चितवन, २६ जेठ । "/>

भरतपुर महानगरपालिका–१९ मा फरक शैलीमा चुनावी प्रचार

भरतपुर महानगरपालिका–१९ मा फरक शैलीमा चुनावी प्रचार

केन्द्रबिन्दु
0
Shares

चितवन, २६ जेठ । भरतपुर महानगरपालिका–१९ मा पुनःनिर्वाचन नगर्न/नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै यहाँका राजनीतिक दल फरक–फरक शैलीमा निर्वाचनको प्रचार–प्रसारमा जुटेका छन् ।

निर्वाचन आयोगले मतपत्र च्यातिएकाले पुनः मतदान गर्ने निर्णय गरेसँगै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले तत्कालका लागि पुनः निर्वाचन प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो ।

आदेश जारी भए पनि नेपाली काँग्रेस र माओवादी केन्द्र पुनः मतदान हुने भन्दै घरदैलो अभियान र चुनावी सभामा जुटेका छन् । नेकपा एमालेले भने मतपत्र च्यात्ने विरुद्धमा जनचेतना अभियान भन्दै घरदैलो गरिरहेको छ ।

त्यस वडाका चार स्थानमा काँग्रेस र माओवादीले संयुक्त सम्पर्क कार्यालय स्थापना गरी प्रचारप्रसारमा जुटेका छन् । सोही वडाका माओवादीका वडाध्यक्ष र सदस्य पदका उम्मेदवारले नेपाली काँग्रेसका उम्मेदवारको पक्षमा मत माग्न थालेका छन् ।

ती दुई पार्टीले प्रमुख पदमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल र अन्य पदमा काँग्रेसका उम्मेदवारलाई सघाउने सहमति गरी निर्वाचनमा जुटेका हुन् । एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलले पत्र बनाएर मतदाताको घर÷घरमै पुगेर धन्यवाद ज्ञापन गर्दै मतपत्र च्यात्नेका बारेमा मतदातालाई जानकारी गराउने काम भइरहेको बताए ।

उनले भने, ‘हामी मतगणना हुन्छ भन्नेमा नै छौ, मतदातालाई तपाईको मतपत्र च्यात्ने यो हो भनेर बुझाउने काम भइरहेको छ ।’

‘आफूले दिएको मत कस्ले च्यात्यो ?’ त्यो जान्ने अधिकार जनतालाई भएकाले मतपत्र च्यात्ने विरुद्धको जनचेतनामूलक अभियान मात्रै गरिएको उनले बताए । एमाले कार्यकर्ताले मतपत्र माओवादीले च्यातेकाले फेरि चुनाव भएमा उनीहरूलाई मत दिन नहुने सन्देश मतदाताकहाँ पु¥याएको पाइएको छ ।

तीनवटै दल निर्वाचन भएमा आ–आफ्नो पक्षमा मतदान गर्न प्रचारमा जुटेका हुन् । गएको जेठ १४ गते राति मतगणनास्थलमा गणना हँुदै गर्दा ९० वटा मतपत्र उम्मेदवारका प्रतिनिधिले च्यातेसँगै मतगणना स्थगित भएको थियो । भरतपुर महानगरपालिकामा २९ वटा वडा छन् जसमध्ये वडा नं. १९ को मतगणना हँुदै गर्दा मतपत्र च्यातिएको हो । यो सहित वडा नं. २० को मात्र मतगणना गर्न बाँकी छ ।

दुई वडाको मतगणना गर्न बाँकी रहँदा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार दाहालभन्दा ७८४ मतले अगाडि रहेका छन् ।

वडा नम्बर १९ मा १ हजार ८०० मत गन्दा यो मतान्तर घटेर ७३३ मा झरेको थियो । रासस

Logo