मोरङमा निर्वाचनका लागि १३ दल सम्मिलित संयन्त्र गठन

मोरङमा निर्वाचनका लागि १३ दल सम्मिलित संयन्त्र गठन

केन्द्रबिन्दु
0
Shares

विराटनगर, २ असार । मोरङमा शान्तिपूर्ण ढङ्गले भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि राजनीतिक संयन्त्र गठन गरिएको छ ।

दोस्रो चरणको निर्वाचनअन्तर्गत असार १४ गते हुन गइरहेको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार मोरङका १३ दल सम्मिलित ब्ैठकले सो संयन्त्र गठन गरेको हो ।

सो संयन्त्रमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, सङ्घीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरमसहितका दलहरु सहभागी भएका थिए ।

मोरङका एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिकाका ६६९ वटा मतदान केन्द्रमा कुनै प्रकारको समस्या आएमा त्यसलाई तत्काल समाधान गर्ने उद्देश्यले सो संयन्त्रको गठन गरिएको हो । यसका साथै, मतदान प्रक्रियालाई व्यवस्थित गर्न निर्वाचन कार्यालयसँग समन्वयसमेत गर्ने बताइएको छ ।

यसका साथै निर्वाचन आचारसंहितालाई समेत दलहरुले पालना गर्ने विषयमा पनि उक्त बैठकमा छलफल भएको थियो ।

सो अवसरमा मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले स्थानीय तहको निर्वाचनलाई मर्यादित बनाउनमा दलहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले आचारसंहितालाई पूर्णपालना गर्न दलहरुलाई आग्रह गर्नुभयो । रासस

Logo