टीआरसी विधेयक यही अधिवेशनबाट पास गराउने माओवादीको तयारी

टीआरसी विधेयक यही अधिवेशनबाट पास गराउने माओवादीको तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी) विधेयक यही अधिवेशनमार्फत सहमतिमा पास गराउने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बिहान बसेको संसदीय दलको बैठकमा दाहालले यही अधिवेशनबाट टीआरसी विधेयक सहमतिमै पारित गराउने बताए । उनले आफ्ना सांसदहरुलाई विधेयक पारित गराउने गरी भूमिक खेल्न भनेका छन् ।

‘सकेसम्म सहमतिबाट टीआरसी विधेयक टुङ्गाउँदा सबैको हितमा हुन्छ । हामी सोही प्रक्रियामा जानुपर्छ,’ उनले भने । साथै उनले संसदमा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन पनि दिएका छन् ।

‘तपाईंहरू राम्रो तयारीका साथ संसद्मा प्रस्तुत हुनुहोस् । सरकारका काम र पार्टीको नीतिअनुसार दर्बिलो भएर प्रस्तुत हुनुहोस्,’ प्रधानमन्त्रीले थपे ‘सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अधिकतम कोशिस गरिएको छ । सरकारले राम्रा काम गरेका छन् । यी विषयमा सदनमा आफ्ना विषय प्रस्तुत गर्नुहोस्’,दाहाल सचिवालयले जनाएको छ ।

दलको बैठकपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले टिआरसी अहिले सरकार र माओवादीको सबैभन्दा प्राथमिकतामा रहेको विधेयक भएकाले यही अधिवेशनबाट पारित गर्ने विषयमा छलफल भएको हो ।

‘विधेयकका बारेमा समितिमा कुरा भइरहेको छ र यसमा सरकारले सकेसम्म सहमतिका साथ अगाडि बढ्नुपर्छ भन्ने नै छ । विधेयक दलको मात्रै नभई राष्ट्रिय मुद्दा भएकाले सहमतिका साथ जानुपर्छ भनेर प्रधानमन्त्री अगाडि बढ्नु भएको छ । यदि सहमति भएन भने पनि यसलाई प्रक्रियामा लगेर भएपनि टुङ्याउनुपर्छ ।’

Logo