मध्यपहाडका समस्याबारे एमालेले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

मध्यपहाडका समस्याबारे एमालेले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नेकपा एमालेले मंसिर १४ देखि पुस १ गतेसम्मको ‘झुलाघाट–चिवाभञ्ज्याङ संमृद्धिका लागि संकल्प यात्रा’ का क्रममा जनताका माग र पार्टीले अनुभूति गरेका विषयहरूलाई समेटेर सरकारलाई लिखितरुपमा ध्यानाकर्षणपत्र बुझाएको छ।

यात्राका क्रममा आएका मागपत्र र विषयहरूलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू मंगलबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।

अध्यक्ष ओलीले यात्राका क्रममा प्राप्त माग, सुझाव र अनुभूतिहरूसहितको ध्यानाकर्षण पत्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको र त्यही विषयमा छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

एमालेले यात्राका क्रममा विभिन्न राजनीतिक दल, उद्योगी–व्यवसायी, पालिकाहरू, स्थानीयवासी र सरोकारवालाले पेश गरेको पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक तथा आर्थिक विकासका विविध एजेण्डाहरु जस्ताको त्यस्तै सरकारसम्म पुर्याएको जनाएको छ।

‘मध्यपहाडी क्षेत्रमा विकास निर्माणका कार्यहरु ठप्प भएको देखिएको छ । बजेट विनियोजनमा विभेद भएको, भूकम्पपछिको पुनस्थापनामा सरकारले ध्यान पुर्याउन नसकेको, बसाइँसराई तीब्र रुपमा बढिरहेको जस्ता गुनासाहरु आएका थिए,’ उपमहासचिव ज्ञवालीले भने, ‘यी र अन्य सयौँ विषयहरु प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छौँ।’

उनले एमालेको यात्रालाई देशभरिबाट उत्साहजनक जनसमर्थन मिलेको भन्दै आफूहरुले त्यसलाई गणतन्त्र र वर्तमान संविधानको पक्षमा आएको समर्थन भनेर बुझेको बताए।

ज्ञवालीका अनुसार जवाफमा प्रधानमन्त्री दाहालले एमालेले यात्राका क्रममा संकलन गरेका सुझावहरूलाई सरकारले गम्भीररुपमा ग्रहण गर्ने बताएका थिए। उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री दाहालले एमालेले दिएका सुझावहरु, मागहरु कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको बताए।

Logo