अदिति पौडेलकार्ययोजनाविहीन मन्त्रीहरू !तपाईं किन मन्त्री हुनुभएको हो ?कुनै पनि मन्त्रीलाई यस्तो प्रश्न सोधिन्न । "/>

ओ, मन्त्रीजी ! ‘ब्ल्यू प्रिन्ट’ छ ?

ओ, मन्त्रीजी ! ‘ब्ल्यू प्रिन्ट’ छ ?

केन्द्रबिन्दु
0
Shares

 

अदिति पौडेल

कार्ययोजनाविहीन मन्त्रीहरू !

तपाईं किन मन्त्री हुनुभएको हो ?

कुनै पनि मन्त्रीलाई यस्तो प्रश्न सोधिन्न । ठोकुवाका साथ भन्न सकिन्छ, उनीहरूसँग यस प्रश्नको जवाफ पनि हुने छैन ।

फलाना–फलानालाई किन मन्त्री बनाउनुभयो ? यस प्रश्नको जवाफ स्वयं प्रधानमन्त्रीसँग पनि हुन्न । आफ्नो विश्वासपात्रलाई चाहेको मन्त्रालय दिनुलाई गौरव मान्ने परम्परा स्थापित भइसकेको छ । यदि त्यसो नभएको भए अर्थको ज्ञान नभएकालाई अर्थ मन्त्रालयको जिम्मा लगाइँदैनथ्यो । नवनिर्वाचित अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की राजनीतिशास्त्रका विद्यार्थी हुन् । (यसअघिका दुई अर्थमन्त्री कृष्णबहादुर महरा र विष्णु पौडेल दुवै अर्थको हिसाबमा ज्ञान नभएका मानिन्थे ।)

माओवादीले परराष्ट्र मन्त्रालयको जिम्मेवारी कृष्णबहादुर महरालाई दिएको छ । अर्थको ज्ञान नभए पनि अर्थ मन्त्रालय चलाएका निवर्तमान अर्थमन्त्री महराले १० महिनापछि फेरि किन परराष्ट्र मन्त्रालय पाए होलान् ? यसको पनि भन्न लायक जवाफ छैन ।

गृह मन्त्रीको कुर्सीमा बस्ने बित्तिकै जनार्दन शर्माले आफू यो मन्त्रालयको हकमा अनविज्ञ रहेको बताए । भने– सिपाहीसम्मका कुरा सुनेर नयाँ योजना बनाउँछु । अर्थात्, उनले आफ्नो तयारी योजना सुनाउन सकेनन् वा चाहेनन् ? के उनीसँग कार्ययोजना (ब्ल्यू प्रिन्ट) छ त ? अर्को प्रश्न, उनी यसअघि ऊर्जा मन्त्रीका रूपमा सफल हुन् भने किन त्यस मन्त्रालयमा उनको निरन्तरता भएन ? शर्माले ऊर्जा नचाहेर किन गृह रोजे ? के ऊर्जा मन्त्रालयको काम फत्ते भएको हो अब ?

प्रधानमन्त्री शेरबहादुर देउवासँग सपथ लिने सात मन्त्री कुनैले पनि आफ्नो योजना सुनाएनन् र सुनाउने लक्षण पनि देखिँदैन । स्वयम् प्रधानमन्त्री देउवाले समेत ‘धेरै बोल्दिन, गरेर देखाउँछु’ भनेर योजना नभएको प्रस्ट्याए । गरेर देखाउने कुराको खाका हुन्छ कि हुँदैन ? यसअघि तीनपटक प्रधानमन्त्री हुँदासमेत देउवाले कुनै कार्ययोजना सुनाउन सकेका थिएनन् ।

राजनीतिज्ञहरूलाई लाग्छ, मन्त्री वा प्रधानमन्त्रीको पद नै अन्तिम लक्ष्य हो । त्यसकारण उनीहरू पदका लागि दाम्लो चुडाउँछन् । र, पद पाएपछि अँध्यारोमा ढुंगा हान्न थाल्छन् । कहिलेकाहीँ झटारो सही ठाउँमा बज्रिन्छ र उनीहरू प्रिय पनि बन्छन् । प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको नियति यस्तै देखिएको छ ।

‘ब्ल्यू प्रिन्ट’ भएपछि मात्र मन्त्री हुने पहिलो उत्तरदायित्व सम्बन्धित मन्त्रीको हो । प्रधानमन्त्रीले पनि कार्ययोजना नभएकालाई मन्त्री नबनाउन सक्छन् । सम्बन्धित पार्टीले पनि मन्त्री बनाउन र बन्न योग्य उम्मेदवार छनोट गर्न सक्छ । तर आजका मितिसम्म सवै तह र व्यक्ति नकाम छन् । कार्ययोजना चाहिन्छ भन्ने हेक्का आजसम्मका प्रधानमन्त्री, मन्त्री वा पार्टीहरूलाई भएको पाइन्न ।

अर्को मन दुख्ने व्यवहार सुन्नुपर्छ, हाम्रा प्रधानमन्त्री वा मन्त्रीहरूको । उनीहरू जुनसुकै स्तरका भए पनि वरिपरि सल्लाहकार राख्ने अधिकार हुन्छ । सल्लाहकारको कोटा पूरा गर्दै गर्दा सिंहदरबार, बालुवाटारदेखि निजी निवास पनि भरिन्छ । तर, ती कुनै पनि व्यक्ति सही सल्लाहकार हुन्नन् । मात्र भर्ती केन्द्रका लागि जन्मेका कार्यकर्ता हुन्छन् । जस्तो– पूर्व प्रधानमन्त्री केपी ओलीले विज्ञान तथा प्रविधि सल्लाहकारमा संगीतकार अजय क्रान्तिलाई नियुक्त गरेका थिए । के अजयलाई उनले विज्ञान र प्रविधिको सही सल्लाह दिन्छन् भन्ने आसले राखेका थिए त ?

बिनायोजना सामान्य काम पनि अघि बढ्न सक्दैन । अझ देश चलाउने कुरा त झन् सबैभन्दा अप्ठ्यारो हो । तर कार्ययोजना बिनाका प्रधानमन्त्री र मन्त्रीले देश हाँकिरहेका छन् । देशको सबैभन्दा ठुलो बिडम्बना नै यही हो ।

एउटा नागरिक हुनुको नाताले यही अवस्था सम्झेर ल्याउँदा कन्पारो तात्छ । त्यसैले त खुला मञ्चमा तानेर ल्याएर जनताको अगाडि उभ्याउँदै सोध्न मन लाग्छ –‘ओ, मन्त्रीजी ! देश चलाउने ‘ब्ल्यू प्रिन्ट’ छ ?’

Logo