राजपाको हडतालबीच सुनसरीमा निर्वाचन गतिविधि तीव्र

राजपाको हडतालबीच सुनसरीमा निर्वाचन गतिविधि तीव्र

केन्द्रबिन्दु
0
Shares

इटहरी, ३१ जेठ । पूर्वी जिल्ला सुनसरीमा दोस्रो चरण अन्तर्गत असार १४ गते हुने निर्वाचन सम्बन्धी गतिविधिले तीव्रता पाउन थालेको छ ।

राजनीतिक दलहरूले प्रमुख तथा उपप्रमुख र वडा अध्यक्षसहित सबै पदाधिकारी तथा दलित एवम् महिलाको उम्मेदवारी चयन गरेपछि निर्वाचन सम्बन्धी गतिविधिले तीव्रता पाएको हो ।

चार लाख २१ हजार १५९ जना मतदाता रहेको सुनसरी जिल्लामा दुई उपमहानगर चार नगरपालिका र छवटा गाउँपालिका छन् । निर्वाचनमा यस जिल्लाबाट ६४४ जनप्रतिनिधि छानिएर आउनेछन् ।

केही दलले उम्मेदवार चयनमा ढिलाइ गरेकाले उम्मेदवारलाई प्रचारप्रसारमा हम्मेहम्मे परिरहेको पाइएको छ । हाल प्रचारप्रसारमा नेपाली काँग्रेस, राप्रपा, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले आफ्नो चुनावी गतिविधिलाई तीव्रता दिइरहेका छन् ।

सबै राजनीतिक दलमा भएको ध्रुवीकरण र एकले अर्काको अस्तित्व स्वीकार नगर्ने एवम् विभाजनका कारण निर्वाचनमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।

राजनीतिक विषयलाई थाँती राखेर उम्मेदवार भने हरेक मतदाताको घरदैलोमा पुगेर आफूलाई जिताउन मत माग्ने क्रमसंगै निर्वाचन आचारसंहिता उलङ्घन गर्ने क्रम पनि बढेको छ ।

सबै राजनीतिक दलले आ–आफ्नो वर्चस्व देखाउनका लागि शहर बजारमा आफूखुशी तुल, ब्यानर र झन्डा झुन्ड्याउने, भेस्ट तथा टोपीको प्रयोग गर्ने कामले प्रश्रय पाएको छ ।
उता राजपाले जनभावना विपरीत आन्दोलनको घोषणा गरेसँगै बन्द हडताललगायतका कार्यक्रम अघि बढाए पनि त्यसको प्रवाह नगरी ठूला राजनीतिक दलका नेता तथा समर्थक हुल बाँधेर समूह–समूहमा पार्टीको झन्डा र चुनाव चिन्ह लिएर घर दैलो पुग्ने होडबाजी गरिरहेका छन् ।

कतिपय गाउँ तथा नगर र उपमहानगरस्तरीय प्रतिबद्धता पत्र जारी गर्दै काँगेस, एमाले, माओवादी र राप्रपाले मतदातालाई आफूतिर आकर्षण गर्ने अभियानले तीव्रता पाउन थालेकाले सर्वसाधारणको ध्यान चुनावमा केन्द्रीत हुँदै गएको छ । रासस

Logo