सरकार देशका लागि बोझ बनिसक्योः प्रदीप ज्ञवाली

सरकार देशका लागि बोझ बनिसक्योः प्रदीप ज्ञवाली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकार देशका लागि बोझ बनिसकेको बताएका छन्। तत्काल ढाल्न सक्ने अवस्था पनि नरहेको भन्दै उनले गठबन्धन सरकारका कारण मुलुक बहुआयामिक सङ्कटतिर धकेलिँदै गएको बताएका हुन्।

प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले सरकार ‘मल्टिपल अर्गान फेलियर’ हुन लागेको मान्छे जस्तो अवस्थामा पुगिसकेको बताए।

‘मेडिकल ट्रममा एउटा अवस्थालाई मल्टिपल अर्गान फेलियर भनिँदो रहेछ। एउटा रोग लागेर मान्छे अस्पताल भर्ना हुन्छ, त्यसको उपचार गर्दागर्दै अर्कोतिर, फेरि अर्कोतिर हुँदै सबै अङ्गले काम गर्न छोडेर मान्छे मृत्युको मुखतिर धकेलिन्छ। यतिबेला मुलुकको अवस्था झण्डै झण्डै मल्टिपल अर्गान फेलियरको दिशातिर गएको छ,’ उनले भने।

ज्ञवालीले देशको बाह्य सम्बन्धहरू असाध्यै नराम्रोसँग बिग्रिएको, अर्थतन्त्र विकराल अवस्थाबाट गुज्रिरहेको, भ्रष्ट्राचार बढेको, समाजमा नैराश्यता बढेको, युवा पलायन बढेको, देश बन्दैन भन्ने भाष्य र नकारात्मक मनोविज्ञान बढेको बताए।

‘नेपालको स्वतन्त्र, असंलग्न, सन्तुलित नीतिमाथि गम्भीर विचलनहरू उत्पन्न भएका छन्। सत्ता टिकाउनका निम्ति जस्तोसुकै शक्तिहरू, पक्षहरूसँग पनि सौदाबाजी गर्ने सरकारको नीतिले गर्दा हाम्रो बाह्य सम्बन्ध र राष्ट्रहितमाथि आघात पुगेको छ,’ ज्ञवालीले भने।

Logo