लुसाका (जाम्बिया), ३१ जेठ । राष्ट्रपतिको सम्बोधन बहिष्कार गरेको आरोपमा ४८ सांसदलाई ३० दिनका लागि निलम्बन गरेको जाम्बियाको संसदले जनाएको छ ।
राष्ट्रपति एडगर लुङ्गुले गएको मार्चमा निर्वा्चित भएपछि गरेको संसदको सम्बोधनमा प्रतिपक्षी दल युपिएनडीका सांसदले विरोध स्वरूप बहिस्कार गरेका थिए ।
“मैले राष्ट्रपतिको सम्बोधन बहिस्कार गर्ने ४८ सांसदलाई ममाथि निहित कानुनी अधिकारको प्रयोग गरी ३० दिनका लागि निलम्बन गर्ने निर्णय लिएको छु,,” सभामुख प्याट्रिक मातिबिनीले मंगलबार सञ्चारकर्मीलाई बताए ।
निलम्बनमा परेका प्रतिपक्षी दल पार्टी फर युनाइटेड नेसनल डेभलपमेन्ट (युपिएनडी) का नेता हाकुन्दे हिचिलेमाले आफ्ना सांसदविरुद्ध गरिएको कारबाहीप्रति प्रतिक्रिया दिँदै भने, “अझ पनि कसैलाई निरंकुुश शासनका विषयमा शंका छ भने संसदले आफ्ना सांसदमाथि गरेको घटनाको विश्लेषण गर्नुहोस् । ”
प्रजातान्त्रिक अभ्यासअनुसार संसदमा उपस्थित हुने नहुने आफ्नो दलको निर्णय भएको भन्दै उनले सांसदलाई संसदमा विरोध जनाउन अनुपस्थित भएको घटनामा कारबाही गरिनु कहाँको प्रजातन्त्र हो ? उनले प्रश्न गरे ।
सन् १९९१ मा प्राप्त प्रजातन्त्रलाई जोगाउने बेला आएको छ र यसका लागि जाम्बियाली जनताले आफ्नो दललाई सघाउने छन्, हिचिलेमाले सञ्चारकर्मीहरूसित कुराकानी गर्दै भने । रासस/एएफपी
प्रतिक्रिया