मेची–महाकाली यात्रामा निस्किँदै गगन थापा

मेची–महाकाली यात्रामा निस्किँदै गगन थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभाका सदस्य गगन थापाले मेची–महाकाली संवाद यात्रा गर्ने भएका छन् । जनताका गुनासा र सुझाव सुन्न तथा पार्टीका कार्यकर्ताहरुसँग साक्षात्कार गर्न महामन्त्री थापाले पूर्वमा मेचीदेखि पश्चिमको महाकालीसम्म यात्रा गर्न लागेका हुन्।

पार्टीले घोषणा गरेको ‘समुदायमा कांग्रेस’ अभियानको क्रममा उनले आफू पूर्व–पश्चिम यात्रामा निस्किन लागेको बताएका छन्।‘अब तपाईसँग मेरो भेट तपाईकै गाउँमा, तपाईकै ठाउँमा हुनेछ,’ मंगलबार थापाले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘समुदायमा कांग्रेस अभियानअन्तर्गत म माघ १३ गते झापाको भद्रपुर–५, मेचीपुल भन्सारबाट तपाईसँगको संवाद यात्रामा हुनेछु।’

पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म महामन्त्री थापाले हुलाकी राजमार्ग वरपर भएर यात्रा गर्न लागेका छन्। कांग्रेसको आन्तरिक राजनीतिमा युवा पुस्ताबाट लोकप्रिय मतसहित पार्टीको नेतृत्वमा उदाएका महामन्त्री थापा गएको संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवासँग प्रत्यासी बनेका थिए।

निकटस्थ नेताहरूका अनुसार थापा अब पार्टीको सभापति बन्ने तयारीमा छन्। यो यात्रालाई त्यसकारण पनि महत्वका साथ हेरिएको छ। महामन्त्री थापाले समुदायमा कांग्रेस अभियानका क्रममा हुने कार्यक्रमहरूमा सहभागी भएर जनताका कुरा सुन्ने बताएका छन् । यात्राका क्रममा औपचारिक कार्यक्रमहरु नगर्ने उनको घोषणा छ एक जिल्लामा कम्तिमा ५ वटा कार्यक्रममा सहभागी हुने र सकेसम्म धेरै सर्वसाधारणका कुरा सून्ने उनको तयारी छ।

महामन्त्री थापाले यात्राका क्रममा झापादेखि मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसम्म पुग्ने कार्यक्रम रहेको छ।
संवाद यात्रा माघ २६ गते सकिनेछ।

Logo