संसदीय क्यालेण्डर अनुसार अघि बढ्न चाहेपनि सफल हुन सकेनाैं -सभामुख घिमिरे

संसदीय क्यालेण्डर अनुसार अघि बढ्न चाहेपनि सफल हुन सकेनाैं -सभामुख घिमिरे

केन्द्रबिन्दु
0
Shares

सभामुख देवराज घिमिरेले संसदीय क्यालेण्डर अनुसार अघि बढ्न चाहेको भएपनि व्यवहारिक रुपमा सफल हुन नसकेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा संसदीय समितिका सभापतिहरुसँग भएको छलफलमा सभामुख घिमिरेले अब संसदलाई प्रभावकारी तरिकाले अगाडि बढाउन ‘क्यालेण्डर फिक्स’ गर्ने र त्यसअनुसार चल्न वातावरण सिर्जना गर्ने कुरामा अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘अहिलेसम्म संसदीय क्यालेण्डर अनुसार अगाडि जाने प्रयासहरु भएपनि व्यवहारिक हुन सकेको छैन । अबको संसदलाई प्रभावकारी तरिकाले अगाडि लानको लागि क्यालेण्डर फिक्स गर्न र सोही अनुसार चल्ने वातावरणहरु बनाउनु पर्छ । र सोही अनुसार चल्नुपर्छ ।’

यस्तै, उनले समितिहरुलाई विभिन्न दातृ संस्थाहरुले सहयोग गरेको भन्ने विषय बाहिर आएको भन्दै समितिलाई चाहिएको सहयोग सचिवालयबाट नै लिनु राम्रो हुने बताए ।
संसदीय समितिमा विचाराधिन विधेयकहरु छिटो भन्दा छिटो संसदमा पेस भए सदन चलाउन सहज हुने पनि उनको भनाई छ ।

त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले संसदलाई एउटा कार्यदिशा नयाँ रूपले लिएर जानका लागि क्यालेण्डर बनाएर जाने विषयमा छलफल भएको बताए । उनले एउटै विषय विभिन्न समितिले हेर्ने र एकैदिन मन्त्रीहरुलाई तीन/चारवटा समितिमा बोलाउँदा नभ्याउने गरेकाले त्यस विषयमा पनि छलफल भएको बताए ।

उनले भने, ‘अब संसदलाई नयाँ रूपले लिएर जानका लागि क्यालेण्डर बनाउने, सबै पार्टीका प्रमुख सचेतकहरुसँग बसेर क्यालेण्डरलाई अन्तिम रुप दिने, विशेष गरी विधेयकहरु समितिबाट छिटो भन्दा छिटो ल्याइ सदन चलाउन सहज बनाउने विषयमा विस्तृत छलफल भयो ।’

साथै समितिहरुको क्षेत्राधिकार र मुद्दा हेर्ने सवालमा पनि छलफल भएको खतिवडाले जानकारी दिए ।

Logo