‘सिटौला राष्ट्रिय सभा अध्यक्ष नबन्न पनि सक्छन्’

‘सिटौला राष्ट्रिय सभा अध्यक्ष नबन्न पनि सक्छन्’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन सकिएसँगै सभाको नेतृत्व कसले गर्ने भनेर प्रमुख राजनीतिक दलहरु परामर्शमा जुटेका छन्। १९ रिक्त स्थान हिजोको निर्वाचनबाट पूरा भएको छ। सत्ता गठबन्धनले १८ स्थान लिएका छन् भने मुख्य विपक्षी एमालेको हातमा एक स्थान परेको छ।

मतभारको हिसाबले एक स्थान पनि पाउन नसक्ने स्थितिमा रहेको एमाले कसरी शून्य हुनबाट जोगियो भन्ने बिषय पनि यतिबेला निकै चर्चामा छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र अरु सत्तारुढ दलहरुले आफ्ना मतदातालाई गुप्त संकेत गरेकाले एमालेलाई खाली हात हुनबाट बचाएको भन्ने एकथरीको तर्क रहेको छ। प्रमख तीन दलका शीर्ष नेताहरुको पछिल्लो समयको बाक्लो भेटघाटकै परिणाम ठानिएको छ १९ र १ को परिणामलाई।

को होला राष्ट्रिय सभा अध्यक्ष ?

निर्वाचनको मिति तय भएदेखि नै चर्चामा रहेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य चुनिएका छन्। संसदको तल्लो सदन प्रतिनिधिसभाको निर्वाचनमा झापा ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग पराजित सिटौला वर्षदिन बित्दानबित्दै संसदकै माथिल्लो सदनको सदस्य चुनिएका हुन्। त्यसो त प्रत्यक्ष निर्वाचनमा पराजित अरु पनि नेता सिटौला जसरी नै माथिल्लो सदनको सदस्य चुनिएका छन्।

नवनिर्वाचित सांसद सिटौलालाई राष्ट्रिय सभाको सम्भावित अध्यक्षका रुपमा पनि हेरिएको छ। सत्ता गठबन्धनले उनलाई त्यही प्रयोजनका लागि सदस्यमा चुनेको बताएको छ। तर सिटौला अरु नै उदेश्य बोकेर रणनीतिक रुपमा मात्र सम्भावित अध्यक्षको चर्चा चलाएको पनि तर्क गरिएको छ। सिटौला आफैं भने बधाई ग्रहण गर्दै प्रचलित मुस्कान मात्र छरिरहेका छन्। आज बिहानै उनी बिराटनगरस्थित कोइराला निवास पुगेका थिए। कोइराला परिवारको विरासत बोकेका नेता शेखर कोइरालाको बधाई थापेर सिटौला काठमाडौं फर्कँदैछन्। काठमाडौं आएर प्रधानमन्त्री दाहाल र सभापति देउवासँग परामर्श गरेपछि भने सिटौलाको भावी भूमिका प्रस्ट हुने छ।

सिटौलालाई राष्ट्रिय सभाको भावी अध्यक्षका रुपमा हेरिएपनि सभापति देउवा भने उनलाई उपप्रधानसहित महत्वपूर्ण मन्त्रालय सम्हाल्ने गरी सरकारमा पार्टीको प्रतिनिधित्व गराउने तयारीमा रहेको देउवा निकट सूत्रको भनाई छ।

माघ २२ मा संघीय संसदका दुवै सदनको अधिवेशन सुरु हुँदैछ। त्यसपछि माथिल्लो सदनको नेतृत्व चयनको प्रक्रिया थालिने छ। त्यसअघि गठबन्धन दलहरुले कसलाई अध्यक्ष बनाउने भन्ने बारेमा मन्थन गर्नेछन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले रुचाएका केही नेतामध्येका निकट मानिने सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाएर शान्ति प्रक्रियाका थाँती काम सम्पन्न गर्ने एकमात्र मनसुवा दाहालले राखेको थाहा भएको छ। सिटौला निकट सूत्रका अनुसार, १२ बुँदे सहमति, वृहत शान्ति सम्झौता र दुइदुइ पटक भएका संविधान सभाका निर्वाचनसम्म सिटौलाले निर्वाह गरेको भूमिकाबाट द्वन्द रुपान्तरणमा योगदान पुगेकाले उनलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनुपर्ने प्रधानमन्त्री दाहालले जोड दिँदै आएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दाहालको यो तर्कसँग सहमत छन्।

प्रमुख तीन दलका शीर्ष नेताहरुको पछिल्लो समयको बाक्लो भेटघाटकै परिणाम ठानिएको छ १९ र १ को परिणामलाई।

अर्कोतिर, सभापति देउवा भने सिटौलालाई पार्टीको महत्वपूर्ण जिम्मेवारी सुम्पन चाहिरहेका छन्। पार्टीको नेतृत्वमा जान जोडदार प्रयत्न गरिरहेका अरु नेताबाट भरोसा गुमाउँदै गएका देउवा आफूलाई भरमग्दूर साथ दिनेगरी सिटौलालाई संगठनको जिम्मेवारी दिने सोचमा छन्। उनले आगामी महासमिति बैठकबाट कार्यसमितिमा वरिष्ठ उपसभापतिको पद सिर्जना गरेर सिटौलालाई कार्यसमितिमा पदस्थापन गर्ने तयारी समेत गरेको जानकार स्रोतले बताएको छ।

उपसभापति पूर्णबहादुर खड्कासहितका कतिपय नेतासँग असन्तुष्ट सभापति देउवाले सिटौलालाई यिनै कुराहरु बताएर विश्वासमा लिएपछि राष्ट्रिय सभाको चुनावमा उनी सहभागी भएको स्रोतको भनाइ छ। सिटौलालाई राष्ट्रिय सभाको भावी अध्यक्षका रुपमा हेरिएपनि सभापति देउवा भने उनलाई उपप्रधानसहित महत्वपूर्ण मन्त्रालय सम्हाल्ने गरी सरकारमा पार्टीको प्रतिनिधित्व गराउने तयारीमा रहेको देउवा निकट सूत्रको भनाई छ। झापास्थित सिटौला निकट सूत्रले पनि यो चर्चालाई ‘वास्तविकतासँग नजिक’ भनेको छ।

देउवा सिटौलालाई पार्टीको महत्वपूर्ण जिम्मेवारी सुम्पन पनि चाहिरहेका छन्।

तत्कालिन प्रधानमन्त्री तथा सभापति गिरिजा प्रसाद कोइरालाका विश्वासपात्र रहेका सिटौला कोइरालाको पार्थीव अवसानपछि अलग्गै समूह बनाएर राजनीतिमा आफ्नो उपस्थिति जनाइरहेका छन्। उनले नेपाली कांग्रेसको विगतका महाधिवेशनहरुमा आफ्नो समूहलाई अस्तित्वमा उभ्याइरहने गरी देउवालाई साथ दिँदै आएका छन्। सिटौलाको भूमिका देउवालाई सभापतिमा चुनिन निकै सहयोगी रहेको मानिन्छ।

Logo