किन विवादमा तानिए मुख्यमन्त्री कार्की ?

किन विवादमा तानिए मुख्यमन्त्री कार्की ?

केन्द्रबिन्दु
0
Shares

विराटनगर । मुलुकमा धार्मिक विषयमा बहस तातिएको बेला कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की पनि विवादमा तानिएका छन् । हिन्दू धर्मको विरोध नै गरेर त होइन, मन्दिर बनाउन सरकारले एक पैसा खर्च गर्दैन भन्ने अभिव्यक्ति दिएका कारण उनी विवादमा तानिएका हुन् ।

मुख्यमन्त्री कार्की शनिबार नेपाल इन्जिनियर एशोसिएशन कोशी प्रदेशद्वारा विराटनगर -१० मा निर्मित तीन तल्ले भवनको उद्घाटन समारोहमा सहभागी थिए । सो क्रममा इञ्जिनियरिङको इतिहासदेखि सबै कुरा बयान गर्न भ्याए अनि धार्मिक विषयमा विवादास्पद अभिव्यक्ति दिन पनि छुटेनन् ।

करिब ५ मिनेट जति धर्मको अपव्याख्यामा उत्रिएका उनले मुख्यमन्त्री कार्कीले भनेका थिए, ‘चौकैपिच्छे मन्दिर बनाउन आवश्यक छैन । पूजा गर्न त बराहक्षेत्र र पाथिभरा छँदैछ । अनि घरकै अगाडि बनाएको मन्दिरको के काम ? म रहुन्जेल प्रदेश सरकारले यस्तो कामको लागि एक पैसा पनि खर्च गर्दैन।’ मन्दिर र धार्मिक कामका लागि छुट्याइएको बजेट कटौती गरेको उनको भनाई थियो ।

मुख्यमन्त्री कार्कीले यसो भनिरहँदा धेरैले किन यसो बोल्दैछन् भनेर मुखा-मुख गरेका थिए । अहिले उक्त विवादास्पद अभिव्यक्ति सतहमा आएको छ । उनको आलोचना भैरहँदा उनी भने मौन छन् ।

सो कार्यक्रममा मुख्यमन्त्री कार्कीले इञ्जिनियरिङको इतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न नसक्ने टिप्पणी गर्न नभ्याएका पनि होइनन् । केही इञ्जिनियरलाई कटाक्ष गर्दै उनले भनेका थिए, ‘अहिलेका इञ्जिनियरहरू कार्यालय प्रमुख कहाँ गएर ६० प्रतिशत कमिसन दिन्छु, डीपीआरकाे काम दिनु भन्दै मागेर त्यसबाट भएकाे फाइदाले बेलुका टुच्च लगाएर भ्रष्टाचारी नेता मरी जा ! भनेर सामाजिक सञ्जालमा लेख्छन् । के यस्तै इञ्जिनियरले समाज परिवर्तन गर्न सक्छ ?’

Logo