माओवादीका पूर्वब्रिगेड कमाण्डर मार्शल पक्राउ

माओवादीका पूर्वब्रिगेड कमाण्डर मार्शल पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। हाल नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय सदस्य रहेका माओवादी पूर्वब्रिगेड कमान्डर जितमान पुन (मार्शल) पक्राउ परेका छन्। रुकुम पूर्वको भुमे गाउँपालिका–१ का पुनमाथि २०५३ सालमा चरेस ओसारपसारसम्बन्धी मुद्दा चलेको थियो।

सो मुद्दामा जिल्ला अदालत दाङले साढे दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकेको थियो। सोही मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको हो। अदालतले पुनलाई डिल्लीबजार कारागार पठाएको छ।

पुनलाई पक्राउ गरिएको विषयमा पूर्वप्रधानमन्त्री एवम् नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले जनयुद्धकालीन मुद्दामा पुनलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन्।

‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जितमान पुन ‘मार्शल’ लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ। हामी यो घटनाको तीव्र भ्रत्सना गर्दछौँ,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले यसबारे तुरुन्त आवश्यक कदम चाल्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह समेत गरेका छन्।
पुन ०७४ सालको निर्वाचनमा रुकुम पूर्वबाट बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिबाट उम्मेदवारसमेत थिए।

Logo