जर्मन मूलका बेलायतीको स्वदेश फर्कने लहर बढ्दो

जर्मन मूलका बेलायतीको स्वदेश फर्कने लहर बढ्दो

केन्द्रबिन्दु
0
Shares

बर्लिन (जर्मनी), ३१ जेठ । बेलायतले युरोपियन युनियनबाट बाहिरिने निर्णय गरेसँगै सन् २०१६ मा जर्मन मूलका बेलायती नागरिकको स्वदेश फर्किने लहर ह्वात्तै बढेको छ ।

जर्मनीको केन्द्रीय तथ्यांक कार्यालयले दिएको जानकारी अनुसार सन् २०१६ मा बेलायत बसोवास गर्दै आएका नागरिक सन् २०१५ को तुलनामा ३६१ प्रतिशत बढी जर्मनी फिर्ता हुनका लागि आवेदन दिएका छन् ।

सन् २०१५ मा नागरिकताका लागि परेको निवेदनमा ८५६ जनालाई नागरिकता प्रदान गरिएकोमा सन् २०१६ मा अहिलेसम्मकै धेरै दुई हजार ८५६ जनाले जर्मन नागरिकता पाएका हुन् । यो गत वर्षको तुलनामा दुई हजार २०० स्वीकृत आवेदकको संख्या हो ।


यसलाई बेलायतले इयूबाट बाहिरिने भनी जनमत संग्र्रहबाट लिएको निर्णयसँग जोडेर हेरिएको जर्मन विश्लेषकले बताएका छन् ।

तथाकथित ‘हार्ड बे्रक्जिट’ को प्रसंग वा बेलायतलाई युरोपिएन युनियन र यसको एकल बजार सम्वन्धी नीतिका कारण कतिपय बेलायती नागरिकताधारी अन्य मूलका व्यवसायीले आफ्नो अधिकार तथा व्यवसायमा समस्या आउन सक्ने देखेपछि जर्मनी वा अन्य युरोपेली मुलुकमा आउने गरेका उनीहरूको विश्लेषण छ ।

सन् २०१६ मा जम्मा एक लाख १० हजार ४०० जर्मन मूलका तर विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका आप्रवासीहरूले आफ्नो निवेदन अनुसार जर्मन नागरिकता पाएका कार्यालयले जनाएको छ । यो गत वर्षको तुलनामा २.९ प्रतिशतको बृद्धि हो ।

पछिल्लो समयमा सबैभन्दा बढी १६ हजार २९० जर्मन मूलका टर्कीवासीले जर्मनीमा बसोबासका लागि अनुमति पाएका थिए । यद्यपि यो संख्या सन् २०१५ को तुलनामा १६.९ प्रतिशत कम हो ।

त्यसैगरी दोस्रो समूहमा पोल्याण्डबाट जर्मनी आउनका लागि निवेदन दिने नागरिक परेका र यो संख्या ६ हजार ६३२ रहेको छ ।

जर्मनी आउन चाहने नागरिकको सरदर उमेर ३३ वर्ष रहेको र उनीहरू सरदर १७ वर्ष भन्दा बढी जर्मनीमा बिताएका पाइएको तथ्यांकमा देखिएको छ ।

यसमा पनि पुरुषको तुलनामा महिला आवेदक बढी अर्थात् ५३.९ प्रतिशत रहेका छन् ।

आवेदकमध्ये झण्डै ६० प्रतिशतभन्दा बढी व्यक्ति युरोपमा बसोबास गर्ने गरेका र २९ प्रतिशत इयुभित्रै रहेका प्रतिवेदनमा छ । रासस/सिन्ह्वा

Logo