, २०५८ र २०६१ मा गरी तीनपटक मुलुकको प्रधानमन्त्री पदको जिम्मेवारी सम्हालिसकेका छन् । अहिले फेरि उनी मुलुकको ४०औँ प्रधानमन्त्रीका रूपमा सिंहदरबार÷बालुवाटार प्रवेश भएका छन् । यो ७१ वर्षीय देउवाको चौथो प्रधानमन्त्रीे इनिङ चलिरहेको छ । तर समस्या के छ भने, जतिसुकै पटक प्रधानमन्त्री भए पनि उनले सफल प्रधानमन्त्रीको बिल्ला भने भिर्न पाएका छैनन् । देउवाको किचन क्याबिनेटमा नेपाली राजनीतिमा हैसियत राख्नेहरूकै बाहुल्य छ । चाहेजस्तो पद लिन देउवा सफल पनि हुँदै आएका छन् । तर पदासीन भएपछिको अवस्थामा भने देउवा जहिल्यै नकाम छन् । यति हुँदा पनि उनले आजसम्म आफ्नो किचन क्याबिनेट हेरफेर गर्ने सोच राखेका छैनन् । अर्थात्, उनी स्थायी गुटमा रमेका छन् । देउवा किचन क्याबिनेटमा रहेका प्रमुख १० जनाको अनुहार कस्तो छ ? को को हुन् तिनीहरू ? आउनुस् चिनौँ, देउवा चलाउने यी १० ।   १०. भानु देउवा प्रधानमन्त्री रहँदा वा नरहँदा समेत शेरबहादुर देउवाको सचिवालयको कमाण्ड भानु देउवाले सम्हालिरहेका छन् । विगत लामो समयदेखि उनी देउवाका विश्वासिला स्वकीय सचिव रहँदै आएका छन् । भेटघाट मिलाउनेदेखि मसिना तर महत्वपूर्ण विषयमा उनको सल्लाह चल्ने गर्छ ।   ९. मीन विश्वकर्मा सधैँ देउवा क्याम्पमा रहेका मीन विश्वकर्मा दलित नेता हुन् । उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद हुन् । उनले दलित मोर्चा सम्हालेका छन् भने राजनीतिक सल्लाह पनि उत्तिकै दिने गर्छन् ।   ८. बालकृष्ण खाँण देउवा क्याम्पमा रहेकामध्ये लोकप्रिय मानिने बालकृष्ण खाँणलाई खासगरी संगठक मानिन्छ । कांग्रेस तरुण (युवा) हरूबीच लोकप्रिय उनी देउवा समूहमा अटल भएर उभिने नेतामा पर्छन् । नेविसंघ र तरुण दलको अध्यक्ष रहिसकेका उनले पनि खास गरेर राजनीतिक विषयमा नै सल्लाह दिने गर्छन् । उनी निवर्तमान प्रचण्ड सरकारमा रक्षा मन्त्री थिए ।   ७. गोपालमान श्रेष्ठ पुराना र पाका नेता गोेपालमान श्रेष्ठ यस क्याम्पमा देउवापछिका सम्मानित नेतामा गनिन्छन् । देउवाले उनीसँग सम्मान राख्न पनि सबै कुरा सेयर गर्ने गरेका छन् । हाल उपप्रधानमन्त्री नियुक्त उनी देउवाका विश्वासपात्र हुन् । देउवाले पार्टी फुटाएर अर्को बनाउँदा श्रेष्ठ उपसभापति थिए ।   ६. पूर्णबहादुर खड्का देउवाले नेपाली कांग्रेस फुटाएर बनेको पार्टीमा पूर्णबहादुर खड्का केन्द्रीय सदस्य थिए । १२ औं महाधिवेशनपछि तत्कालीन सभापति सुशील कोइरालाले पूर्वगृहमन्त्रीसमेत रहेका खड्कालाई सह–महामन्त्री नियुक्त गरेका थिए । १३ औं महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित उनी हाल पार्टीको महामन्त्री बन्ने चर्चा छ । क्याम्पमा उनी खासगरी राजनीतिक र समसामयिक विषयमा सरसल्लाह दिने गर्छन् ।   ५. विमलेन्द्र निधि नेपाली राजनीतिलाई मिहिन ढंगले महसुस गरेर कार्ड फ्याँक्न सक्ने विमलेन्द्र निधि देउवाका प्रमुख राजनीतिक सल्लाहकार हुन् । प्रचण्ड सरकारमा गृहमन्त्रालयको नेतृत्व सम्हालेका निधिको देउवासँग आइजिपी नियुक्ति प्रकरणमा सम्बन्ध चिसिएको सार्वजनिक भयो । तर त्यो चिसोपन लामो समयलाई रहेन । अहिले पनि महत्वपूर्ण सल्लाह निधिले नै दिने गरेका छन् । निधि सम्भवतः चाँडै पार्टीको उपसभापति हुनेछन् । कांग्रेसमा मधेस खम्बाको रूपमा लिइने उनी देउवाका विकल्पहीन सल्लाहकार हुन् । भारतसँग सुमधुर सम्बन्ध रहेको मानिने निधिले नै देउवालाई भारतीय ‘लाइन’ दिलाइदिएको विश्लेषण हुने गर्छ ।   ४. ज्ञानेन्द्रबहादुर कार्की सधैँभरि देउवाको साथमा रहँदै आएका ज्ञानेन्द्रबहादुर कार्की हालका अर्थमन्त्री हुन् । पार्टीमा अर्थशास्त्र बुझेका धेरै नेता हुँदा–हुँदै देउवाले राजनीतिशास्त्रका विद्यार्थी कार्कीलाई देशको ढुकुटीको साँचो जिम्मा लगाउनुले पनि उनीप्रतिको माया झल्काउँछ । पार्टीको केन्द्रीय सदस्य तथा सांसद रहेका उनी पूर्वी पहाडका नेता हुन् ।   ३. डा. प्रकाशशरण महत लामो समयदेखि देउवाको नजिक रहेका उनी यस क्याम्पका ‘थिंङ्क ट्याङ्क’ मानिन्छन् । परराष्ट्र मन्त्रीको रूपमा १० महिने अनुभव बटुलिसकेका उनी यस क्याम्पमा पनि अर्थ र विदेश नीतिका विषयमा सल्लाह दिने गर्छन् । ‘मास बेस्ड पोलिटिक्स’मा खासै लोकप्रिय नभए पनि उनी देउवाकै बलमा बेला–बेला मन्त्री हुन्छन् भन्ने आम मूल्यांकन रहेको छ । उनी नुवाकोटका नेता हुन् ।   २. रमेश लेखक व्यवहारमा इमान्दार मानिने रमेश लेखक सुदूरपश्चिममा देउवापछिका लोकप्रिय नेता हुन् । उनी देउवा क्याम्पमा निरन्तर प्रतिबद्ध भएर लागेका छन् । उनी प्रचण्ड सरकारमा भौतिक योजना तथा निर्माण मन्त्री थिए । उनी धेरै विश्वासिला भएकाले यो मन्त्रालय जिम्मा दिइएको पनि चर्चा हुने गरेको थियो । कांग्रेसभित्रका तार्किक नेता लेखकलाई देउवाको सबैभन्दा नजिकका नेता हुन् भनेर बुझ्नेहरू पनि धेरै छन् ।   १. आरजु राणा डा. आरजु राणा शेरबहादुर देउवाकी श्रीमती हुन् । पर्याप्त पढेलेखेको र राम्रो सुझबुझपूर्ण क्षमता भएको हुँदा पनि उनी आफ्ना प्रधानमन्त्री पतिलाई सबै विषयमा सल्लाह दिन सक्छिन् । भन्नेहरू त ‘पतिलाई भन्दा पहिला पत्नीलाई सबै कुरा बुझाउनु पर्छ । अनि मात्र पति देउवालाई भेट्न र सुनाउन पाइन्छ । किचन क्याबिनेटका सदस्यहरूको हालत पनि यही नै हो’ पनि भन्छन् । श्रीमान् देउवालाई अमेरिकासँग सम्बन्ध सुमधुर बनाइदिने जस पनि श्रीमती आरजु राणा देउवालाई नै जाने गरेको छ ।

Logo