‘कम्युनिष्टले लोकतान्त्रिक चरित्र छोड्नु हुँदैन’ -माधव नेपाल

‘कम्युनिष्टले लोकतान्त्रिक चरित्र छोड्नु हुँदैन’ -माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)को सान्दर्भिकता नेपालमा आज पनि उत्तिकै रहेको बताएका छन् ।

कृषिमन्त्री डा.वेदुराम भुसालद्वारा लिखित पुस्तक ‘जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम’ को आइतबार राजधानीमा आयोजित लोकार्पण समारोहमा बोल्दै अध्यक्ष नेपालले जबजको अझै सान्दर्भिकता रहेको बताएका हुन् । कम्युनिष्ट पार्टीहरुले आफ्नो चरित्रलाई पुष्टि गर्न आफ्नो लोकतान्त्रिक चरित्रलाई दृढताको साथ अगाडि बढाउँदै बहुदलीय प्रतिस्पर्धाको नीतिबाट विचलित हुनु नहुने उनले उल्लेख गरे ।

जबजको औचित्यका बारेमा चारैतिरबाट प्रश्नहरु उठिरहँदा भुसालको पुस्तक उपयुक्त समयमा आएको धारणा पनि उनले राखे । जबजको औचित्यका सन्दर्भमा पुस्तकले स्पष्ट पार्ने उल्लेख गरेका नेपालले मुलुकमा जबजको ४० वर्ष अगाडिको विचार निर्माणको सन्दर्भ र उद्देश्यबारे प्रष्ट्याए । सो क्रममा नेपालले कम्युनिष्टहरुले आफ्नो लोकतान्त्रिक चरित्रलाई छाडेर अगाडि बढ्न नहुनेतर्फ जोड दिँदै आफ्नो विचार, सिद्धान्त र कामबाट जनतामाझ कम्युनिष्ट हुनुको पुष्टि बहुदलीय प्रतिस्पर्धाको राजनीतिबाटै गर्नुपर्ने बताए ।

‘देशको राजनीतिमा कम्युनिष्ट पार्टीलाई लोकप्रिय पार्टीको रुपमा अगाडि बढाउनु छ भने हामीले आफ्नो लोकतान्त्रिक चरित्रलाई दृढताका साथ अगाडि बढाउनुपर्छ र बहुदलीय प्रतिस्पर्धाको जुन नीति लिएर कम्युनिष्टहरु अगाडि बढ्न खोजिराखेका छौं, त्यसलाई नयाँ परिवेशमा अगाडि लैजानु पर्छ,’ अध्यक्ष नेपालले भने ।

नेपालमा कम्युनिष्टहरु समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको बताएका उनले समाजवादी क्रान्तिको चरणमा पनि बहुदलीय प्रतिस्पर्धाको राजनीतिको उत्तिकै उपादेयता भएको बताए । नेपाली समाजवाद चीन, भियतनाम र क्युवाको जस्तो नभएर बहुदलीय प्रतिस्पर्धासहितको हुने चर्चा उनले गरे ।

कार्यक्रममा बोल्दै लेखक मन्त्री भुसालले जनताको बहुदलीय जनवादको ऐतिहासिक विकास क्रमलाई अनुकरण गर्दै माक्र्सवादी कोणबाट यसलाई पारक गर्नु नै आफ्नो पुस्तकको मूल उद्देश्य भएको बताए । उनले पुस्तक अनुसन्धानात्मक कृति भएको उल्लेख गरे ।

भुसालले विद्यावारिधिको विषयवस्तु नै जबजलाई लिएका थिए । जबजबारे विभिन्न कोणबाट गरिएको सोही अनुसन्धानमूलक तथ्यलाई समेटेर पुस्तक लेखिएको उनले प्रस्ट पारे ।

पुस्तकमाथि समिक्षा गर्दै प्रा.डा हेमनाथ पौडेलले भने, ‘यो पुस्तक जबजको बारेमा गरिएको एउटा आधिकारिक अध्ययन हो ।’ जबजका बारेमा यसअघि धेरै अध्ययनहरु भए पनि ती भन्दा दार्शनिक कोणबाट गरिएको पहिलो अध्ययन नै यही भएको धारणा उनले राखे । ‘जबजको बारेमा यसअघि थुप्रै अध्ययनहरु भएका छन् । तर, ती अध्ययनहरु व्यक्तिगत रुपमा भएका छन् । कुनै विश्वविद्यादयमा जबजलाई प्रवेश गराए त्यसलाई दार्शनिक कोणको कसीमा राखेर अध्ययन गरिएको चाहिँ यो पहिलो अध्ययन हो । यो पुस्तक इतिहास, दर्शन र विशेषगरि राजनीतिक दर्शनसँग बढी सम्बन्धित छ,’ उनले भने ।

जबजका दार्शनिक एवं ऐतिहासिक आधारहरुको अध्ययन गर्ने, माक्र्सवादको सिर्जनात्मक पक्षका सन्दर्भमा जबजको प्रतिपादनलाई अध्ययन तथा विश्लेषण गर्ने, नेपालको कम्युनिष्ट आन्दोलनमा जबजको उद्भव र विकासको अध्ययन गर्ने र जबजको आयाम र अन्र्तरवस्तुहरुको अध्ययन र विश्लेषण गर्ने मूल चार उद्देश्यमा पुस्तक लेखिएको जानकारी कार्यक्रममा दिइयो ।

पुस्तकमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने क्रममा जबज सिद्धान्त प्रतिपादन भएको हो भन्ने कुरा विश्लेषणहरुबाट निष्कर्ष आएको समीक्षा पौडेलले गरे ।

Logo