‘काठमाडौं पर्यटकीय गन्तव्य हो, विकासको नाममा घर भत्काउनु हुँदैन’ -मन्त्री श्रेष्ठ

‘काठमाडौं पर्यटकीय गन्तव्य हो, विकासको नाममा घर भत्काउनु हुँदैन’ -मन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं जस्तो सांस्कृतिक शहरमा विकासको नाममा संरचना भत्काउने काम गर्नु नहुने बताएका छन् । 

आईतवार विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण कार्यको थालनी एवं हनुमान ढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्याधिक महत्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भत्काउन नहुने बताए । पहिलाका भौतिक संरचनाहरुको संरक्षण गर्नसके मात्रै सम्पदाको महत्व रहने भन्दै उनले काठमाडौंलाई पर्यटकीय नगरी बनाउनुपर्ने बताए । 

‘काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै पर्यटकीय गन्तव्य छन्, त्यसैले काठमाडौंको मोडालिटीलाई हामीले परिवर्तन गरेर जानुपर्छ । शहरका पहिलाका घरहरु जस्ता छन् त्यस्तै राख्नुपर्छ । साँघुरो बाटो छ भनेर फराकिलो गर्ने नाममा घर भत्काउने, यसलाई मास्ने कामहरु गर्नुहुँदैन ।’ उनले भने, ‘हिजो जुन खालको यो शहरको बनावट छ, त्यसको अवस्था छ, त्यसको अवस्थालाई संरक्षण र कायम गर्नुपर्छ । त्यसरी नै हामीले यसलाई विश्वमा चिनाउन सक्छौँ । पर्यटन क्षेत्रलाई दिगो बनाउने सन्दर्भमा पर्यटन भ्रमण दशक भनेर घोषणा गरेका छौँ । अब क्रमशः देशको पर्यटनको काम बढ्नेछ, पर्यटनबाट आर्थिकोपार्जन हुनेछ । रोजगारीको लागि कोही पनि मानिस विदेश जान नपर्ने गरी पर्यटन क्षेत्रको विकास गर्नुपर्छ ।’

मन्त्री श्रेष्ठले अहिलेको समाज आधुनिकताको नाम पुराना संस्कृतिलाई भुल्दै जान थालेको बताए । उनले मन्त्रालयले पुरानै शैलीमा संरचनाहरुको स्थापना गर्ने योजना बनाएको बताए । पर्यटकीय संरचना निर्माणसँगै काठमाडौं उपत्यकालाई नै कसरी पर्यटकीय क्षेत्र बनाउने भन्ने बारेमा पनि मन्त्रालयले योजनावद्ध रुपमा काम गरिरहेको उनले बताए । उनले पर्यटकीय क्षेत्रमा पर्यटकीय वातावरण बनाउने योजना बनाएर हघि बढ्न नसक्दा पर्यटकहरुलाई भित्र्याउन नसकेको पनि बताए । 

हनुमान ढोकादेखि स्वयम्भूसम्म २.२ किलोमिटरको सम्पदामार्ग निर्माण हुँदैछ । पर्यटकहरुलाई शान्तिपूर्ण रुपमा अवलोकन गराउने उद्देश्यले यो सम्पदामार्ग निर्माण गर्न लागिएको पनि मन्त्री श्रेष्ठले बताए । यो सम्पदा मार्गमा ट्रेल सञ्चालन हुने र सांस्कृतिक सम्पदा झल्काउने, जन्मदेखि मृत्युसम्मका संस्कार हेर्न सकिने उल्लेख गरे । उनले पुराना सीप, शैली,पेशा, व्यवसायलाई पुनः स्थापित गरी कसरी रोजगारी सिर्जना गर्ने भन्नेबारेमा सोच्न जरुरी रहेको बताए । 

मन्त्री श्रेष्ठले काठमाडौंका पर्यटकीय स्थानको भ्रमणका लागि पर्यटकहरुलाई घुमाउन ४० जना जनशक्ति सञ्चालन गरेको बताए । पर्यटकहरुले शान्तिपूर्ण रुपमा यात्रा गर्न नपाएको गुनासो गरिरहेको भन्दै उनले यो सम्पदा मार्गमा सम्भव भएसम्म मोटरसाइकल, अन्य सवारी चल्न नदिने गरी निर्माणको व्यवस्था गरेको बताए । 

Logo