नेपाली जनतालाई शिरमा राखेर काम गर्नुपर्छ -उपप्रधानमन्त्री खड्का

नेपाली जनतालाई शिरमा राखेर काम गर्नुपर्छ -उपप्रधानमन्त्री खड्का

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनमा रहेका तथा राज्य सञ्चालनमा रहेका पदाधिकारी तथा सम्बद्ध सबैले सार्वभौमसत्ता सम्पन्न नेपाली जनतालाई शिरमा राखेर काम गर्नुपर्ने बताएका छन् । नेपालको संविधानले नै राज्यशत्तिको मूल श्रोत र सार्वभौमसत्ता नेपाली जनतामा निहित गरेको भन्दै जनताको मन दुख्ने कुनै व्यवहार र काम कसैले पनि गर्न नहुने उनको भनाइ छ।

रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री खड्काले आज नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीको निरीक्षण भ्रमण पछि सम्बोधन गर्दै राज्यका सबै निकायले जनतालाई मन नपर्ने वा जनताको आत्मसम्मानमा चोट पुग्ने कुनैपनि काम गर्नै नहुनेमा जोड दिएका हुन्

राजनीतिकर्मी, निजामती कर्मचारी, सेना, प्रहरी लगायत सबै राष्ट्रसेवकले जनतालाई पहिलो सम्मान दिएर काम गरे आम नागरिकले पनि अपनत्वको भाव देखाउने भन्दै उपप्रधानमन्त्री खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा नागरिक भन्दा ठूलो अरू कोही पनि नभएकोले हरेक क्षेत्रमा काम गर्नेहरूको काम, कर्तव्य र अधिकार फरक-फरक भएपनि आम नागरिकको सम्मान, उन्नति र प्रगति सबैको साझा लक्ष्य हुनुपर्ने कुरा प्रष्ट पारे ।

यस्तै, उनले सैनिक सेवामा प्रवेश गरी प्रशिक्षणमा रहेका अधिकृतहरूलाई सदैव सकारात्मक सोचाइ, सिक्ने अभिरूचि, दृढ इच्छाशक्ति तथा निरन्तर लगावका साथ राष्ट्र सेवामा लाग्न सुझाव दिए। उनले भने, “आफूलाई देशको एक अब्बल र अनुशासित सैनिक अधिकृतको रूपमा स्थापित गर्न तपाईं स्वयंको जिम्मेवारी अरूको भन्दा बढी हुन्छ भन्ने कुरामा तपाईंहरूले सदैव हेक्का राख्नुपर्दछ। विशेषगरी, तालिममा सिकाइएका सैद्धान्तिक ज्ञानलाई समयसापेक्ष रूपमा व्यवहारमा लागू गर्न सक्ने खुबीको विकास तपाईहरूमा हुनै पर्छ।”

यस प्रतिष्ठानले नेपाली सेनालाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक वहन गर्न सक्षम तुल्याउने, बफादार, अनुशासित, नैतिकवान तथा दक्ष सैनिक अधिकृत उत्पादन गर्ने कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको भन्दै त्यसका लागि सबैलाई धन्यवाद दिए ।

उपप्रधानमन्त्री खड्काले भने, “नेपाली सेनाका लागि आवश्यक दक्ष, चरित्रवान् र राष्ट्रप्रति समर्पित जनशक्ति तयार गर्न महत्त्वपूर्ण र अग्रणी भूमिका निर्वाह गर्दै आएको यस प्रतिष्ठानले आफूलाई “Center of Excellence” को रूपमा स्थापित र परिचित गराउन गरिरहेको प्रयास प्रशंसनीय छ। आफ्नो सुनौलो विगत टेकेर प्रतिष्ठानले भविष्यमा थप प्रभावकारी तथा व्यवसायिक ढङ्गले शिक्षण (प्रशिक्षण) कार्यलाई अगाडि बढाई आफ्नो गौरवमय इतिहासलाई अझ उजिल्याउँदै जानेछ भन्ने मैले विश्‍वास लिएको छु।”

निरीक्षण भ्रमण कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्मा, रक्षासचिव किरणराज शर्मा सहितका अधिकारीहरू समेत सहभागी रहेका थिए ।

Logo