केन्द्रबिन्दु डेस्क । "/>

विराटनगरमा उम्मेदवारको टुंगो नलाग्दा मतदाता सशंकित

विराटनगरमा उम्मेदवारको टुंगो नलाग्दा मतदाता सशंकित

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । विराटनगर, २६ जेठ ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति दुई पटक सारिएको र अहिलेसम्म मुख्य राजनीतिक दलले अन्तिम रूपले उम्मेदवार छान्न नसक्दा मतदाताहरू अलमलमा पर्न थालेको अनुभव गर्न थालिएको छ ।

विराटनगर महानगरपालिका प्रदेश नं–१ को राजनीतिक केन्द्रबिन्दुको रूपमा मानिँदै आएको स्थल हो । उम्मेदवारको निश्चिततामा भइरहेको विलम्बले मतदातालाई कतै पुनः निर्वाचनको तिथि सारिने हो कि भन्ने संशय पनि थपिएको राष्ट्रिय समाचार समितिले उल्लेख गरेको छ ।

नेकपा (माओवादी केन्द्र) ले विराटनगर महानगरपालिकाका प्रमुख, उपप्रमुखलगायत १९ वटै वडाका अध्यक्ष र सदस्यका नाम सार्वजनिक गरिसकेको छ भने नेपाली काँग्रेस, नेकपा (एमाले) सङ्घीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक नेपाल, राप्रपालगायतका दलले अधिकारिक रूपमा उम्मेदवारको टुङ्गो लगाएका छैनन् ।

विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि काँग्रेसबाट सांसद अमृत अर्याल, विश्वनाथ रिजाल, भीम पराजुली र डिला संग्रौलाको नाम चर्चामा छ भने नेकपा (एमाले) बाट पूर्वमन्त्री लालबाबु पण्डित, पार्टीका जिल्ला अध्यक्ष विनोद ढकाल, पूर्वअध्यक्ष महेश रेग्मीलगायतका नाम चर्चामा छन् ।

त्यस्तै विराटनगर महानगरपालिकाको प्रमुखमा राप्रपाबाट पूर्व नगरप्रमुख प्रह्लाद साहको नाम जिल्लाबाट सिफारिस भएको छ भने सङ्घीय समाजवादी फोरम नेपालबाट जयराम यादव, भूराज राई र उमेश यादवको नाम चर्चामा छ ।

यस्तै लोकतान्त्रिक फोरम नेपालबाट भविस श्रेष्ठको नाम अघि सारिएको बताइएको छ । विराटनगर महानगरपालिकामा फोरम लोकतान्त्रिक र सङ्घीय समाजवादीबीच तालमेलको सम्भावना रहेको बताइँदै छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) पनि निर्वाचनमा सहभागी भएमा निर्वाचनमा कडा प्रतिस्पर्धा हुने सम्भावना रहेको मतदाताको बुझाइ छ । विराटनगर महानगरपालिकामा मुख्य राजनीतिक दलका साथै मधेस केन्द्रित दलको पनि राम्रो पकड रहेकाले यस महानगरपालिकाको निर्वाचनको परिणाम बढी रोचक हुने राजनीतिक विश्लेषकहरूले अनुमान गरेका छन् ।

यसैबीच, विभिन्न राजनीतिक दलहरूले निर्वाचनको प्रचारप्रसारलाई तीव्रता दिएका छन् । पार्टीको झण्डा र चुनाव चिन्ह बोकेर दलका प्रतिनिधिहरू सर्वसाधारण मतदाताको घरदैलो पुग्ने कार्यमा खटिएका छन् । मतदाताहरूलाई आकर्षित गर्नका लागि विभिन्न दलले विराटनगर बजारमा मोटरसाइकल ¥यालीसमेत निकाल्ने गरेका छन् ।

Logo