दोधारमा कांग्रेस : देउवा र रामचन्द्रबीच किन कित्ताकाट ? (भिडियाेसहित)

दोधारमा कांग्रेस : देउवा र रामचन्द्रबीच किन कित्ताकाट ? (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरुद्धमा नेपाली कांग्रेस पनि सडक संघर्षमा छ । उसले यसअघि प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेकोमा अस्ती शनिबार त्यो भन्दा अझ तल झर्दै प्रदेश सभाका निर्वाचन क्षेत्रहरुमा विरोध सभाहरु गर्यो ।

प्रतिगनमनविरुद्ध भन्दै गरेको आन्दोलन भए पनि यो केका लागि हो नेताहरुका अभिव्यक्ति र सभापति शेरबहादुर देउवाको भूमिका देख्दा केही अचम्म लाग्दो छ । एकातिर सरकारको विरोध भनेको छ, अर्कोतिर देउवा भित्रभित्रै चुनावतर्फ आकर्षित भइरहेका छन् । उनले शनिबार पनि काठमाडौंको कार्यक्रममा चुनावलाई ‘सर्बोच्च अदालत भन्दा ठूलो जनताको अदालत’ भने । त्यस्तो जनताको अदालतमा जानका लागि कांग्रेस डराउन नहुने उनको धारणा थियो । उनकै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला लगायत भने प्रतिनिधिसभा विघटनको निर्णय सच्याउने दिशामा केन्द्रित हुनु पर्ने भन्दै आएका छन् । देउवाको फोकस आन्दोलनलाई चर्काउने भन्दा चुनावी तयारी गर्ने तर्फ केन्द्रीत छ । उनी निकटका नेताहरुले त्यस्तै धारणा पनि व्यक्त गर्दै आएका छन् । देउवा किन चुनाव चाहन्छन् ? उनको आगामी रोडम्याप के छ ? अनि कांग्रेसभित्र देउवाका प्रतिद्वन्द्वी पौडेल किन प्रतिनिधिसभा पुनर्स्थापना मात्र भन्दैछन् ? उनको रोडम्याप के छ ?

देउवा किन चुनाव भन्छन् ?

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले दुई चरणको विरोध प्रदर्शन गरिसक्यो । केन्द्रीय कार्यसमितिको बैठक बसेर विरोध प्रदर्शन गर्ने भयो । त्यो विरोध प्रदर्शनमा देउवा धेरै इच्छुक थिएनन् । उनले बैठकमै नेताहरुलाई भने विरोध प्रदर्शन सर्बोच्च अदालतमा विचाराधिन प्रतिनिधिसभा विघटनको बारेमा नबोलि गरौ । यसमा कांग्रेसको देउवाविरोधी पक्षका नेताहरुले विरोध गरे । विरोधको स्वरुप कहाँ केन्द्रीत गर्ने भन्ने पछि बहस भयो । यदी विरोध गर्ने हो भने त्यसलाई एउटै ठाउँमा संगठित गरेर शक्ति प्रदर्शन गर्ने भन्दा निर्वाचन क्षेत्र केन्द्रीत गर्ने भन्ने सहमति थियो । त्यही अनुसार पहिले प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमा विरोध भयो । त्यसपछि गत शनिबार प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा विरोध गर्यो । ती दुबै प्रदर्शनमा देउवाले जनतामा जाने कुरालाई अन्यथा लिन नहुने, बरु ओलीलाई चुनाव गराउनै पर्ने बाध्यता सिर्जना तर्फ लाग्नुपर्ने बताए ।

देउवाले अहिले संसद पुनर्स्थापना भन्दा प्रतिनिधिसभाको नयाँ चुनाव भन्नुका पछाडि अहिले ठूलो मात्रामा विजय हासिल गर्न सकिन्छ भन्ने उनको आंकलन हो । गएको चुनावमा कम्यूनिष्ट पार्टीको गठबन्धन बन्दा चुनाव हारिएको उनको बुझाई छ । अहिले कम्यूनिष्ट पार्टी छिन्नभिन्न भएको अवस्थामा तात्तातै चुनाव भए सबै ठाउँमा कांग्रेसले जित्ने, उस्तै पर्दा एकल बुहमत आउने बुझाई देउवा पक्षका नेताहरुको छ । चुनावमा कम्युनिष्ट पार्टीका दुईटा पक्षहरु आपसी विरोध गर्ने, त्यो बेलामा कांग्रेसतर्फ धेरै भोट जान सक्छ । त्यति मात्र होइन, सरकारले राम्रो काम गरेको छैन, कम्युनिष्टहरुले स्थिरता दिन्छु भनेका थिए, ३ बर्षमा संविधान समेत धरापमा पारे भन्ने एजेण्डा पनि बोकेर जान सकिन्छ । त्यसैले जति छिटो चुनाव भयो त्यति बढी फाइदा लिन सकिन्छ भन्ने देउवाको बुझाई छ । जति ढिलो चुनाव भयो त्यति अहिलेको माहौल सेलाउन थाल्छ । कम्युनिष्टहरु फेरि चुनावी गठबन्धन गरेर उत्रिन सक्छन् । त्यो बेलामा कांग्रेसलाई फाइदा नहुन सक्ने अवस्था रहन्छ । देउवाले चुनाव भन्नुको पछाडि यो एउटा कारण हो ।

