एकीकृत समाजवादीले नेताहरुका लागि तोकेन उमेर हद

एकीकृत समाजवादीले नेताहरुका लागि तोकेन उमेर हद

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकले नेताहरुका लागि उमरे हद नतोक्ने निर्णय गरेको छ ।

आइतबार र सोमबार काठमाडौंमा बसेको केन्द्रीय परिषद् बैठकले उमेरहद नतोक्ने र पार्टीको सबै कमिटीमा समावेशी सिद्धान्तअनुसार २० प्रतिशत युवा राख्ने निर्णय गरेको छ । यससँगै, अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाललाई आगामी महाधिवेशनका लागि नेतृत्वमा रहन बाटो खुला भएको छ । एमालेमा ७० वर्षे उमेरहदको चर्चा रहँदा एकीकृत समाजवादीमा पनि बहस भइरहेको थियो । केन्द्रीय परिषद् बैठकले नेताहरुलाई नेतृत्वको दाबेदारीमा रहिरहन सहजीकरण गरिदिएको छ ।

पार्टी उपाध्यक्ष बेदुराम भुसालका अनुसार सबै कमिटीका पदाधिकारी प्रत्यक्ष निर्वाचित भएर आउनेछन् । त्यस्तै, केन्द्रीय कमिटी १ सय ९९ सदस्यीय र पदाधिकारीको संख्या १९ हुनेछ । बैठकको निर्णय अनुसार अब एकीकृत समाजवादीको सांगठनिक संरचना र संख्या यस्तो हुनेछ । प्रदेश कमिटीको संख्या ७५ देखि ९९ सम्मको रहनेछ । जिल्ला धेरै भएको प्रदेशमा बढी हुने र जिल्ला थोरै भएको प्रदेशमा थोरै हुनेगरी रहनेछन् ।

यस्तो हुनेछ सांगठनिक संरचना
प्रदेश कमिटीभित्रको पदाधिकारीको संख्या ७ जनाको हुनेछ । एक जना अध्यक्ष, उपाध्यक्ष २, सचिव १ र उपसचिव ३ रहनेछ । जिल्ला कमिटीको संख्या ५५ सदस्यीय हुनेछ । एकभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा प्रत्येक क्षेत्रबाट एक महिलासहित ३ जना थप गर्नेगरी सदस्य संख्या तय गरिनेछ ।

जिल्ला कमिटीका पदाधिकारीहरु सात जना हुनेछन् । अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव एक, उपसचिव ३ जना रहने छन् । पालिका कमिटीको संख्या ४५ हुनेछ । पालिकामा ५ भन्दा बढी वडा छन् भने प्रत्येक वडाबाट २ जना थप गर्न सकिनेछ ।
स्थानीय कमिटीका पदाधिकारीहरु पाँच जना हुनेछन् । अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव २ हुनेछन् । वडा कमिटीको संख्या बढीमा ३५ जनाको हुनेछ ।

पार्टीका सबै कमिटीहरुमा समावेशिताको सिद्धान्तअनुसार युवाहरुको प्रतिनिधित्व २० प्रतिशत रहनेछ । महाधिवेशन र अधिवेशनका प्रतिनिधि छनोटसम्बन्धी विषय र स्थानीय कमिटीहरूको संख्या र पदाधिकारीको व्यवस्था सोमबारदेखि नै लागू गरिएको एकीकृत समाजवादी पार्टीले जनाएको छ ।

Logo