स्काउटको अधिवेशन रोकिएकोप्रति अध्यक्ष ओली रुष्टः गठबन्धनले हार्ने भएपछि हस्तक्षेप गर्ने ?

स्काउटको अधिवेशन रोकिएकोप्रति अध्यक्ष ओली रुष्टः गठबन्धनले हार्ने भएपछि हस्तक्षेप गर्ने ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको आदेश विपरित गएर सरकारले नेपाल स्काउटको अधिवेशन रोक्न प्रधानमन्त्रीले हस्तक्षेप गरेकोप्रति आपत्ति जनाएका छन् । उनले स्काउटमा गठबन्धनले हार्छ भनेरै प्रधानमन्त्री अधिवेशन स्थगित गराएको दाबी गरे ।

पार्टीनिकट बैंक,बीमा तथा वित्तीय संस्था कर्मचारी संघ नेपाल राष्ट्रिय समितिको सातौं राष्ट्रिय महाधिवेशन उदघाटन समारोहमा अध्यक्ष ओलीले प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्न गरेको निर्देशन हस्तक्षेप भएको बताएका हुन् ।

‘स्काउट एउटा स्वतन्त्र संस्था हो । मानका लागि प्रधानमन्त्रीलाई संरक्षक भनिएको छ। त्यसको विधानमा संरक्षकले निर्देशन दिनसक्ने भनिएको छ । प्रधानमन्त्रीले निर्देशन दिनसक्ने छन् भनेको छ विधानमा । तर निर्देशन दिने भनेको भताभुङ्ग पार्ने भनेको होइन, सकारात्मक काम गर्न निर्देशन दिने हो । हस्तक्षेप गर्नेलाई निर्देशन भनिदैन । विदेशी पाउना आइसके, सबै ठाउँमा अधिवेशनको तयारी भैसक्यो गठबन्धनले नजित्ला जस्तो भयो भनेर रोक्न पाइन्छ ? आजबाट स्काउटको सम्मेलन छ, हिसाब गर्दा गठबन्धनले नजित्ने देखिएर सम्मेलन स्थगित गर्नु भन्न मिल्ला ?’ उनले प्रश्न गरे ।

अधिवेशनका लागि भनेर स्काउटका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुलाई समेत बोलाइसकेको उल्लेख गर्दै यस्तो अवस्थामा अधिवेशन नगराउँदा नेपालको इज्जतमा असर पार्ने उनले बताए । पहिले पनि स्काउट भंग गर्दा अदालतले कामकाज यथावत् गर्न आदेश दिएको स्मरण गर्दै ओलीले अदालतले दिएको आदेश विपरित प्रधानमन्त्रीले गरेको निर्देशन स्वेच्छाचारी भएको भन्दै आपत्ति जनाए ।

‘अधिवेशनलाई भनेर पाउनाहरु आएका छन्, नेपालको इज्जत के हुन्छ ? इज्जत वेइज्जतको केही ख्याल छैन् । कांग्रेसले स्काउटको सम्पत्ति लुटेर हडपेर अहिले पनि खाइरहेको छ । दादागिरी देखाएर, मसल देखाएर खाइराखेको छ । स्काउट राम्ररी चल्न र काम गर्न दिइएको छैन् । सरकारले यसलाई भंग गरेको हो,सम्मानित अदालतले भंग गर्न मिल्दैन काम काज यथावत गर्नु भनेर आदेश दियो । अदालतको कामकाज यथावत गर्न दिनु भन्ने आदेशको विपरित सरकार सम्मेलन स्थगित गर्न आदेश दिन्छ । स्काउटमा प्रधानमन्त्री वा कांग्रेसले कसरी हार्ने हो, मैले बुझिनँ ।’

उनले प्रधानमन्त्रीलाई स्काउटको अधिवेशन नरोक्न आफूले सुझाव दिएको उल्लेख गर्दै ओलीको सुझावप्रति दाहालले मिलाएर लैजान खोजेको जवाफ दिएको प्रस्ट्याए । उनले थपे, ‘मैले आजै प्रधानमन्त्रीजिलाई सोधें, तपाईंहरु हार्ने भएकै हो ? उहाँले हार्ने होइन अलि मिलाएर लैजाउँ भन्ने कुरा गरेको भन्नुभयो । मिलाएर लैजाऔं भन्या के? रोक्ने आदेश गरेर यस्तो स्वेच्छाचारिता नगर्नुस भनेर मंैले प्रधानमन्त्रीजिलाई सल्लाह दिएको छु । उहाँले के गर्नुहुन्छ थाहा छैन् ।’

अध्यक्ष ओलीले सरकारले स्काउट मात्रै नभएर रेडक्रस पनि चलाउन नदिएको आरोप लगाए । यस्तै उनले एनआरएनएमा समेत प्रधानमन्त्रीले हस्तक्षेप गरेको आरोप लगाएका छन् । उनले कांग्रेसको लागि दुई ओटा अध्यक्ष चाहिएकाले एनआरएनएमा तीन अध्यक्षको व्यवस्था गर्न लगाइएको भनाई ओलीको छ । उनले गठबन्धन सरकारलाई अलोकतान्त्रिक र भ्रष्ट सरकार भएको उल्लेख मात्र गरेनन् गठबन्धन सरकार गैरकानुनी र बेथितिले गर्दा चलेको आरोप लगाए ।

Logo