रुकुम, २९ जेठ । "/>

मतदान केन्द्रमा पुग्न पाँच घन्टा हिँड्नुपर्ने बाध्यता

मतदान केन्द्रमा पुग्न पाँच घन्टा हिँड्नुपर्ने बाध्यता

केन्द्रबिन्दु
0
Shares

रुकुम, २९ जेठ । आगामी असार १४ गते दोस्रो चरणको स्थानीय तहको निर्वाचमा यहाँको एक मतदान केन्द्रमा पुग्न मतदातालाई पाँच घन्टा पैदल हिँड्नुपर्ने भएको छ । ५ नं प्रदेशमा पर्ने रुकुमको भुमे गाउँपालिका–८ मा रहेको मतदान केन्द्रमा पुग्न त्यहाँका अधिकांश ठाउँका मतदातालाई पाँच घन्टाभन्दा बढी समय हिँड्नुपर्ने बाध्यता भएको हो ।

साविकको रुकुमकोट गाविसको ४ नं वडा र महत गाविसका ७ र ८ वडा मिलाएर बनाइएको भुमे–८ को मतदान केन्द्र साविकको महत गाविस–८, को आधारभूत विद्यालय भोल्टीमा छ ।

सो मतदान केन्द्रमा पुग्न साविकको रुकुमकोट–४, को मैवाङबाट पाँच, झिम्काबाट चार र कुचिवाङबाट तीन घन्टाभन्दा बढी समय पैदल हिँड्नुपर्ने बाध्यता रहेको मैवाङका रत्नलाल बुढाले बताए ।

साविकका दुई गाविसका तीन वडा मिलाएर नयाँ वडा बनाउँदा पायक पर्ने ठाउँमा मतदान केन्द्र नराखिएको त्यस क्षेत्रका मतदाताको गुनासो छ । “जानमात्र पाँच घन्टा लाग्छ अनि आउन पनि त्यति नै समय खर्चनुपर्छ, बुढाले भने, ‘आउन जान १० घन्टा लाग्छ अनि कति बेला लाइन लाग्ने, कति बेला भोट हाल्ने र कतिबेला घर फर्किने । मतदान केन्द्रमा पुगी भोट हालेर सोही दिन घर फर्किने अवस्था नै छैन ।”

सबैभन्दा बढी अपाङ्ग र ज्येठ नागरिकलाई मतदानका लागि मतदानस्थलसम्म पुग्न समस्या भएपनि यसतर्फ सरोकारवाला निकाय कसैले पनि ध्यान नदिएको स्थानीयवासीको गुनासो छ । उकालो, ओरालो र खोलानालाका कारण पनि सजिलै मतदानस्थलसम्म पुग्न सहज नभएको कुचिबाङका गोपाल पुनले बताए  ।

यहाँको भौगोलिक अवस्थाबारे अध्ययन नै नगरी नयाँ वडा बनाएर मतदान केन्द्र कायम गरिएकाले त्यस क्षेत्रमा यस्तो समस्या आएको पुनको भनाइ छ ।

स्थानीय तहको सङ्ख्या तथा सिमाना निर्धारण प्राविधिक सहयोग समितिले गरेको जिल्लाको स्थानीय तह तथा वडाको सिफारिस सही नभएको उनले बताए । जिल्ला निर्वाचन अधिकारी कमलमणि देवकोटाले भने राजनीतिक दलको सहमतिमा उक्त निर्णय भएको बताए। अलि पायक पर्ने भनिएको ठाउँमा विद्यालय नभएकाले पनि उक्त ठाउँमा मतदान केन्द्र कायम गरेको उनको भनाइ छ । रासस

Logo