पदको दुरुपयोग गर्ने जनप्रतिनिधिविरुद्ध जनता अदालत जान सक्नुपर्छः महालक्ष्मी उपाध्याय ‘डिना’

पदको दुरुपयोग गर्ने जनप्रतिनिधिविरुद्ध जनता अदालत जान सक्नुपर्छः महालक्ष्मी उपाध्याय ‘डिना’

केन्द्रबिन्दु
0
Shares

मकवानपुर । नेपाली कांग्रेसको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले आफूले चुनेको जनप्रतिनिधिले के काम गरे भनेर जनताले प्रश्न गर्न सक्नुपर्ने बताएकी छन् ।

मकवापुरको बकैया गाउँपालिकास्थित कुन्चिपोकल आहाले सिमात खानेपानी योजनाको शिलान्यासको अवसरमा सहमहामन्त्री उपाध्यायले जनप्रतिनिधिले काम नगरेको भन्दै भएको बढ्दो गुनासोप्रति अब जनताले आफ्नो अधिकार प्रयोग गर्नुपर्ने बताएकी हुन् ।

‘केन्द्र सरकारले यो क्षेत्रमा विभिन्न योजनाका लागि करोडौं रकम हालिसकेको छ । तर, यहाँ खानेपानीकै समस्या हुँदा विगतमा यहाँबाट निर्वाचित भएर गएका जनप्रतिनिधिले के गरेछन् यो जनताले बुझ्नुपर्छ की पर्दैन ? तर जनता मौन छन् ।’ उनले भनिन्, ‘आमजनतालाई जनप्रतिनिधिले के गरे भन्ने प्रश्न गर्ने अधिकार रहन्छ, जुन हामीले संविधानमा लेखेका छौं । जनताको अधिकारलाई सुनिश्चित गरेका छौं । अब जनताले आफ्नो अधिकार प्रयोग गर्नुपर्यो । आफ्नो मतको दुरुपयोग गर्ने जनप्रतिनिधिविरुद्ध अदालतमा पनि जान सक्नुपर्छ ।’

मकवानपुरको आमूल परिवर्तनका लागि आफूसँग योजना भएपनि जनताले नपत्याएकोमा सहमहामन्त्री उपाध्यायले गुनासाे पनि पोखिन् । ‘केन्द्रमा पुगेपछि मैले यस्तो योजना बनाएको थिएँ मकवानपुरको आमूल परिवर्तनका लागि । त्यसपछि चुनाव उठ्न आएँ । सांसद मात्र बन्न आएको थिइनँ । जनताको विकासको लागि आएको हुँ भन्दा पनि मलाई पत्याएनन् ।’

उनले पार्टीमाथि अन्तर्घात गर्नेलाई कारबाही हुनुपर्ने पनि बताइन् । ‘आफ्नै पार्टी, आफ्नै रुख चिन्ह लिएर जित्ने अनि रुखकै विरुद्धमा भोट खसाल्नेलाई अब गाउँगाउँबाट लखेट्ने की नलखेट्ने यो मेरो प्रश्न हो । यस्ता गद्धारलाई पार्टी नेतृत्वले पार्टीकै चुनावबाट ठेगान लगाउनुपर्छ ।’

Logo