जनताका कुरा सुन्न समुदायमा कांग्रेस अभियान

जनताका कुरा सुन्न समुदायमा कांग्रेस अभियान

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७४३ वटै वडासम्म पुगेर जनताका कुरा सुन्ने ‘समुदायमा कांग्रेस’ अभियान घोषणा गरेको छ। पार्टीको यसअघिकै निर्णयबमोजिम केन्द्रीय कार्यालयले पहिलो चरणमा माघ १३ देखि २६ गतेसम्म अभियान सञ्चालन गर्न लागेको जनाएको छ।

केन्द्रीय कार्यसमितिले सञ्चालन गर्न लागेको अभियानअन्तर्गत ७ प्रदेश, ७७ वटै जिल्ला, ७५३ वटै स्थानीय तह र ६७४३ वटै वडामा प्रतिनिधि खटिँदैछन्। पार्टीका केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू समेत गाउँ–गाउँ पुग्ने र जनताका समस्या, गुनासा र सुझाव सुन्ने कार्यक्रम तय भएका छन्। अभियानका क्रममा कांग्रेसले तीनै तहका सरकारसँगका जनताका अपेक्षा, सुझाव र गुनासो सुन्ने केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए।

‘अभियानका क्रममा तीनै तहका सरकारसँगका जनताका अपेक्षा, सुझाव र गुनासा सुन्छौँ,’ केन्द्रीय सदस्य शिवाकोटीले भने, ‘जनताबाट प्राप्त सुझावलाई तत् तत् तहका सरकारमा पुर्याउने, पार्टी सरकारमा रहेका ठाउँमा सरकारको नीति कार्यक्रममा समावेश गरी कार्यान्वयनमा अग्रसरता लिने र प्रतिपक्षमा रहेका ठाउँमा समाधानका लागि पहलकदमी लिने काम गछौँ।’
पार्टीसँग सम्बन्धित सुझावहरु, गुनासा र सल्लाहहरु प्राप्त भएकोमा पार्टीले आगामी महासमिति बैठकमा छलफलको विषय बनाएर अघि बढ्ने उनको भनाइ छ।

अभियानले संविधानको भावनाअनुसार समुदायका बीचको सद्भाव र सम्बन्ध प्रगाढ बनाउने गरी जनसंवाद र छलफल गर्ने कांग्रेसले जनाएको छ। अभियानका लागि प्रत्येक प्रदेशमा केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी वा पार्टीका नेताले अभियानको प्रादेशिक समन्वय गर्ने र संयोजन गर्नेछन् भने जिल्लाका लागि केन्द्रीय सदस्यहरुलाई परिचालन गर्ने तयारी छ।

अभियानअन्तर्गत माघ १३ र १४ गते सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पुगेर जिल्ला कार्यसमितिको विस्तारित बैठक बसाउने कार्यसूची छ भने अभियानको प्रारुप, उदेश्य र कार्यक्रमका विषयमा छलफल गर्ने र प्रतिनिधि तोक्न परिपत्र गरिएको छ।
त्यस्तै, माघ १५ गते ६७४३ वटै वडा कार्यसमितिको बैठक बस्ने र माघ १६ गते शहिद दिवसको अवसर पारेर ६७४३ वटै वडामा समुदायमा कांग्रेस अभियान प्रारम्भ हुने केन्द्रीय सदस्य शिवाकोटीले जानकारी दिए।

उनका अनुसार वडास्तरमा माघ १६ देखि २४ गतेसम्म विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् भने माघ २६ गते सुशील कोइराला स्मृति दिवसका दिन सबै जिल्लामा अभियानको पहिलो चरणको समापन हुनेछ। अभियानका क्रममा वडाको पायक पर्ने ठाउँमा कम्तिमा एक पटक वडाबासीसँग सार्वजनिक छलफल गर्ने र त्यसमार्फत् जनताका अपेक्षा, गुनासा र सुझाव सुन्ने कार्यक्रम गर्नुपर्ने केन्द्रीय कार्यालयको परिपत्र छ।

त्यस्तै, नागरिक समाज, शिक्षक, प्राध्यापक, आमा समूह, युवा क्लब, कृषक समूहदेखि समाजका सबै समूहसँगसमेत छलफल गर्न र उनीहरुका कुरा सुन्न केन्द्रीय कार्यालयको परिपत्र छ। त्यसक्रममा वडामा सेवा प्रवाहको अवस्था, स्वास्थ्य चौकी, विद्यालय, विकास निर्माण लगायत क्षेत्रमा भइरहेको गतिविधिको अवस्था बुझ्ने र जनताका कुरा सुन्ने जनाइएको छ।

त्यस्तै, अभियानका क्रममा वृक्षारोपण, सम्पदा सरसफाई, नदीनाला सरसफाई, शिक्षा शिविर, स्वास्थ्य शिविर, रक्तदान, श्रमदान वा स्वास्थ्यसँग सम्बन्धित कुनै न कुनै कार्यक्रम तय गरी कार्यक्रम गर्न कांग्रेसको परिपत्र छ अभियानका क्रममा हुने कार्यक्रममा आसन ग्रहण र भाषणका कार्यक्रम नहुने कांग्रेसको भनाइ छ।

कांग्रेसले यही अभियान यसअघि पुसमै सञ्चालन गर्ने भनेपनि राष्ट्रिय सभा निर्वाचनलाई कारण देखाएर सभापति शेरबहादुर देउवाले स्थगित गर्न रुलिङ गरेका थिए। केन्द्रीय समिति बैठकले निर्वाचनपछि अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

Logo