लन्डनको २४ तले आवासीय टावरमा भीषण आगलागी

लन्डनको २४ तले आवासीय टावरमा भीषण आगलागी

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ३१ जेठ ।

बेलायती राजधानी लन्डनको पश्चिममा अवस्थित लाटिमर रोडमा रहेको एक २४ तले आवासीय टावर (ग्रेनफेल टावर) मा आगलागी भएको छ । आगलागीमा के कति मानिस हताहत भए भन्ने सूचना प्राप्त नभए पनि प्रत्यक्षदर्शीहरूले केही मानिस भवनभित्र फँसेको बताइरहेका थिए ।

कुल १२० फ्ल्याट रहेको त्यस टावरमा लागेको आगो टाढाबाटै देख्न सकिने र खरानीले परपरसम्म ढाकेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

 

लन्डन एमबुलेन्स सर्भिसका अनुसार ३० जना मानिसलाई अस्पताल पुर्याइसकिएको छ । महानगरपालिका प्रहरीले मानिसहरूलाई भवनबाट सुरक्षित निकाल्ने काम भइरहेको र घाइतेहरूको उपचार भइरहेको जनाएको छ ।

आगो लागेको सूचना स्थानीय समयअनुसार गत मंगलबार राती नै सवा एक बजे प्राप्त भएको थियो । आगो निभाउनका लागि ४० भन्दा बढी दमकल र २०० दमकलकर्मीहरूलाई लगाइएको छ । उनीहरू आगो निभाउनका लागि दशौँ तलासम्म पानी फालिरहेका छन् ।

लन्डनका मेयर सादिक खान आफै उद्धारकार्यमा चनाखो भएर संलग्न भइरहेका छन् ।

बिबिसीका संवाददाता एन्डी मूरले आगो लागेको टावर ढल्ने खतरा बढिरहेको जनाएका छन् । प्रहरीले मानिसहरूलाई पर जान भन्दै सुरक्षा घेरा अझ फराकिलो पार्दै लगेको छ ।

विभिन्न विदेशी टिभी च्यानल र अनलाइनहरूले यो घटनाको निरन्तर प्रत्यक्ष प्रसारण गरिरहेका छन् ।
(एजेन्सीहरूको सहयोग)

 

Logo