शिक्षण छाडी गाईपालनमा, मासिक असी हजार आम्दानी

शिक्षण छाडी गाईपालनमा, मासिक असी हजार आम्दानी

केन्द्रबिन्दु
0
Shares

रामपुर (पाल्पा), १ असार । रामपुर नगरपालिका–५ सानीअमराईका वासुदेव ढुङ्गाना शिक्षण पेसा छाडेर गाईपालन व्यवसायमा संलग्न भएका छन् ।

जागिरे जीवनले दैनिक गुजारा चलाउन समस्या परेपछि उनी शिक्षण पेसा छाडेर व्यावसायिक गाईपालनमा लागेका हुन् ।

गाईपालन सुरु गरेपछि उनको दैनिकी नै बदलिएको छ । जागिरमा मात्र आबद्ध रहँदा घरव्यवहार चलाउन निकै समस्या झेलेका ढुङ्गानाले अहिले गाईपालनबाट मनग्य आम्दानी गर्न थालेका छन् ।

पाँच वर्षसम्म शिक्षण पेसाको अनुभव लिएका ढुङ्गानाले जागिर छाडेपछि एउटा स्थानीय जातको गाईबाट व्यवसाय थालेका हुन् । उनको फार्ममा हाल उन्नत जातका १० वटा गाई र दुई वटा बाच्छा छन् । दैनिक ५० लिटर दूध उत्पादन हुन्छ ।

“जागिरले दैनिक गुजारा चलाउन निकै धौ धौ परेको थियो, छोरा छोरीको पढाइ खर्च जुटाउन समस्या भएपछि जागिर छोडेर गाईपालन सुरु गरेको हुँ,” उनले भने ।

उनी अहिले घरमै बसीबसी मासिक रु ७० हजारदेखि रु ८० हजारसम्म आम्दानी गर्दै आइरहेका छन् । उनले घरबाटै दूध बिक्री गरिरहेका छन् ।

“एउटा गाईबाट आठ लिटरसम्म दूध उत्पादन हुन्छ,” ढुङ्गानाले भने । गाईफार्म सँगसँगै दिनभरको फुर्सदको समयलाई उनले सदुपयोग गर्न तरकारी खेती समेत गर्दै आएका छन् । उनी कृषि क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय छन् ।

ढुङ्गानाले मकै बालीमा राष्ट्रियस्तरको दोस्रो पुरस्कार समेत प्राप्त गरेका छन् । व्यवसायलाई निरन्तरता दिने उनको अठोट छ । उनले उन्नत जातका गाई पाल्ने सोच बनाएका छन् ।

उनको व्यवसाय देखेपछि गाउँका अन्यले समेत गाईपालन थालेका छन् ।

जागिरे जीवन बन्धन र परिवारको गुजारा चलाउन नपुग्ने तलबमा भुलेर समय बिताउनुभन्दा कृषि व्यवसाय गरेर आफ्नै मेहनत र पाखुरीमा रमाउन सबैलाई उनी सुझाव दिन्छन् ।

स्नातक तहसम्मको अध्ययन पूरा गरेका ढुङ्गानाले शिक्षित युवालाई जागिरमा सीमित रहनुभन्दा व्यवसाय गरेर नमुना उद्यमी बन्न हौसला प्रदान गर्दै आएका छन् । रासस

Logo