रातारात ‘राष्ट्रवादी’ !

रातारात ‘राष्ट्रवादी’ !

केन्द्रबिन्दु
0
Shares

समाचार टिप्पणी केन्द्रबिन्दु संवाददाता । कामाडौ, १ असार २०७४ । नजिकबाट जान्नेहरू उनलाई सदाबहार राष्ट्रवादी भन्न रुचाउँछन् । – निर्वाचन स्थागित नगरे मुलुक मुठभेडमा जान्छ – राजेन्द्र महतो । – पारिबाट ल्याएका मान्छेले चुनाव रोकेर रोकिँदैन – उपेन्द्र यादव । राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महतो र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवका यी भनाइहरू परस्पर विरोधी लाग्छन् । केही अघिसम्म यी दुई नेताको व्यक्तिगत सम्बन्ध चिसो भए पनि मधेस आन्दोलनको सवालमा फरक राजनीतिक ‘लाइन’ थिएन । अहिले भने राजेन्द्र र उपेन्द्रको सम्बन्ध दुई किनारमा उभिएझैं भएको छ । एउटा चुनाव बहिष्कारमा र अर्को चुनाव सफल बनाउनेमा । राजेन्द्र र उपेन्द्र दुवै मधेसवादी नेता हुन् । त्यसमा पनि उपेन्द्र मधेस आन्दोलनका पर्याय नै हुन् भन्दा फरक पर्दैन । पहिलो मधेस आन्दोलनको नेतृत्व गरेर उनी (माओवादी समेतले तत्कालका लागि छोडिसकेको) संघीयताको मुद्दा ब्युँताउन सफल भएका थिए । मधेसमा उनको व्यक्तित्व अग्लिएको अग्लियै थियो, दोस्रो संविधान सभाको चुनाव अघिसम्म । उनले उपप्रधान तथा परराष्ट्रमन्त्री हुँदा कतिपय उल्लेखनीय काम गरेर स्याबासी समेत पाए । राष्ट्रवादी नेताका रूपमा उनको सक्रियता त्यसबेला पनि धेरैले महसुस नगरेको होइन । गणतान्त्रिक संविधान घोषणा भएपछि भने खुम्चिँदै गएका सबै मधेसवादी दलसँगै उपेन्द्र यादव समेत सडकमा पुगे । संविधान जलाउने, च्यात्ने र बहिष्कार गर्ने कार्यमा उनको पनि नेतृत्व हुन थाल्यो । मधेसमा लामो समयसम्म आन्दोलन चल्यो–चलाइयो । भारतीय नाकाबन्दीको सिकार पनि भयो देश । त्यसबेला पनि आरोप लाग्यो, मधेस आन्दोलनमा सहभागीहरू पारिबाट आएका हुन् वा ल्याइएका हुन् । सोही आन्दोलनमा एकजना भारतीयको गोली लागेर मृत्यु भएपछि उताको सहभागिताको आरोप लगाउनेलाई मलजल मिल्यो नै । तर अहिले आएर भने उपेन्द्र यादव आफैं भिन्न किनारमा उभिन पुगेका छन् र भन्न थालेका छन्– पारिबाट ल्याएका मान्छेले चुनाव रोकेर रोकिँदैन । उनीमाथि प्रश्न जन्मेको छ, पारिबाट मानिस अहिले मात्र ल्याइँदैछ कि पहिलाका आन्दोलनहरूमा पनि ल्याउने गरिएको थियो ? यो गम्भीर प्रश्नको जवाफ ढिलो–चाँडो उपेन्द्रले दिनैपर्छ । चुनावले के गर्छ ? उपेन्द्रले हिजोआज मधेसमा गएर भन्न थालेका छन्, ‘चुनावले परिवर्तनका तमाम एजेन्डालाई संस्थागत गर्छ ।’ त्यसो त परिवर्तनका तमाम एजेन्डामा उपेन्द्र यादवको पनि पसिना मिसिएको छ । मधेसका अन्य नेताको तुलनामा उनैले मधेसी जनताको पक्षमा अधिकार स्थापित गर्न भूमिका खेलेका पनि छन् । स्थानीय निर्वाचनको पहिलो चरणमा नै सहभागी भएर आम मधेसी पार्टीभन्दा भिन्न भएका उनले एक प्रश्नको जवाफमा बडो भावुक हुँदै भनेका थिए, ‘माटोको मायाले चुनावमा भाग लिएँ ।’ उनको यो भनाइपछि उनलाई सकारात्मक भनेर चिन्नेहरू सशंकित भएका छन् भने नकारात्मक भनेर बुझ्दै आएकाहरू सकारात्मक भएका छन् । उनलाई सधैं सकारात्मक देख्नेहरू पनि धेरै छन् । उपेन्द्र यादवका पछिल्ला भनाइ र गराइहरूले उनलाई ‘राष्ट्रवादी’ बनाउँदैछन्, देखाउँदैछन् । यो उनको समयको माग हो वा हृदयको आवाज ? उनका पछिल्ला गतिविधिले सबै कुरा निर्धारण गर्दै लाने छन् । तर, उनको जस्तो व्यक्तित्व मधेसमा अर्को नेताले बनाउन सकेको छैन भन्दा अत्युक्ति नहोला ।

Logo