काेशीमा चम्पालाई एमालेकी रुक्मिणीले दिइन् चक्मा, अन्य प्रदेशबाट कुन दलका काे विजयी भए ?

काेशीमा चम्पालाई एमालेकी रुक्मिणीले दिइन् चक्मा, अन्य प्रदेशबाट कुन दलका काे विजयी भए ?

माओवादी पहिलाे दल बन्दा तेस्राेमा झर्याे एमाले

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको निर्वाचनको अन्तिम परिणाम अनुसार सत्ता गठबन्धनका १८ उम्मेदवार निर्वाचित भएका छन्। तर, एक ठाउँमा एमालेकी उम्मेदवार विजयी भएकी छन्।

कोशीमा सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई पराजित गर्दै एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन् । एमाले र राप्रपाको समर्थन पाएकी कोइराला ५ हजार ८६ मतभार पाउँदै निर्वाचित हुँदा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार मात्रै पाइन् । तर, कोशीमै गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कृष्ण सिटौला भने विजयी भएका छन्। उनले राप्रपाका उद्धव पौडेललाई पराजित गरेका हुन्। सिटौला पौडेलभन्दा ७ सय ३० धेरै मतभारले विजयी भएका छन्।

मधेस प्रदेशको दुई सिटमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका छन्।

बागमतीमा सत्ता गठबन्धनकै चार जना उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी, अन्यतर्फ कांग्रेसकै जितजङ्ग बस्नेत, अपाङ्गतातर्फ माओवादीका कृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भएका हुन्।

गण्डकीमा पनि गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। अन्य क्लस्टरमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, महिला क्लस्टरमा नेकपा माओवादीबाट मनरुपा शर्मा र अपाङ्गता क्लस्टरमा नेपाली कांग्रेसका पदम परियार निर्वाचित भएका हुन्।

लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन्। महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादीका झक्कुप्रसाद सुवेदी विजयी भए।

यस्तै कर्णालीमा पनि गठबन्धनका तीनै जना उम्मेदवार विजयी भए। कर्णालीमा अन्यतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल र दलिततर्फ माओवादी केन्द्रका विष्णुबहादुर विक विजयी भएका छन्।

सुदूरपश्चिममा पनि गठबन्धनकै तीन जना उम्मेदवार विजयी भएका छन्। महिलातर्फ माओवादीकी रेनु चन्द, अपाङ्गतातर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भएका हुन्।

आउँदो फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने भएपछि आज निर्वाचन भएको हो।

निर्वाचन सम्पन्न भएसँगै सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बनेको छ । बिहीबार भएको निर्वाचनमा उम्मेदवारी दिएका ६ जनामध्ये ५ जना निर्वाचित भएपछि माओवादी राष्ट्रिय सभामा पहिलो दल बनेको हो । १९ सिटका लागि भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित भए । माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका दुई तथा जनता समाजवादी पार्टी र नेकपा एमालेका १/१ जना निर्वाचित भए । यो चुनावी परिणामले राष्ट्रिय सभामा रहेको दलीय समीकरण फेरिएको हो ।

अब राष्ट्रिय सभामा माओवादीका १७ जना सदस्य हुनेछन्। अहिले राष्ट्रिय सभामा माओवादीका १५ जना सदस्य छन्। अहिले राष्ट्रिय सभामा १० सिटमात्रै रहेको नेपाली कांग्रेस अब १६ सिटसहित दोस्रो भएको छ। यसपालि एमालेलाई भने ठूलो घाटा लागेको छ। एमालेका १७ जना राष्ट्रिय सभा सदस्य थिए। तीमध्ये ८ जनाको पदावधि यसपटक सकिँदैछ । एमालेले कोशीमा राप्रपासँग बाहेक अन्त कतै तालमेल गर्न पाएन। एक्लै निर्वाचन लड्दा एमालेले रिक्त रहेका ८ मा ७ सिट गुमाएसँगै एमालेका अब १० जना सांसद छन्। योसँगै प्रतिनिधि सभाको दोस्रो ठूलो दल एमाले राष्ट्रिय सभामा तेस्रो दल बनेको छ। अरू दलहरूको सांसद संख्यामा भने फेरबदल आएको छैन। नेकपा एकीकृत समाजवादीको यसअघि ८ सिट रहेकोमा अहिले पनि ८ सिट नै हुने भएको छ।

Logo