अर्को कारण यदी तत्काल चुनावमा जाने भयो भने पार्टीको महाधिवेशन अझै केही समय सार्न पाइन्छ । चुनावी काममा लाग्ने भएपछि तत्काल महाधिवेशन गर्न सम्भव हुँदैन । महाधिवेशनमा अहिले देउवाविरुद्ध सबै उत्रने तयारी गरेकाले उनलाई समस्या बढेको छ । त्यही भएर यदी चुनावमा जान पायो भने महाधिवेशनका लागि अनुकुल वातावरण बनाउन समय पाउन सकिन्छ भन्ने देउवा पक्षहरुको भनाई छ । चुनाव भईहाल्यो भने, अहिलेको भन्दा पक्कै पनि कांग्रेसको पोजिसन बलियो हुन्छ । उस्तै परे बुहमत समेत आउँछ । चुनावबाट पार्टीलाई बलियो बनाएपछि पार्टीलाई जिताएको सभापति भन्ने आधारमा महाधिवेशन आफ्नो लागि सहज हुन सक्ने देउवाले ठानेका छन् । त्यसैले पहिले चुनावबाट शक्ति आर्जन गर्ने त्यसपछि महाधिवेशनबाट सभापति दोहोरिने देउवाको दाउ छ । यही रोडम्याप लिएर देउवा अहिले संसद पुनर्स्थापना भन्दा चुनावतर्फ छन् ।

पौडेल किन पुनर्स्थापना भन्छन् ?

सभापति देउवाले चुनावतर्फ आँखा लगाएका बेला पौडेल प्रतिनिधिसभाको पुनर्स्थापनामा केन्द्रीत छन् । पौडेल प्रधानमन्त्री केपी ओलीले संविधानको विपरित गएर प्रतिनिधि सभा विघटन गरेको भनेका छन् । त्यसैले कांग्रेस लोकतान्त्रिक मूल्य मान्यताको पक्षमा उभिनु पर्ने भएकाले यो बिषयलाई बोकेर हिड्नु पर्छ भन्दै आएका छन् । उनले पुनस्र्थापनामै जोडबल गर्नुको पछाडि के कारण छ भने लोकतान्त्रिक मुल्य मान्यता, विधि पद्धति, अनुशासनलाई पौडेल देउवा भन्दा बढी निष्ठा राख्छन् । किनकी उनको नाम अहिलेसम्म यस्ता बिषयमा कहिल्यै आलोचना भएको छैन । त्यसैले संविधानको विपरित भएको कुरा सबै राजनीतिक तह र सर्बोच्च अदालतका पूर्वप्रधानन्यायाधिशहरुले पनि व्यक्त गरेको बेला कांग्रेस दुविधामा बस्न नहुने उनको कुरा हो ।

अर्को कारण के हो भने, देउवाले चुनावलाई देखाएर महाधिवेशन टार्न खोजेको रुपमा पौडेल छन् । चुनाव भए महाधिवेशन सार्ने र त्यसपछि आफू शक्तिशाली भएर आउने देउवाको रोडम्याप पौडेलले बुझेका छन् । त्यसैले जति महाधिवेशन ढिलो भयो त्यति आफू पछि परिने पौडेलेले ठानेका छन् । महाधिवेशन तत्काल भइहाले देउवाले विपक्षीको भूमिका राम्रो खेल्न नसकेको, सरकारसँग मिलेर विभिन्न नियुक्तिहरुमा भागबन्डा गरेको लगायतका कुरा उठाएर महाधिवेशनमा आफ्नो पक्षमा माहौल बनाउन सकिने पौडेलले ठानेका छन् ।

यदी महाधिवेशन पछि धकेलियो भने देउवाका अहिलेका सबै कमजोरीहरुलाई एजेण्डा बनाउन गाह्रो पर्न सक्छ । चुनावपछि महाधिवेशन गर्दा नयाँ सन्दर्भमा पार्टीलाई शक्तिशाली बनाएको जस देउवातर्फ जान्छ । त्यो बेला आफू कमजोर हुने बुझाई पौडेलको छ ।

देउवा र पौडेलको यही आ–आफ्नो स्वार्थले गर्दा अहिले कांग्रेसभित्र संसद पुनर्स्थापना कि चुनाव भन्नेमा दोधारे अभिव्यक्ति आइरहेको देखिन्छ ।

Logo